नेपाल र बहराइनबीचको खेल वर्षाले प्रभावित
काठमाडौं –
आईसीसी महिला टी-ट्वेन्टी विश्वकप अन्तर्गत एसिया छनोट खेलमा शनिबार हुने भनिएको नेपाल र बहराइनबीचको खेल पनि वर्षाले प्रभावित भएको छ। थाइल्याण्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा बिहान पौने ८ बजे हुने भनिएको खेल वर्षाका कारण अझै शुरु हुन नसकेको हो। यसअघि शुक्रबारको हङकङसँगको खेल पनि वर्षाले प्रभावित हुँदा अंक बाँड्नु परेको थियो। आईसीसी महिला टी-ट्वेन्टी विश्वकपको एसिया छनोट अन्तर्गत समूह सीमा नेपाल, हङकङ र बहराइन छन्।
यो खेलमा पनि अंक बाँडेमा नेपाल २ अंकसहित शीर्ष स्थानमा रहनेछ। छनोटमा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान, कुवेत, कतार, मलेसिया, हङकङ, बहराइन र युएईबीच प्रतिस्पर्धामा छन्। समूह चरण डबल राउन्ड रोबिनको आधारमा हुनेछ। सबै टोलीले आनो समूहमा रहेको टिमसँग दुई पटक खेल्नेछन्। समूहको शीर्ष टोलीले सुपर थ्रीमा स्थान बनाउनेछ। सुपर थ्रीबाट शीर्ष दुईमा रहने टोली ग्लोबल छनोटमा स्थान बनाउन सफल हुनेछन्।