Connect with us
Kapilvast Forest

इजरायली आक्रमणमा एकैदिन ११० प्यालेस्टिनी मारिए

२०८२, २९ असार आईतवारमा प्रकाशित

काठमाडौं –

गाजामा इजरायली सेनाको आक्रमणमा शनिबार कम्तीमा ११० जना प्यालेस्टिनी मारिएका छन् । अलजजिराका अनुसार मारिनेमा दक्षिणी राफाहस्थित अमेरिकी समर्थन प्राप्त गाजा ह्युम्यानिटेरियन फाउण्डेसन ९जीएचएफ० को राहत केन्द्रमा खाना लिन लाइन बसेका ३४ जना नागरिक समेत रहेका छन् ।यो नरसंहार कतारमा जारी युद्धविराम वार्ता अवरुद्ध समयमा भएको हो। इजरायलले गाजाका सबै जनतालाई बलपूर्वक विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।

बीबीसीले भने इजरायली हमलामा परी राहत सामग्री केन्द्र नजिकै २४ प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।दक्षिणी गाजास्थित नासेर अस्पतालले दिएको जानकारी अनुसार शनिबार खाना लिन राहत केन्द्र पुगेका प्यालेस्टिनी सर्वसाधारणको इजरायली सेनाले चलाएको गोली लागी मृत्यु भएको हो ।यता, इजरायली डिफेन्स फोर्स आईडीएफ ले आफ्नोतर्फबाट चलेको गालीबाट कसैलाई चोटपटक पनि नलागेको जिकिर गरेको छ ।

तर अर्का इजरायली सैनिक अधिकारीले भने, ‘हामीले मानिसहरूलाई हटाउन चेतावनी स्वरूप गोली चलाएका हौं। सेनालाई खतरा महसुस भएपछि गोली चलाउनु परेको थियो।’इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई गाजाभित्रबाट प्रत्यक्ष रिपोर्टिङ गर्न अनुमति दिएको छैन।

पानी जस्तै बगिरहेछ रगतको खोला

स्थलगत रिपोर्टिङ गरिरहेको अलजजिराले भने स्थानीय नागरिकलाई उद्धृत गर्दै सहायता केन्द्र अगाडि विनाचेतावनी गोली प्रहार गरिएको जनाएको छ ।सहायता केन्द्र अगाडि गोली प्रहार भएको र पानी जस्तै रगत बगिरहेको जीवित रहेका सर्वसाधारणहरूले बताएका छन्।

राफाहको अल(शकुश क्षेत्रमा भएको घटनाबारे अलजजिरासँग कुरा गर्दै सामिर शातले भने, ‘हामीले खाना ल्याउन भनी ल्याएका झोलाहरू नै शव ढाक्न प्रयोग गरेका छौं। त्यो राहत केन्द्र होइन, मृत्युको एम्बुस हो।’इजरायली हमलामा आफ्ना सन्तान गुमाएका एक बाबुले भने, ‘हामीलाई धोका दिइयो। झोला उठाउँदै गर्दा हाम्रै टाउकोमा गोली चलाइयो, जस्तो हामी सिकारी अगाडि चरिरहेका हाँस हौं ।’

अल जजिराका संवाददाता तारिक अबु अज्जुमले भने, ‘जीएचएफको राफाह ९गाजा पट्टी र इजिप्टको सिमानामा पर्ने एक सहर० मा केवल एउटा राहत केन्द्र सञ्चालनमा छ, जसका कारण हजारौं भोकभोकै नागरिक त्यहाँ जान बाध्य छन्। इजरायली सेनाले बिना चेतावनी उनीहरूलाई निशाना बनाए।’

कतै छैन सुरक्षित ठाउँ

मानवीय सहायता केन्द्र वरपर मात्रै ८०० भन्दा बढीको मृत्यु भइसकेको छ । ५ हजारभन्दा बढी घाइते रहेका अल(अक्सा अस्पतालका प्रवक्ता खालिल अल(डेग्रानले जानकारी दिए ।‘धेरैजसोको टाउको र खुट्टामा गोली लागेको छ। अस्पतालमा औषधिको चरम अभावले उपचार सम्भव छैन,’ उनले भने ।

अन्यत्र पनि हमला, दर्जनौं मारिए

शनिबार गाजाको विभिन्न क्षेत्रमा भएका आक्रमणमा थप सर्वसाधारण मारिएका छन् । अलजजिराका अनुसार गाजा सिटीको टुफ्फाह क्षेत्रमा बम आक्रमणले १४ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।त्यस्तै, जबालियामा दुई आवासीय भवनमा आक्रमण हुँदा १५ को मृत्यु भएको छ । उता, शाती शरणार्थी शिविरमा भएको आक्रमणमा ७ को मृत्यु भएको छ ।

उत्तरी गाजाको बेइट हानुनमा ५० भन्दा बढी बम खसालिएका छन् ।इजरायली सेनाले पछिल्ला ४८ घण्टामा गाजामा २५० पटक आक्रमण गरेको छ । साथै, खाद्यान्न र राहत सामग्रीको प्रवेशमा पनि अवरोध खडा गरिएको छ ।

६७ बालबालिकाको भोकमरीबाट मृत्यु

गाजाको सरकारी सञ्चार कार्यालयले शनिबार जारी गरेको विवरण अनुसार हालसम्म ६७ बालबालिकाको मृत्यु कुपोषणका कारण भइसकेको छ।५ वर्षमुनिका ६ लाख ५० हजार बालबालिका तत्कालीन भोकमरीको जोखिममा छन्।सरकारी अधिकारीहरूका अनुसार खाद्यान्न र औषधि अभावका कारण दर्जनौंको मृत्यु भइसकेको छ। स्थिति अत्यन्तै क्रूर र अकल्पनीय मानवीय त्रासदीमा परिणत भएको छ ।

वार्ता अवरुद्ध

गाजा युद्ध अन्त्यका लागि हमास र इजरायलबीच भइरहेको वार्ता अवरुद्ध भएको रोकिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स र एएफपीले जनाएका छन् । दुई पक्षबीच गाजाबाट इजरायली फौजको फिर्ती बारे विवाद देखिएको छ ।

रोयटर्ससँग कुरा गर्दै एक प्यालेस्टिनी स्रोतले हमासले इजरायलले प्रस्ताव गरेको फिर्ती नक्सामा आपत्ति जनाएका छन्, किनभने ती नक्साले करिब ४० प्रतिशत गाजा क्षेत्र इजरायली नियन्त्रणमा राख्ने देखिन्छ । यसमा राफाह सम्पूर्णरूपमा र गाजाको उत्तर र पूर्वका क्षेत्रहरू पनि समावेश गरिएका छन् ।

इजरायली स्रोतले जनाए अनुसार, हमासले इजरायललाई अघिल्लो युद्धविरामको बेलामा रहेका सीमामा फर्किन माग गरिरहेको छ । उक्त सीमामा मार्च महिनामा इजरायलले आक्रमण पुनः सुरु गरेको थियो।

एएफपीसँग कुरा गर्ने अर्का प्यालेस्टिनी स्रोतका अनुसार, इजरायली योजना अनुसार हजारौं विस्थापित प्यालेस्टिनीहरूलाई राफाह सहर नजिकको साँघुरो क्षेत्रमा राखिनेछ, जुन इजिप्टको सीमासँग जोडिएको छ।

हमासले इजरायलले प्रस्ताव गरेको नक्सा स्कार्नु आधा गाजा पुनःअधिकरणलाई वैधता दिनु भएको भन्दै इजरायली प्रस्तावलाई अस्वीकार गरेको स्रोतहरूको हवाला दिंदै अन्तर्राष्ट्रिय सञ्चार एजेन्सीहरूले जानकारी दिएका छन् ।

इजरायल र हमासबीच मानवीय राहत सामग्रीको प्रवेश तथा युद्ध अन्त्यको ग्यारेन्टीबारे पनि मतभेद देखिएको छ। प्यालेस्टिनी स्रोतले अमेरिकाले अझ बढी हस्तक्षेप गरेमा यो संकट समाधान हुन सक्ने आशा गरेका छन् ।

यद्यपि अवरोधबीच पनि कतरमा दुवै पक्षको अप्रत्यक्ष वार्ता जारी रहने अपेक्षा गरिएको छ।

वैश्विक मामिलामा मध्यपूर्व काउन्सिलका विश्लेषक ओमार रहमान इजरायल युद्धबन्दी फर्काउने उद्देश्य मात्र नभई गाजा समाजको भौतिक विनाश, सामाजिक संरचनाको विघटन र पूर्ण रूपमा जनसंख्या हटाउने रणनीति अपनाइरहेको विश्लेषण सुनाउँछन् ।

अजजजिरासँग कुरा गर्दै उनले गाजा ह्युमनिटेरियन फाउन्डेशन ९जीएचएफ० जस्ता अमेरिकी(इजरायली योजनाहरूले परम्परागत राहत वितरण प्रणालीलाई विस्थापित गर्दै बचेका जनतालाई सानो क्षेत्रमा सीमित बनाउने रणनीति लिएको बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu