शिवराज नगरपालिका २ बालमैत्री वडा घोषणा
पुनहरी घिमिरे कपिलवस्तु –
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर २ ले वडालाई बालमैत्री वडा घोषणा गरेको छ। बाल अधिकार र बालमैत्री वातावरण सुदृढ बनाउने उद्देश्यले शुक्रवार एक भव्य कार्यक्रमको आयोजना गरि वडालाई बालमैत्री वडा घोषणा गरेको हो ।
चन्द्रौटामा रहेको सिद्धार्थ लुम्बिनी ग्रीन रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पुर्व महिला तथा बाताबरण मन्त्री सुरेन्द्र राज आचार्यले बालबालिकाको अधिकार संरक्षण र समुचित विकास सुनिश्चित गर्न सबै तहका निकायले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिका राष्ट्रको आधारशिला हुन्। तिनको अधिकार सुनिश्चित गर्न र उनीहरूलाई स्वस्थ, शिक्षित तथा सुरक्षित वातावरण दिन हामी सबैको साझा जिम्मेवारी हो।”
शिवराज नगरपालिकाकि उपप्रमुख शिवकुमारी थारुले वडालाई बालमैत्री वडा घोषणापत्र पढेर सार्वजनिक गर्नुभएको थियो। बालमैत्री वडा घोषणासँगै अब शिक्षाको पहुँच, बाल स्वास्थ्य र पोषण, सुरक्षित र प्रोत्साहनयुक्त वातावरण, बालश्रम र हिंसाविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा विशेष ध्यान दिन समेत थारुले आग्रह गर्नुभएको छ । उपप्रमुख थारुले वडास्तरमा सुरु भएको यो सकारात्मक कदमले सम्पूर्ण नगरपालिकामा बालमैत्री अवधारणालाई थप सबल बनाउने विश्वास व्यक्त गर्नुभयो।
वडाअध्यक्ष राम बहादुर चौधरीले वडाले आगामी दिनमा बालमैत्री गतिविधि र सचेतना कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । शब्दमा मात्र सीमित नराखी व्यवहारमा उतार्ने दृढ संकल्प व्यक्त गर्ने चौधरीले उजागर गर्नुभएको छ। बालमैत्री वडा घोषणासँगै शिक्षामा पहुँच विस्तार, पोषण तथा स्वास्थ्य सेवा सुदृढीकरण, हिंसा र शोषणविरुद्ध कडा प्रतिकार, सिर्जनशील सीप विकास लगायतका विषयमा प्राथमिकता दिने प्रतिबद्धता समेत चौधरीले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै संस्थापक मेयर नेत्रराज अधिकारीले बालबालिका लाई संरक्षण गर्नुपर्ने र उम्रदै गरेका मुना तथा देशका कर्णाधार रहेको भन्दै आफ्ना धारणा राख्नुभएको थियो ।
यस्तै कार्यक्रममा वडा १ का वडा अध्यक्ष खिम बिक्रम के सि ,वडा न ५ का वडाअध्यक्ष नेत्र बेल्वासे ,काङ्ग्रेस नेता हुमाकान्त खनाल,शिवराज नगरपालीका का वास अफिसर राजेस चौधरी , मानवअधिकारकर्मी बिष्णु प्रसाद खतिवडा चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष ईस्वरी प्रसाद पान्डे ,साझेदारी बनका अध्यक्ष हरि पोख्रेल लगायत स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, अभिभावक, बाल क्लबका प्रतिनिधि तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
