Connect with us
Kapilvast Forest

भूमि व्यवस्थामन्त्री बलराम अधिकारी जेब्रा झोलामा ३२ लाख लिएको बिचौलियाको दाबीसहितको अडियो सार्वजनिक

२०८२, २ श्रावण बिहीबारमा प्रकाशित

काठमाडौं –

७८ लाख ‘घुस’ डिलमा तानिएपछि संघीय मामिलामन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको भोलिपल्टै भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । अडियोअनुसार उनले पोखरा लिचीघारीको १३५ रोपनी विवादित जग्गा स्वार्थ समूहको नाममा दर्ता गरिदिने भन्दै घुस लिएका हुन् । यही जग्गा काण्डमा ५३ लाख रुपैयाँ घुस खाएको आरोप लागेपछि संघीय मामिलामन्त्री गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिइसकेका छन् । उनले जिल्ला भूमि आयोगको अध्यक्ष नियुक्त गरिदिन भन्दै २५ लाख घुस डिल गरिरहेको पनि सार्वजनिक भएको थियो । जसमा उनले ‘घुस खाएको’ भन्दै भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोलेका थिए । ‘बलराम (अधिकारी)ले पैसा खाइसक्यो, उसले काम गर्दैन,’ उक्त अडियोमा गुप्ताले बिचौलियासँग भनेका छन् ।

पछिल्लो सार्वजनिक अडियोमा अधिकारीले पैसा (घुस) खाइसकेको दाबी बिचौलियाले गरेका छन् । अडियोमा तत्कालीन भूमिसचिव अर्जुन पोखरेल, मन्त्रीका छोरा मनोज र निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् ।

महेन्द्र गुफानजिकै रहेको जग्गा हत्याउन व्यापारिक समूह लागिरहेको थियो, यही विवादमा केही वर्षयता बिचौलिया छिरेका थिए । हाल भोगचलन गर्दै आएकाहरूको जग्गा स्वार्थ समूहको डिजाइनबमोजिम अर्कैलाई दर्ता गरिदिने नाममा मन्त्री अधिकारीले घुस खाएको आरोप लागेको हो । नयाँ पत्रिकाको सम्पर्कमा आएका स्वार्थ समूहका व्यक्तिहरूले पनि भूमि व्यवस्थामन्त्री अधिकारीले जग्गा दर्ता गरिदिने भन्दै रकम बुझेको दाबी गरेका छन् । सार्वजनिक अडियोमा पनि पैसा जेब्रा झोलामा हालेरध मन्त्री अधिकारीलाई बुझाएको सुनिन्छ ।

सार्वजनिक भएको अडियोमा मन्त्री अधिकारीले ३२ लाख लिएको दाबी बिचौलियाले गरेका छन् । अडियोमा बलराम (मन्त्री अधिकारी)ले ३२ र भूमिसचिव (तत्कालीन सचिव अर्जुन पोखरेल) ले पाँच लाख रुपैयाँ बुझेको दाबी गरिएको छ । ‘यताउता गरेर डेढ (डेढ करोड) जति गइसकेको’ दाबी अडियो संवादमा गरिएको छ । सचिव पोखरेलले नयाँ पुलस्थित होटेलबाट दुइटा वनकुखुरा, १० हजारका विभिन्न सामान, भिआइपी रक्सी र लगभग पाँच लाख रुपैयाँ लगेको अडियोमा भनिएको छ ।

आफू मन्त्री भएपछि अधिकारीले न्युजिल्यान्डमा बस्ने छोरा मनोजलाई पैसा उठाउन नेपाल बोलाएको दाबी पनि अडियोमा गरिएको छ । ‘बुवा मन्त्री भएपछि नेपाल बस्न थाल्यो, यसैयसै (पैसा) उठाउन लाग्यो,’ मनोजबारे अडियोमा भनिएको छ । छोरा मनोजले पैसा उठाउने गरेको अडियोमा सुनिन्छ । मन्त्री अधिकारीबाट पटक–पटक पैसाको माग हुने गरेको दाबी पनि अडियोमा गरिएको छ । मन्त्रीका निजी सचिव अनिल मरासिनी पनि तानिएका छन् ।

भूमि व्यवस्थामन्त्री अधिकारीले भने यसको खण्डन गरेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले घुस लिएको कुरा गलत भएको बताए । ‘कसले केके भन्छ । ममाथि आरोप लाग्न यस विषयमा म बोलेको, डिल गरेको वा भेटेको हुनुपर्छ । कसले कहाँ, कसलाई दियो, कसले दियो, कसले के भने त्यसको पछि म लाग्दिनँ । ३२ लाखबारे मैले जानेको, बुझेको र डिल गरेको केही छैन । हल्लाको पछि म लाग्दिनँ । कसैले सरुवा थमाइदिएन भनेर आरोप लगाएर हुन्छ र ! कसैले जाँड खाएर कुरा गरेको आधारमा हुन्छ ? भन्नेले त केके भन्छन्, कसैले मुछ्दैमा हुँदैन,’ उनले भने । छोराबारेको आरोपमा उनको भनाइ छ, ‘मेरो छोरा नेपाल आउन नपाउने ? ऊ घुम्न जान नहुने ?’

मन्त्री अधिकारीले भक्तपुर मालपोत प्रमुख बनाएर पठाएका आचार्य साढे २४ लाख घुससहित रंगेहात पक्राउ 

मंगलबार साढे २४ लाख घुस लिँदै गर्दा पक्राउ परेका भक्तपुर मालपोत कार्यालयका प्रमुख कुमार आचार्यलाई पनि मन्त्री अधिकारीले नै रोजेर पठाएका थिए ।

भूमि व्यवस्थामन्त्री अधिकारीले सरुवा गरेर पठाएका भक्तपुरको मालपोत प्रमुख २४ लाख घुससहित रंगेहात पक्राउ परेका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मालपोत कार्यालयमा रंगेहात पक्राउ गरेर प्रमुख कुमार आचार्यलाई नियन्त्रणमा लिएको हो । चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गा मोही र तल्सिङको लगत कट्टा गरी जग्गा मोहीका नाममा धनीपुर्जा बनाउने प्रयोजनका लागि घुस लिइसकेको अवस्थामा अख्तियारले प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले मालपोत प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र कार्यालय सहयोगी अधिकारीबाट एउटा मोबाइलसहित २४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

आचार्यलाई गत वर्ष मन्त्री अधिकारीले नै मालपोत प्रमुख बनाएर भक्तपुर सरुवा गरेका थिए । मन्त्रालयअन्तर्गतका कार्यालयकाध उपसचिव र सहसचिवको सरुवा मन्त्रालयले गर्छ । आचार्य विवादित कर्मचारी हुन् । यसअघि रुपन्देहीको मालपोत कार्यालयमा कार्यरत रहँदा उनी अख्तियारमा कारबाहीका लागि सिफारिस भएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरको करिब ६ बिघा सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएपछि उनीउपर रुपन्देही जिल्ला प्रशासनले स्पष्टीकरण नै सोधेको थियो । तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनलाई १० बुँदे स्पष्टीकरण सोधेका थिए । उनीमाथि थप कारबाहीका लागि उनले अख्तियारमा पत्राचारसमेत गरेका थिए ।

सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर मुआब्जाको दाबी गर्न आउँदा भेउ पाएर प्रमुख जिल्ला अधिकारी अर्यालले उनलाई स्पष्टीकरण सोधेका थिए । आचार्यमाथि थप छानबिन र कारबाहीका लागि अख्तियारमा सिफारिस गरिएको थियो । तर, उनीविरुद्ध अख्तियारले कुनै कारबाही गरेन । उनै आचार्यलाई भूमि व्यवस्थामन्त्री अधिकारले भक्तपुर मालपोतमा सरुवा गरेका थिए । उनी मन्त्रीका विश्वास पात्र मानिन्छन् । भक्तपुर मालपोत आकर्षक कार्यालयमा चिनिन्छ । भक्तपुरको मालपोत प्रमुखको सरुवासम्बन्धी विषयमा मन्त्री अधिकारीले सरुवामा मन्त्रीको भूमिका नहुने दाबी गरे । ‘देशभर कर्मचारीको सरुवा नियमित प्रक्रियाअनुसार हुन्छ । अवधि पुगेपछि सरुवा हुने व्यवस्था छ । यस्तो सरुवा सम्बन्धित सचिवको अधिकार क्षेत्रमा पर्छ । मन्त्रीको प्रत्यक्ष भूमिका हुँदैन,’ उनले भने ।

तर, यस प्रकरणमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले नै प्रश्न उठाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यस्तो ‘हिम्मत’सँग कायल नभइरहन सकिएन । घुसकाण्डमा कर्मचारीका मन्त्री राजीनामा दिन्छन्, विभागीय मन्त्री (भूमिसुधार) मैले खाएको छैन भन्नमै असिनपसिन छन् । यस्तो वेलामा छेउको जिल्ला भक्तपुरमा मन्त्रीले छानेर पठाएका मालपोत प्रमुख हाकाहाकी साढे २४ लाख रकम असुल्छन् । यो उनको मात्रै हिम्मत होला त ? यस्तो काम चुपचाप कति भइरहेको होला, मालपोत र नापीमा ?’

साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu