संघको निर्देशन लत्याउँदै लुम्बिनी सरकार
लुम्बिनी प्रदेश सरकारले संघीय स्वास्थ्य मन्त्रालयको निर्देशनलाई वेवास्ता गर्दै डाक्टर इन्द्र ढकाललाई उनको दरबन्दीमा नपठाएको आरोप लागेको छ।
डा. ढकाल लामो समयदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टको रूपमा कार्यरत छन्, जसले गर्दा सप्तरीको अस्पतालमा हाडजोर्नी विशेषज्ञ सेवा प्रभावित भएको छ।
संघीय मन्त्रालयको लिखित निर्देशनपछि पनि लुम्बिनी प्रदेश सरकारले डा. ढकाललाई बुटवलमै निरन्तरता दिन खोजेको र यसले राजनीतिक पहुँचको दुरुपयोगको आरोपलाई बल पुर्याएको छ।
काठमाडौँ । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको स्पष्ट निर्देशनलाई अवज्ञा गर्दै लुम्बिनी प्रदेश सरकारले एक चिकित्सकलाई दरबन्दी रहेको स्थानमा नपठाई राजनीतिक शक्तिको आडमा संरक्षण गरेको घटना सार्वजनिक भएको छ ।
सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका १०औँ तहका अर्थोपेडिक सर्जन डा. इन्द्र ढकाललाई फिर्ता पठाउन दिइएको निर्देशन लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले लत्याएको हो ।
डा. ढकालको दरबन्दी २०८१ असार ५ को निर्णयअनुसार मधेश प्रदेशको गजेन्द्रनारायण सिंह अस्पतालमा कायम छ । तर, उनी लामो समयदेखि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) को भूमिकामा कार्यरत छन् ।
उनको अनुपस्थितिका कारण सप्तरीमा हाडजोर्नीसम्बन्धी विशेषज्ञ सेवा प्रभावित भएको भन्दै गजेन्द्रनारायण सिंह अस्पतालले पटक–पटक संघीय मन्त्रालयको ध्यानाकर्षण गराएको थियो ।
सोही गुनासोका आधारमा संघीय स्वास्थ्य मन्त्रालयले पटक–पटकको मौखिक आग्रहलाई बेवास्ता गरिएपछि जेठ २३ गते डा. ढकाललाई आफ्नो दरबन्दी रहेको सप्तरीको अस्पतालमा हाजिर हुन लिखित निर्देशन दिएको थियो ।
मन्त्रालयका शाखा अधिकृत बद्रीनाथ ढकालद्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत पठाइएको थियो ।
तर, संघीय मन्त्रालयको निर्देशन पालना गर्नुको साटो लुम्बिनी प्रदेश सरकारले उल्टै डा. ढकाललाई बुटवलमै थमौती गर्न प्रयास थालेको छ । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारूले डा. ढकालले राम्रो काम गरिरहेकाले उनको आवश्यकता बुटवलमै रहेको भन्दै उनलाई निरन्तरता दिन संघीय मन्त्रालयलाई अनुरोध गरिएको बताए ।
यसैगरी, प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले पनि डा. ढकालको दरबन्दी अन्यत्र रहेको विषयमा संघीय मन्त्रालयको पत्र आएपछि मात्र आफूले थाहा पाएको र यस सम्बन्धमा प्रदेश स्वास्थ्य मन्त्रालयले संघीय मन्त्रालयमा पत्राचार गरिसकेको जानकारी दिए ।
यो विवादको केन्द्रमा रहेका डा. ढकालमाथि राजनीतिक पहुँचको दुरुपयोग गरेको गम्भीर आरोप लाग्दै आएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा ११औँ तहका आधा दर्जनभन्दा बढी वरिष्ठ चिकित्सकहरू हुँदाहुँदै १०औँ तहका डा. ढकाललाई मेसुको जिम्मेवारी दिनुले यो आरोपलाई थप बल पुर्याएको छ ।
सामान्यतया मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी एमपीएच गरेका चिकित्सकलाई दिने प्रचलन छ, तर यहाँ योग्य उम्मेदवारलाई पन्छाएर ढकाललाई नियुक्ति दिइएको अस्पतालकै एक चिकित्सकले बताए ।
डा. ढकालको विगत पनि विवादास्पद देखिन्छ । केही वर्षअघि उनले बढुवाका लागि गलत कागजात पेस गरेको प्रमाणित भएपछि मन्त्रालयले उनलाई ११औँ तहबाट १०औँ तहमा घटुवा गरेको थियो ।
यता, संघीय स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. भक्तबहादुर केसीले डा. ढकाललाई थमौती गर्न लुम्बिनी प्रदेशबाट पत्र आएको पुष्टि गर्दै यस विषयमा अन्तिम निर्णय भइनसकेको बताए ।
उता, सप्तरीस्थित गजेन्द्रनारायण सिंह अस्पतालका मेसु डा. प्रकाश शाहले दरबन्दीका चिकित्सक अन्यत्र बस्दा सेवा प्रवाहमा प्रत्यक्ष असर परेको बताउँदै यस विषयमा सम्बन्धित निकायले विवेक पुर्याउनुपर्नेमा जोड दिए । यस घटनाले प्रदेश र संघबीचको क्षेत्राधिकार र समन्वयमा गम्भीर प्रश्न खडा गरेको देखिएको छ ।