‘एक प्रशासकको प्रतिबद्धता: एसईई नतिजा सुधारको प्रेरक यात्रा’
प्यार अलि खान प्युठान-
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) प्यूठानका लागि चेतावनीको घण्टी सावित भयो। जिल्लाभरका हजारौं अभिभावक, शिक्षक, पालिका, र शिक्षा निकायहरूको नजरअगाडि नतिजा खस्किएको थियो जम्मा १२.२७ प्रतिशत विद्यार्थी मात्रै सफल भएका थिए। तर त्यो यत्तिकै रहने थिएन।
सिंहदरबारको आदेश पर्खेर समय गुमाउने हो भने परिवर्तन सम्भव हुँदैन।
यही अवस्थालाई टालटुल गरेर थाम्ने हो कि सुधारको आँट गर्ने? भन्ने प्रश्नबीच जब जिल्ला प्रशासन कार्यालय प्यूठानको नेतृत्वमा रमा आचार्य (सुवेदी) आउनुभयो, स्थिति फेरिने संकेत सुरु भयो। उहाँको अग्रसरतामा पहिलो पटक जिल्लास्तरीय बृहत् अन्तरक्रिया कार्यक्रम आयोजित गरियो, जहाँ प्यूठानका सबै माध्यमिक विद्यालयका प्रधानाध्यापक, अगुवा शिक्षकहरू, पालिका शिक्षा शाखा प्रमुखहरूलाई एकै ठाउँमा बोलाइयो।
छलफलमा ‘किन’ भन्ने प्रश्नमा घोत्लियो नतिजा किन खस्कियो? शिक्षण सिकाइमा कहाँ चुक भयो?
शिक्षक, विद्यार्थी, अभिभावक र पालिकाको भूमिकामा कहाँ कमी देखियो? अनि त्यही छलफलले एउटा निष्कर्ष दियो अब शब्द होइन, कार्य योजना चाहिन्छ।
त्यसपछि काम सुरु भयो।
जिल्ला स्तरीय एक्सन प्लान बनाइयो।पालिकाहरूले आफ्ना कार्य योजना बनाए।
विद्यालय स्तरमै सिकाइ उपलब्धि परीक्षण, मासिक परीक्षा, शिक्षकसँग सामूहिक समीक्षा, अनि निरन्तर अनुगमन सुरु भयो।
प्रमुख जिल्ला अधिकारी स्वयं विद्यालयमै पुगेर शिक्षकसँग संवाद गरी विद्यार्थीको मनोबल बढाउने कामको सुरुवात भयो।
यति मात्रै होइन, पालिकाहरूसँग समन्वय गरेर शिक्षा सुधारलाई पहिलो प्राथमिकतामा राख्न दबाब र प्रेरणा समेत दिँदै जानुभयो।
सामान्य रूपमा हेर्दा शिक्षा भन्ने कुरा स्थानीय तह र शिक्षा शाखाको जिम्मेवारी जस्तो लाग्छ। तर जब एक प्रशासक ‘साझा उत्तरदायित्व’ को भावनासहित अघि बढ्छ, तब समन्वय पनि हुन्छ, सहकार्य पनि। र, परिणाम पनि आउँछ।
अहिले २०८१ सालको एसईई नतिजाले फेरि आशा पलाएको छ।
१२.२७ प्रतिशतबाट सुधार हुँदै यो वर्ष पास प्रतिशत ४८.८५ मा उक्लिएको छ।
यस प्रेरणादायी सुधारका लागि
विद्यालयमा अध्यापनमा खटिने सम्पूर्ण शिक्षक,गुरुवर्ग,
सक्रिय अभिभावक वर्ग,
सम्पूर्ण स्थानीय तह, शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति,र सहयोग गर्ने विद्यार्थीहरू स्वयं प्रति गहिरो आभार प्रकट गर्न चाहन्छु।
विशेष धन्यवादको पात्र हुनुहुन्छ
प्रमुख जिल्ला अधिकारी (साविक) तथा हाल गृह मन्त्रालय सरुवा हुनु भएकी रमा आचार्य सुवेदी, जसले आफ्नै गृहजिल्ला प्यूठानमा शिक्षा सुधारको नेतृत्व गर्दै देखाइदिनुभयो चाहना, समन्वय र क्रियाशीलता भए परिवर्तन सम्भव हुन्छ।
यो सुधारको यात्रा पूर्ण विराम होइन अब यसको निरन्तरता, संस्थागत बनाउने र गुणस्तरमा केन्द्रित बनाउने चुनौती बाँकी छ। तर यो कथा प्रमाण हो सामान्य प्रशासनिक भूमिकाले पनि असाधारण परिणाम ल्याउन सक्छ।