Connect with us
Kapilvast Forest

दस वर्षमा बालविवाह शून्य बनाउने नौबहिनीको संकल्प

२०८२, २० असार शुक्रबारमा प्रकाशित

प्यार अलि खान, प्युठान-

बालविवाहजस्तो गम्भीर सामाजिक समस्या अन्त्य गर्न नौबहिनी गाउँपालिकाले १० वर्षे रणनीति बनाउने तयारी थालेको छ। यही उद्देश्यसहित बिहीबार एक दिवसीय कार्यशाला कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम गाउँपालिकाको आयोजनामा तथा सार्प रिसर्च सेन्टर प्रा.लि. काठमाडौंको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दिलबहादुर थापाले धार्मिक, सांस्कृतिक र सामाजिक संरचनामार्फत अझै पनि बालविवाह भइरहेकाले चेतनाको स्थायी अभिवृद्धि आवश्यक रहेको बताए।

“विद्यालय र समुदायस्तरमा केही कार्यक्रम सञ्चालन भए पनि पर्याप्त प्रभावकारी हुन सकेका छैनन्,” अध्यक्ष थापाले भने, “अबको १० वर्षभित्र बालविवाहलाई पूर्णरूपमा अन्त्य गर्ने दिगो रणनीति आवश्यक छ।”

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले पालिकाले रणनीति तर्जुमा गरी समुदाय केन्द्रित, व्यवहार परिवर्तनमुखी र बहुपक्षीय कार्यक्रममार्फत बालविवाह शून्यमा झार्ने लक्ष्य लिएको जानकारी दिए।

कार्यशालामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, सरकारी तथा गैरसरकारी संस्था, सामाजिक अगुवा तथा सरोकारवालाहरूको सहभागिता थियो।

सहभागीहरूले बालविवाह न्यूनीकरणका लागि व्यवहार परिवर्तन, अभिभावकको भूमिका, विद्यालय स्तरमा निगरानी, तथा प्रभावकारी कानुनी कार्यान्वयनलगायत विषयमा ठोस सुझाव र प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममार्फत संकलित सुझावहरूको समेटेर गाउँपालिकाले आगामी महिनाभित्र रणनीतिक दस्तावेज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj