एक वर्ष अघि नै एमाले सांसद्विरूद्ध पक्राउ पुर्जी जारी, पत्र घुमाएर आलटाल गर्दै प्रहरी
‘प्रतिवादीले वादीको हुने बिगो रकम दाखिला नगरेको हुँदा तपसिलका प्रतिवादीलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम जनही ६ (छ) महिना कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गरी दिनु हुन अनुरोध छ,’ अदालतले जिल्ला प्रहरी कार्यालय काठमाडौँलाई पठाएको पत्रमा उल्लेख छ ।
जिल्ला अदालत मोरङका तहसिलदार/शाखा अधिकृत हरिप्रसाद गुरागाईंले पठाएको पत्रमा काठमाडौँ २९ अनामनगर सिंहदरबार पूर्वगेटदेखि पूर्व गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंका सञ्चालक रहेका अन्दाजी ५० वर्षका देवराज खनाल र सोही हाइड्रो पावरका सञ्चालक समेत रहेका व्यवसायी तथा सांसद विष्णु पन्थीको नाम उल्लेख छ ।
यस्तै जिल्ला प्रहरी परिसर अपराध अनुसन्धान तथा कारबाही शाखा टेकुले प्रहरी वृत्त अपराध अनुसन्धान तथा कारबाही शाखा सिंहदरबार काठमाडौँलाई २०८१ असार २० गते पन्थी र खनाललाई पक्राउ गरी दाखिला गर्न भन्दै पत्राचार गरेको छ ।
प्रहरी निरीक्षक प्रतिक सिंहले लेखेको पत्रमा, ‘काठमाडौँ महानगरपालिका २९ अनामनगर सिहदरवार पूर्वगेटदेखि पूर्व गौतमवुद्ध हाईड्रो पावर प्रा.लि काठमाडौँका सञ्चालक खनाल र पन्थीलाई खोजतलास गरी फेला परेमा आवश्यक सुरक्षाका सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा उपस्थित गराई सोको जानकारी यस परिसरमा समेत दिनु हुन…’ भनिएको छ ।
फेरि अपराध अनुसन्धान तथा कारबाही शाखा सिंहदरबारले जिल्ला प्रहरी कार्यालय रुपन्देही, भैरहवालाई पक्राउ गर्न भन्दै प्रहरी निरीक्षक राजुप्रसाद ढकालले ‘खनाल र पन्थीलाई आफ्नो कार्यालयको वडा एरियामा खोजतलास गर्दा नभेटिएकाले निजहरू तालुक जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहत बस्ने गरेको भनी बुझिन आएको हुँदा…’ भन्ने विवरणसहित पत्राचार गरेको पाइएको छ ।
पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमालेका सांसद हुन् । सो निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेदवार डोलकराम घिमिरेले १५ हजार ७९७ मत ल्याउँदा पन्थी २० हजार २४७ मत ल्याएर बिजयी बनेका थिए ।
उनको संलग्नता के हो ?
कपिलवस्तु वाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी र देवराज खनाल गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौँका सञ्चालक हुन् । उक्त कम्पनीले विराटनगरमा रहेको पल्लवी इलेक्ट्रा प्रा.लि.बाट विभिन्न विद्युतीय सामाग्री, ट्रान्सफर्मरहरूको कारोबार गर्ने गर्दथ्यो ।
कारोबार गर्ने क्रममा गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान २०७३ सालमै उधारो लगेको थियो । सो रकम फिर्ता गर्न पल्लवी इलेक्ट्रा प्रा.लि.ले ताकेता गर्दा ५ लाख रुपैयाँ दिए पनि १३ लाख ५४ हजार रुपैयाँ दिएन । रकम नदिएपछि मोरङ जिल्ला अदालतमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरायो । सो मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलले २०७७ साल मंसिर २३ गते भुक्तानी गर्न बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ र सोको कोर्ट फि रकम प्रतिवादी गौतमबुद्ध हाईड्रोपावर प्रा.लि. काठमाडौँबाट वादीले भराइपाउने ठहर गर्ने निर्णय सुनाए ।
मोरङ जिल्ला अदालतको सो आदेश कार्यान्वयन गर्न हाइड्रो पावर प्रालिले अटेरी गरेपछि पुनः पल्लवी कम्पनीले अदालतमा निवेदन दियो । सो निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गर्यो । सो पत्रमा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्न १५ दिनभित्र अदालतमा आफैँ आउने सूचना थियो । सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका सञ्चालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको पनि सेयर !
प्रदेश सभा सांसद विष्णुप्रसाद पन्थी र गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.को सञ्चालक तपाईं पनि हो भन्ने प्रश्नमा पन्थीले भने, ‘मेरो पनि सानो सेयर हो । केपी ओली, विद्या भण्डारी, मुख्य रूपमा हरि बैरागी दाहालले डिजाइन गर्नुभएको हो ।’
तपाईंविरुद्ध मुद्दा परेर पक्राउ पुर्जी जारी भएको थाहा छ कि छैन भन्ने प्रश्नमा उनले भने, ‘यो विषयमा थाहा छैन । देवराज खनालको हो, मेरो होइन । अर्का भरतमणी पौडेलहरू हो । म पनि सेयर होल्डर हो, तर म केही पनि होइन । त्यहाँ ५०–६० जना सेयर होल्डरमध्ये एक जना हो ।’
कम्पनी बनिसकेपछि मात्रै आफू गएको पन्थीले बताए । अरु सेयर होल्डरमध्ये विष्णु पन्थी नाम गरेको कोही छ ? भन्ने प्रश्नमा उनले त्यो विषयमा आफूलाई थाहा नभएको बताए ।
पन्थीले दिएको प्रतिक्रिया जस्ताको तस्तै
अदालतबाट पक्राउ पुर्जी जारी भएको विषयमा मलाई कुनै जानकारी छैन । म हुँदै होइन । हरि बैरागी दाहालजीले स्थापना गर्नुभएको हो । उहाँहरुले चलाउन सक्नु भएन । त्यसपछि माछापुच्छ्रे बैंकबाट ऋण लिएको हो । मैले पनि सेयर हाल्नु भनेको कारण हालेको हो । मदन भण्डारी फाउण्डेसन लगायत सबैको पैसा हालेको छ । त्यो प्रोजेक्ट चलेन । घाटा लाग्यो । त्यसपछि शैलेन्द्र गुरागाईले म चलाउँछु भनेर किने । उनैले त्यो प्रोजेक्टको लागि त्यहाँ ट्रान्सफर्मर मागेर चलाएछन् । पछि देवराज र भरतहरूले त्यो प्रोजेक्ट बेचेछन् । अहिले त्यो प्रोजेक्ट नै अहिले बन्द छ । हामीलाई पनि त्यहाँको पैसा दिएको छैन । रुद्र जङ्गली दाहाल र देवराज खनालको नाममा ८०–९० लाख दिएको थियो । त्यसपछि माछापुच्छ्र्े बैंकमा संयुक्त खातामा त्यो पैसा राखेको छ । मैले पटकपटक देवराजलाई त्यो पैसा तिर्न भनेको छु तर, मुद्दा हालेको के गरेको भन्ने मलाई केही पनि थाहा छैन । म कुनै रूपमा संलग्न नभएको मान्छे हुँ । तपाईंले भनेपछि म छक्क परेँ । त्यसको सेयर होल्डर म हो । देवराजले पैसा तिरिसक्यौँ भनेको थियो । विराटनगरको मान्छेले जहिल्यै पनि फोन गर्छ भनेर मैले भन्दा तिरिसकेको भनेका थिए । मैले हालेको पैसाको एक सुका पनि पाएको छैन । पाउने अवस्था पनि छैन । म माथिको यो अन्याय हो ।
साभार :रातोपाटी