Connect with us
Kapilvast Forest

कपिलवस्तु वनले रोक्यो सेटिङमा हुन लागेको करोडौँको काठ लिलाम

२०८२, ४ असार बुधबारमा प्रकाशित

कपिलवस्तु डिभिजन वन कार्यालयले बुटवल–गोरुसिङ्गे सडक विस्तारका क्रममा काटिएका काठहरूको लिलामी प्रक्रिया रोकिएको छ । लिलामीमा व्यवसायीहरूबिच मिलेमतो (सेटिङ) भएको सूचनापछि डिभिजनले सोमबार प्रक्रिया स्थगित गरेको हो ।

डिभिजनले जेठ १२ गते सार्वजनिक सूचना जारी गर्दै २६ हजार ५६८.५६ क्युबिक फिट गोलिया काठ र १५९.७५ चट्टा दाउरा लिलामी गर्ने बोलपत्र आह्वान गरेको थियो । तर अन्तिम केही मिनेट बाँकी रहँदा व्यवसायीहरू मिलेर न्यूनतम दरमा टेन्डर हाल्ने प्रयास गरेको पत्ता लागेपछि बोलपत्र प्रक्रिया रोकिएको हो ।

डिभिजनल वन अधिकृत ईश्वरीप्रसाद पौडेलका अनुसार लिलामीका लागि २० वटा लट बनाइएकोमा दुई लट बाहेक सबैमा २ देखि १४ वटा फारम मात्र बिक्री भएको बताउनुभएको थियो । उहाँले अन्तिम केही मिनेट बाँकी रहँदा समूहबद्ध रूपमा व्यवसायीहरू बोलपत्र दर्ता गर्न आएपछि टेन्डर प्रक्रियामै शङ्का उठेको र त्यसैले लिलामी रोकिएको जानकारी दिनुभयो ।

“व्यवसायीहरू मिलेर न्यूनतम दरमा काठ प्राप्त गर्न खोजिरहेका थिए भन्ने जानकारी पायौँ,’’ पौडेलले भन्नुभयो, “पारदर्शिता नभएको भन्दै प्रक्रिया रोकेका हौँ ।”

स्थानीय व्यवसायी सङ्घको संरक्षणमा विगत लामो समयदेखि कपिलवस्तु जिल्लामा काठ लिलामीमा सिन्डिकेट चल्दै आएको र बाहिरी जिल्लाका व्यवसायीहरूलाई प्रतिस्पर्धामा आउन नदिने गरेको गुनासो पनि उठ्दै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu