Connect with us
Kapilvast Forest

जन्मसिद्ध नागरिकतासम्बन्धी आदेशमा ट्रम्पको कानुनी जीत, अब के हुन्छ ?

२०८२, १४ असार शनिबारमा प्रकाशित

teump

काठमाडौं

अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा एक महत्वपूर्ण फैसला सुनाएको छ। सर्वोच्चले ट्रम्पको जन्मसिद्ध नागरिकताको आदेशमाथि तल्लो अदालतका न्यायाधीशहरूले देशभर प्रभाव पर्ने गरी रोक लगाउन नसक्ने र उनीहरूले आफ्नै आदेशमा पुनर्विचार गर्नुपर्ने फैसला सुनाएको हो ।

अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाएका थिए । उक्त निर्णयलाई तल्लो अदालतका न्यायाधीशहरूले रोक लगाएका थिए ।

अब सर्वोच्च अदालतको यो फैसलापछि उक्त विषयमा तल्ला अदालतका न्यायाधीशहरूको अधिकार सीमित भएको छ जसले गर्दा उनीहरूले ट्रम्पलाई रोक्न कठिन हुनेछ ।

यसअघि अमेरिकाका तल्लो अदालतहरूले तीनवटा फरक–फरक मुद्दामा ट्रम्पको जन्मसिद्ध नागरिकताको अधिकार समाप्त गर्ने आदेश लागु हुनु अघि नै अस्थायी रूपमा रोकेका थिए।ट्रम्पले शपथ लिएको दिन अर्थात् २० जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै जन्मसिद्ध नागरिकतामा रोक लगाएका थिए।

त्यसको केही दिनमै अमेरिकी संघीय अदालतले ट्रम्पको आदेशमा १४ दिनको लागि रोक लगाएको थियो।

संघीय न्यायाधीश अधिकार क्षेत्रभन्दा बाहिर गएः सर्वोच्च

सर्वोच्च अदालतले ६–३ को बहुमतमा फैसला सुनाउँदै कुनै नीति देशभर लागू नहोस् भन्नका लागि निर्णय गर्ने अधिकार एक्ला संघीय न्यायाधीशको नहुने स्पष्ट पारेको छ । यदि ट्रम्पको आदेशजस्तै कुनै आदेश रोक्नुपर्ने हो भने त्यसका लागि धेरै पक्षहरूको मिलेर मुद्दा हेर्नुपर्ने हुन्छ, न कि कुनै एक राज्य वा व्यक्तिले मात्रै।

फैसला लेख्ने न्यायाधीश एमी कोनी बैरेटले भनिन्, ‘संघीय अदालतहरूको काम सरकारका आदेशहरूको निगरानी गर्नु होइन। उनीहरूको काम संसदबाट प्राप्त अधिकारअनुसार मुद्दा हल गर्नु हो।’

सर्वोच्च अदालतको यो आदेशका बावजुद पनि अहिलेका लागि अमेरिका भित्र जन्मेका बच्चाहरूलाई पहिलेजस्तै नागरिकता दिइनेछ । किनकि अदालतले अहिले पूर्ण निर्णय सुनाइसकेको छैन । अदालतको आदेश अनुसार ट्रम्पको आदेश ३० दिनसम्म लागु हुने छैन।

ट्रम्पको प्रतिक्रिया: अब आफ्ना नीतिहरू चाँडो कार्यान्वयन गर्नेछु

ट्रम्पले यो फैसला आफूले हासिल गरेको ठूलो जीतको रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘सर्वोच्च अदालतको यो फैसला देशका लागि अत्यन्त राम्रो छ।’

ट्रम्पले यो फैसला शानदार भएको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूलाई धन्यवाद दिएका छन्।

ट्रम्पले भने, ‘गएको घन्टा अत्यन्तै सानदार रह्यो। अब हामी ती नीतिहरू लागु गर्न अगाडि बढ्न सक्छौं, जुन गलत रूपमा रोकिन पुगेका थिए।’

उनले थपे, ‘यो फैसला संविधान र कानुनको जित हो। अब म आफ्ना नीतिहरू कार्यान्वयन गर्न तीव्र गतिमा अघि बढ्नेछु।’

तर, न्यायाधीश सोनिया सोटोमायोरले भने फैसलाको विरोध गर्दै यसलाई ‘कानूनको मजाक’ को रूपमा टिप्पणी गरेकी छन् ।

सर्वोच्चमा रहेका ९ न्यायाधीशमध्ये ३ न्यायाधीश ट्रम्पले नियुक्त गरेका छन् ।

अब ३ अवस्थामा जन्मसिद्ध नागरिकता पाइनेछैन

ट्रम्पले ‘प्रोटेक्टिङ द मिनिङ एण्ड भ्यालु अफ अमेरिकन सिटिजन’ नामक कार्यकारी आदेशमार्फत जन्मसिद्ध नागरिकताको कानुनमा संशोधन गरेका थिए । उक्त आदेशअनुसार निम्न ३ अवस्थामा अमेरिकी नागरिकता दिइने छैन:

१. आमा अवैध रूपमा अमेरिकामा बसोवास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउनेछैन ।

२. आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउनेछैनन् ।

३. बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता पाउनेछैनन् ।

जन्मसिद्ध नागरिकताको इतिहास ?

अमेरिकी संविधानको १४औं संशोधनले जन्मका आधारमा नागरिकताको अधिकार दिएको छ। यही संशोधनअन्तर्गत अमेरिकाभित्र बसोबास गरिरहेका आप्रवासीहरूका सन्तानलाई पनि नागरिकताको अधिकार मिल्दै आएको छ।

सन् १८६५ मा अमेरिकी गृहयुद्ध समाप्त भएपछि जुलाई १८६८ मा अमेरिकी संसदले संविधानको १४औं संशोधन पारित गरेको थियो । यसमा भनिएको छ, ‘अमेरिकामा जन्मिएका सबै व्यक्ति नागरिक हुन्।’

यसको मुख्य उद्देश्य त्यतिबेलाका दास बनाइएका अश्वेतहरूलाई नागरिकता दिनु थियो।

तर, कालान्तरमा अमेरिकामा जन्मिएका सबै बालबालिकालाई समेट्छ, चाहे उनका आमाबाबुको आप्रवासन स्थिति जेसुकै होस् भने जसरी व्याख्या र कार्यान्वयन हुँदै आएको थियो ।

अमेरिकामा यो चलन लामो समयदेखि चल्दै आएको छ। आलोचकहरूले यसलाई ‘बर्थ टुरिज्म’ भन्छन्।

कति छ यस्तो जनसंख्या ?

प्यू रिसर्चका अनुसार, सन् २०१६ मा करिब २ लाख ५० हजार बालबालिकाहरूको जन्म अमेरिका भित्र कागजातबिनाका आप्रवासी आमाबाबुबाट भएको थियो। यो संख्या सन् २००७ को तुलनामा ३६ प्रतिशतले कम थियो।

प्यू रिसर्चको पछिल्लो अध्ययन अनुसार सन् २०२२ सम्ममा यो संख्या बढेर १२ लाख पुगेको थियो।

माइग्रेशन पोलिसी इन्स्टिच्युटले ती बालबालिकाहरूले भविष्यमा आफ्नै सन्तान जन्माउन सक्ने भएकाले जन्मका आधारमा नागरिकता हटाउँदा यसको असर सन् २०५० सम्ममा अमेरिका भित्र बिना कागजात रहेका आप्रवासीहरूको संख्या ४७ लाख पुग्न सक्ने चेतावनी दिएको छ ।

के चाहन्छन् ट्रम्प ? 

एनबीसीको एक कार्यक्रममा ट्रम्पले अनधिकृत आप्रवासीहरूको बच्चाहरू चाहे उनीहरूको जन्म अमेरिकाभित्रै भएको भए पनि, उनीहरूलाई आमाबाबुसँगै देशनिकाला गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

ट्रम्पले गएको डिसेम्बरमा भनेका थिए, ‘म परिवारहरूलाई छुट्याउन चाहन्न। त्यसैले परिवार टुट्न नदिनको एउटै उपाय भनेको सबैलाई सँगै राखेर फिर्ता पठाउनु हो।’

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu