कपिलवस्तुको शिवराजमा आगामी बजेटबारे छलफल
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४ मा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तयारीका सन्दर्भमा छलफल कार्यक्रम सम्पन्न गरिएको छ ।
विभिन्न टोलका समाजसेवी, बुद्धिजीवी, महिला समूह, युवासँग वडाले छलफल गरी आवश्यक सुझाव संकलन गरेको हो ।
वडा अध्यक्ष नसिम अहमद खाँले वडाको समावेशी विकासका लागि स्थानीयसँग सल्लाह लिनु आवश्यक रहेको बताउँदै जनप्रतिनिधिले मात्र होइन, जनताले आफैं बजेट निर्माणमा सहभागी हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा सहभागीले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, रोजगारी तथा युवामैत्री कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।
वडाले संकलित सुझावलाई प्राथमिकता अनुसार समेटेर योजनाहरू तय गर्ने बताएको छ ।
यस्ता छलफलले बजेट पारदर्शी र जनमुखी हुने अपेक्षा स्थानीयबासीले व्यक्त गरेका छन् ।