इरानमाथि हमला गरेर डोनाल्ड ट्रम्पले मोलेको जोखिम
काठमाडौं –
गत जनवरीमा डोनाल्ड ट्रम्पले दोश्रो पटक अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाले र त्यतिबेला आफूलाई ‘शान्तिदूत’ भनेर प्रस्तुत गरे । तर अहिले आएर ट्रम्पले अमेरिकालाई इरान र इजरायल बीचको एउटा गम्भीर तथा जटिल युद्धमा होम्ने निर्णय गरेका छन् ।
दोश्रोपटक राष्ट्रपति बनेपछि ट्रम्पले मध्यपूर्वमा शान्ति ल्याउने प्रयास त गरे, तर त्यो सफल हुन सकेन । अहिले उनी एउटा यस्तो क्षेत्रको नेतृत्व गर्दै छन्, जुन विशाल युद्धको संघारमा छ अनि त्यसमा अमेरिका पनि सक्रिय रूपमा सामेल भएको छ।
उता इरानले भने अमेरिकी आक्रमणबाट उसको बहुचर्चित फÞोर्दो परमाणु केन्द्रमा खासै क्षति नभएको जिकिर गरेको छ । अमेरिकाले इरानका परमाणु केन्द्रहरु पूर्णरुपमा ध्वस्त भएको दाबी गरिरहेको तर इरानले भने आफ्नो रणनीतिक महत्वको फोर्दो आणविक केन्द्रमा खासै क्षति नपुगेको जिकिर गरिरहँदा कुन पक्ष सही हो भन्ने कुरा समयक्रमले देखाउने छ ।

इरानमा अझै धेरै निशानाहरु बाँकी रहेको र अमेरिकाले त्यसमाथि तीव्रता, सटीकता र कौशलका साथ हमला गर्ने ट्रम्पको भनाइ थियो ।तथापि ट्रम्पको उक्त आत्मविश्वासका बाबजुद इरानमाथिको अमेरिकी हस्तक्षेपले अमेरिका, मध्यपूर्व र विश्वलाई नै ठूलो खतरा पुर्याउन सक्ने जोखिम छ ।
इरानमाथि आक्रमण गर्ने अमेरिकी निर्णयले युद्ध चर्किएमा पहिले नै तनावपूर्ण अवस्थामा रहेको मध्यपूर्व थप अराजक बन्ने चेतावनी संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले दिएका छन् ।
किनकि इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईले चेतावनी दिएजस्तै यदि इरानले जवाफी हमला गर्यो भने अमेरिकाले इरानमाथि पुनः व्यापक आक्रमण गर्ने पक्का छ ।
जब ‘दुई हप्ता’ बन्यो ‘दुई दिन’
गत हप्ताको सुरुमै ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न चेतावनी दिएका थिए । सो अभिव्यक्तिले उनलाई यस्तो अवस्थामा पुर्यायो कि त्यहाँबाट पछि हट्न गाह्रो भयो । उता इरान पनि आफ्ना धम्कीहरूका कारण त्यस्तो स्थितिमा फस्यो ।

वास्तवमा युद्धहरू यस्तै स–साना कदमहरूबाट सुरु हुन्छन् र अन्ततः नियन्त्रण बाहिर जान सक्छन्।गत बिहीबार ट्रम्पले इरानलाई दुई हप्ताको समयसीमा दिएका थिए । तर उनको त्यो दुई हप्ताको डेडलाइन केवल दुई दिनमै सकियो । अन्ततः शनिबार अमेरिकाले इरानमाथि बंकर बस्टर बम प्रहार गर्यो ।
अमेरिकाको उक्त कदमले केही प्रश्न उठाएको छ, के अमेरिकाले दिएको उक्त ‘डेडलाइन’ केवल छल थियो ? के त्यो इरानलाई नक्कली तथा झुटो सुरक्षा अनुभूति गराउने अमेरिकी प्रयास थियो ? अथवा त्यो ट्रम्पका मध्यपूर्वका विशेष दूत स्टिभ विटकफÞको नेतृत्वमा भइरहेको गोप्य वार्ताको असफलताको परिणाम थियो ?
सो हमलापछि तुरुन्तै विस्तृत जानकारी नआए पनि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल र राष्ट्रका नाममा दिएको सम्बोधनमा आफ्नो चाहना शान्ति कायम गर्नु रहेको भन्ने देखाउने प्रयास गरे ।
तर उनको त्यो चाहना अत्यधिक महत्वाकांक्षी देखिन्छ । इजरायलले सयौँ ड्रोन तथा मिसाइल आक्रमणबाट इरानका सैन्य संरचनाहरूलाई कमजोर बनाउने प्रयास गरिरहेको छ । तर इरान अझैपनि शक्तिशाली छ । र, यदि अवस्था यस्तै रह्यो भने, मध्यपूर्वमा छिटै ठूलो युद्ध हुनसक्छ । यद्यपि अहिले इरान–इजरायल दुवै अस्थायी युद्धविरामको अवस्थामा छन् ।
अमेरिकी राजनीतिमा असर
मध्यपूर्वमा फछिल्लो अमेरिकी सक्रियता, खासगरी इरानमाथिको आत्रमण र सम्भावित युद्ध जस्ता कारणहरुले ट्रम्पको घरेलु राजनीति र अन्तर्राष्ट्रिय छविमा गहिरो प्रभाव पार्नेछन् ।इरानमाथिको आक्रमण र युद्धको आशंकाबीच अमेरिकामा विपक्षी डेमोक्रयाट पार्टी मात्र नभई ट्रम्पकै अमेरिका पहिलो नीतिका समर्थकहरूबाट समेत ट्रम्पको आलोचना बढेको छ ।
राष्ट्रलाई सम्बोधन गर्ने बेला ट्रंपले आफ्ना तीनजना सल्लाहकारहरूलाई साथमा उभ्याएर सायद एकताको सन्देश दिन खोजिरहेका थिए ।उपराष्ट्रपति भान्सले संयमित परराष्ट्र नीतिको समर्थन गर्दै ट्रम्प अझै गैर–हस्तक्षेपकारी नेता भएको दाबी गरेका छन् ।
यस्तोमा यदि इरानमाथिको ऊक्त आत्रमण केवल एकपटकको मात्र हो भने चाहिँ ट्रम्पले आफ्ना समर्थकहरूलाई सन्तुष्ट पार्न सक्छन् । तर यदि अमेरिका युद्धमा तानियो भने आफूलाई ‘शान्तिदूत’ भनेर चिनाउने ट्रम्पलाई आफ्नै पार्टीभित्र समेत विरोधको सामना गर्नु फर्नेछ ।
अमेरिकाले इरानमाथि शनिबार गरेको आक्रमण वास्तवमा अमेरिकाको एक आत्रामक कदम थियो । त्यो पनि त्यस्ता राष्ट्रपतिबाट जसले आफ्नो पहिलो कार्यकालमा कुनैपनि युद्ध सुरु नगरेकोमा गर्व गरेका थिए र चुनावी अभियानका क्रममा अमेरिकाका अन्य राष्ट्रपतिहरूको आलोचना गरेका थिए । अन्य राष्ट्रपतिहरुले विभिन्न समयमा अमेरिकालाई अन्तराष्ट्रिय युद्धमा तानेको उनको भनाइ थियो ।
ट्रम्पले कठोर निर्णय गर्दै इरानमाथि आक्रमण गरिसकेका छन् । तथापि अब उत्पन्न हुने परिस्थिति उनको नियन्त्रणमा हुनेछ भन्ने कुराको कुनै ग्यारेन्टी छैन ।