Connect with us
Kapilvast Forest

बुद्धजयन्तीमा तिलौराकोट सुनसान, लुम्बिनी  झकिझकाउ

२०८२, २९ बैशाख सोमबारमा प्रकाशित

सनिउल्ला धोबी, कपिलवस्तु-

२५६९औं बुद्धजयन्तीको अवसरमा जन्मस्थल लुम्बिनीमा रंगीचंगी बत्ती, फूल र भव्य समारोहले सिंगारिएको छ । प्रधानमन्त्रीदेखि अन्तर्राष्ट्रिय पाहुनासम्मको उपस्थिति रहेको छ । लुम्बिनीमा करोडौं रुपैयाँ खर्चिएर विभिन्न कार्यक्रम हुदैछन ।
तर बुद्धले २९ वर्ष बिताएको ऐतिहासिक स्थल तिलौराकोट भने वर्षेनीजस्तै यसपालि पनि सुनसान र ओझेलमा परेको छ ।

लुम्बिनी विकास कोषले बुद्ध जयन्तीको सारा ध्यान र बजेट रुपन्देहीस्थित लुम्बिनीमै केन्द्रित गरेपछि कपिलवस्तु जिल्लाभित्रका ऐतिहासिक स्थलहरू — तिलौराकोट, कुदान, अरौराकोट, निगालीकोट, सगरहवाताल, गोटिहवा जस्ता स्थलहरूमा सन्नाटा छाएको छ । न कुनै प्रमुख कार्यक्रम, न त सरकारको ध्यान पुगेको छ । तिलौराकोटमा गेटमा लुम्बिनी विकास कोषको दुईवटा सानसानो ब्यानर मात्रै झुण्ड्याइएको छ ।

सिद्धार्थ गौतम बुद्धले तिलौराकोटमा बाल्यकालदेखि युवावस्था बिताए, यहीँबाट उनले राजपाठ त्याग गरेर बुद्धत्वको खोजी सुरु गरेका थिए । तर यो ऐतिहासिक स्थलमा बुद्ध जयन्तीको दिन न कुनै सरकारी कार्यक्रम देखियो, न स्थानीय सहभागिता नै ।

स्थानीयवासीहरू भन्छन्, “बुद्धको जन्म लुम्बिनीमा भयो भनेर तिलौराकोटजस्ता स्थलहरूको उपेक्षा गर्नु इतिहासको अपमान हो । हामी हरेक वर्ष हेर्छौं, लुम्बिनीमा झिलिमिली, यहाँ तिलौराकोटमा सुनसान सन्नाटा देख्छौ ।”

लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्यारक्याल लामाले लुम्बिनीलाई मात्रै प्राथमिकता दिएको आरोप स्थानीयहरूले लगाएका छन । लुम्बिनी विकास कोषका परिषद सदस्य गोपीकृष्ण शर्माले भने, “आज तिलौराकोटमा कार्यक्रम नभएर अर्को दिन ध्यान, अनुगमन र सानो सभा आयोजना गर्ने योजना छ ।” तर बुद्ध जयन्तीको मूल दिनमा बुद्धको जीवनसँग गहिरो सम्बन्ध राख्ने स्थलहरू बेवास्ता हुनु स्वाभाविक रूपमा प्रश्न उठ्ने विषय हो ।

लुम्बिनी विकास कोषले करोडौं रकम खर्चेर लुम्बिनीलाई अन्तर्राष्ट्रिय गन्तव्य बनाउने प्रयत्न गर्दै आएको छ । तर बुद्धको सम्पूर्ण जीवनलाई समेट्नका लागि लुम्बिनी मात्र होइन, तिलौराकोट र अन्य कपिलवस्तुका स्थलहरूलाई पनि समान रूपमा प्रवर्द्धन गर्नु आवश्यक छ ।

बुद्धको दर्शन केवल जन्म र मृत्युको बीचको समय हो — त्यो त्याग, चिन्तन र मुक्ति प्राप्तिको यात्रा हो । यदि हामीले लुम्बिनीलाई मात्रै झकिझकाउ बनायौँ र तिलौराकोटलाई उपेक्षित राख्यौँ भने, त्यो अधुरो सम्मान हो ।

समय आएको छ — लुम्बिनी विकास कोषले कपिलवस्तुका ऐतिहासिक स्थलहरूलाई पनि समेट्ने समावेशी दृष्टिकोण अपनाओस् । बुद्धको पूर्ण जीवनको सम्मान तब मात्र हुन्छ, जब प्रत्येक ऐतिहासिक स्थलले आफ्नो पहिचान अनुसार मूल्य पाउँछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu