गुल्मी धुर्कोटका जनप्रतिनिधि दाङको गढवामा
दुख हरण यादव-
संघीय संरचनाअन्तर्गत स्थानीय तहको शक्ति विस्तार भएसँगै नेपालका विभिन्न गाउँपालिकाहरूमा जनतासँग नजिक हुने प्रयास भइरहेका छन्। यस्ता प्रयासमध्ये गढवा गाउँपालिका–वडा नं ५ को टोल विकास संस्था (टोल बिकास समिति) को अभ्यास उदाहरणीय बनेको छ। स्थानीय विकासका योजना, सेवा प्रवाह,बजेट माग,निर्णय ,कार्यन्वयन , विवाद समाधानदेखि प्रशासनिक कार्यक्षमता निर्माणसम्म टोल विकास संस्थाको प्रयोगले जनताको प्रत्यक्ष संलग्नता र सशक्तिकरणको नमुना प्रस्तुत भएको छ ।
टोल विकास संस्था कुनै दाता परियोजनाको उपज होइन, यो नेपालको कानुनी संरचनाले परिकल्पना गरेको स्थानीय सरकार अन्तर्गतको सबैभन्दा नजिकको इकाइ हो। गढवा–५ का वडाध्यक्ष लेख बहादुर थापा बताउनुहुन्छ, “गाउँपालिकामा पहिलो पटक हामीले टोल विकास संस्थामार्फत योजना निर्माणदेखि कार्यान्वयनसम्मको सम्पूर्ण प्रक्रिया अपनाएका छौँ, र यसले विकासको गती मात्र बढाएको छैन, पारदर्शिता र सहभागिता पनि बढाएको छ।”
धुर्कोट गाउँपालिका वडा नं ३ का परिवार, सचिव र टोल अध्यक्षहरू सहितको टोलीले शुक्रबार गढवा गाउपालिका वडा नं ५ मा अवलोकन भ्रमण गर्दै वडा अध्यक्ष लेखनहादुर थापाको यहि जनमुखि कार्यशैलीको अध्ययन गरेको छ । क्रममा गढवा वडानं. ५ का अध्यक्ष लेखबहादुर थापाले आफ्नो अनुभव बाँड्दै भन्नुभयो, “टोल विकास संस्थाले वडा स्तरमा प्रणाली र जिम्मेवारीको अभ्यास गराउने मिनी संरचना हो।”
अवलोकन अध्ययन भ्रमणमा गुल्म्मि जिल्ला धुर्कोट गाउपालिका वडा नं ३ का वडा सदस्य नारायण प्रसाद पन्थिको नेतृत्वमा वडा सदस्य चक्र शुन्दर घर्तिमगर,सरिता बिक,पशु स्वास्थ्य प्राबिधिक गणेश थापा,टोल बिकास संस्थाका अध्यक्ष रेशम पान्डेय सहित १४ जनाको टोलिले वडा नं ५ ले गरेको कार्यको अवलोकन,अध्ययन छलफल तथा प्रसंशा गरेका थिए ।
कार्यक्रममा धुर्कोट गाउँपालिका–३ का वडा सचिव नारायण प्रसाद पन्थीले आफ्नो वडामा टोल विकास संस्थामार्फत सञ्चालन भएका कामहरूको अनुभव र धुर्कोटको भौगोलिक तथा पर्यटकीय परिचय प्रस्तुत गर्दै हामीले ९ वटा टोलमध्ये ५ मा दर्ता गरेर काम थालेका छौं तर गढवामा देखिएको संरचना हाम्रो लागि नयाँ सिकाइ भएको बताउनु भयो ।
गढवा–गाउपालिका वडा नं ५ मा टोल विकास संस्था दर्ता प्रक्रिया वडा कार्यालयबाटै सुरु गरिन्छ। ५ वर्षे कार्यकालसहितका पदाधिकारी चयन हुन्छन्।, “टोल संस्था गठन गर्दा निष्पक्षता, सहभागीता र पारदर्शिता मुख्य मापदण्ड हुन्छन्। यो गठन्मा दल, जात, लिङ्ग वा नातावादको ठाउँ छैन।” टोल विकास समितिले आफ्नो रोहबरमा योजना सम्पन्न गर्न उपभोक्ता समिति गठन गर्छ, योजना संकलन गर्छ, कार्यान्वयनको अनुगमन गर्छ र वडाको नीतिगत निर्णयमा पनि सुझाव दिने गरेको वडा अध्यक्ष थापा बताउनु हुन्छ ।
उहांले “सामाजिक सेवा पक्षमा पनि टोल विकास संस्था क्रियाशील छ। साना झगडा, सामाजिक मनमुटाव, बाटो, सिमाना जस्ता विवादहरू मिलाउने काम पनि टोल समितिको नियमित जिम्मेवारीमा पर्छ। गढवा ५ कि वडा सदस्य निर्मला भण्डारीले, “ हामि भेला बारे सबैलाई जानकारी गराएर हरेक बिसय छलफलबाट निर्णय गर्छौं। हामी बैठकमै प्रस्ताव पारित गर्छौं अनि वडा समक्ष पेश गर्छौं।” अर्का स्थानीय सन्तु चौधरीको भनाइमा, “समस्याको समाधान साझा छलफलबाट मात्रै सम्भव हुन्छ। टोल विकास संस्थाले त्यसको नेतृत्व गर्छ।”
गढवा गाउँपालिका भरी अहिले वडा नं ५ मा सत प्रतिशत योजना टोल बिकास समितिको टोल भेला मार्फत गरिदै आएको छ ।
विकास योजनाको सन्दर्भमा योजना सुरु हुनेदेखि बजेट पास, उपभोक्ता समिति गठन, कार्यान्वयन र अनुगमनसम्म सम्पूर्ण जिम्मेवारी टोल विकास समितिले सम्हाल्ने गरेको पाइएको छ। वडाध्यक्ष स्वयं योजना संकलनमा जानुपर्ने आवश्यकता छैन। “जनश्रमदान पनि गर्छौं, सरकार देओस् न देओस्। हामी योजना पुरा गर्छौं,” स्थानीय कुमार घर्तीको भनाइले जनसहभागिता कति गहिरो छ भन्ने देखाउँछ।
योजनाको सुझाव संकलन गर्दा प्रत्येक टोलमा खुल्ला छलफल आयोजना हुन्छ। सम्बन्धित क्षेत्रका वडासदस्य, टोल अध्यक्ष, स्थानीय अगुवा तथा सरोकारवालाहरूको उपस्थितिमा दस्तखतसहितको लिखित प्रस्ताव तयार गरिन्छ। त्यसपछि मात्र वडा कार्यालयसँग सम्झौता हुन्छ। यस प्रक्रियाले योजना दर्ता गर्दा पनि साझेदारी र स्वामित्वको अनुभूति गराउँछ।
टोल विकास समितिका पदाधिकारीहरूलाई कुनै पारिश्रमिक दिइँदैन। सबै सदस्य निःशुल्क सेवा गर्छन्। तथापि, धुर्कोटका महिला सदस्यले अवलोकन भ्रमणमा सुझाव दिँदै थोरै पारिश्रमिक छुट्याइनु राम्रो हुने बताएका थिए। जवाफमा वडा प्रतिनिधिले, “यो कानुनी र आर्थिक दृष्टिकोणले सोच्ने विषय हो। हामी संस्थागत सुधारको क्रममा छौं। टोल संस्थाको लागि अलग बजेट व्यवस्थापनको तयारी हुँदैछ।”बताए
अर्को महत्वपूर्ण पाटो भनेको सरोकारवालाहरूको तालिम र क्षमतावृद्धि हो। गढवा वडा–५ मा टोल विकास संस्थाका पदाधिकारीलाई कानुनी साक्षरता, आर्थिक तालिम, सामाजिक उत्तरदायित्व र योजना लेखनसम्बन्धी अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिन्छ। यसले टोल स्तरमै योजना लेख्ने, प्रस्ताव बनाउने, सार्वजनिक सुनुवाइ गर्ने जस्ता दक्षता निर्माणमा सहयोग गर्ने अर्कान्वडा सदस्य नरेश चौधरीले बताउनु भयो ।
अनुभव साटासाट कार्यक्रममा धुर्कोट गाउपालिका वडा नं ३ बाट आउनु भएको वडा सदस्य चक्र शुन्दर घर्तिमगरले “ योजना बनाउन हामीलाई पनि तथ्यांक र समुदायको सहभागिता जरुरी छ।” गढवाको यो अभ्यासबाट उत्प्रेरित भएर टोल संस्था बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
गढवा ५ को मोडलले देखाएको यो मार्गले स्थानीय शासन प्रणालीमा नयाँ आशा र अभ्यासको सुरुवात हुने विश्वास व्यक्त गर्दै साझा निर्णय, समावेशी सहभागिता, र संस्था–केन्द्रित नेतृत्वले यो मोडललाई सशक्त बनाएको भन्दै धुर्कोटका प्रतिनिधिहरूले पनि आफ्नो वडामा यस्तो अभ्यास विस्तार गर्ने प्रतिवद्धता जनाए।
योजनामा सहभागिता मात्र होइन, समस्या समाधानमा पनि टोल विकास संस्थाको भूमिका उल्लेखनीय छ। साना तिना झैझगडा, पानीकुलोको विवाद, बाटो अतिक्रमण, सामुदायिक काममा सहयोग जस्ता बिषयहरू वडा कार्यालयमा पुग्नुअघि नै टोल स्तरमै मिलाउने प्रयास गरिन्छ। “सिस्टम र च्यानलबाट चलेपछि कुरा सहज हुन्छ,” वडा अध्यक्ष लेख बहादुर थापाले खुला छलफलमा थप्नुभयो ।
वडा कार्यालयको कार्यसम्पादनसमेत टोल विकास संस्थाको प्रभावले सुधारिएको छ। कार्यालय समयमा प्रतिनिधिहरू १० देखि ५ बजेसम्म अनिवार्य रूपमा कार्यालयमा उपस्थित रहन्छन्। सेवा सुविधा खोज्न नागरिक टोलमा वा वडामा आएर काम पाउँछन् भन्ने वातावरण निर्माण भएको छ।
योजना पारित गर्ने अन्तिम अधिकार वडा परिवारसँग भए पनि, योजनाको कार्यशुरुभन्दा अगाडि सरोकारवालासँग छलफल, टोल प्रस्ताव, दस्तावेज व्यवस्थापन आदि सम्पूर्ण जिम्मेवारी टोल विकास संस्थामै निहित हुन्छ। यो अभ्यासले गढवामा विकासलाई सामुदायिक स्वामित्वमा लैजाने बाटो खोलेको छ।
गढवा–५ को यो अभ्यासबाट अन्य वडाहरू मात्र होइन, देशभरका पालिकाहरूले पनि सिक्न सक्ने अनेकौं पाठ छन्। सशक्त टोल, पारदर्शी निर्णय, सहभागितामूलक विकास र स्थानीय नेतृत्वको अभ्यासका लागि टोल विकास संस्था एक उत्कृष्ट मोडेलका रूपमा स्थापित हुँदै गएको छ।
यदि देशभरका वडाहरूले गढवा–५ जस्तै अभ्यास सुरु गरे, भने जनप्रतिनिधि जनताकै सेवामा, जनताका समस्यामा र विकासका निर्णयमा सीधा संलग्न हुन थाल्नेछन्। यसले मात्र लोकतन्त्रको वास्तविक अनुभूति दिनेछ ।
गढवा गाउपालिका वडा नं ५ का अध्यक्ष लेखबहादुर थापाको सभाध्यक्षता र धुर्कोट गाउँपालिका–३ का वडा सदस्य चक्र सुन्दर घर्तीमगर प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
टोल विकास संस्थाकि अध्यक्ष गीता बुढा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम वडा सचिव राम नरेश यादवले सञ्चालन गर्नुभएको थियो।