Connect with us
Kapilvast Forest

भदौदेखि काठमाडौंका सार्वजनिक स्थलमा धूम्रपान गरे पाँच सय जरिवाना

२०८२, १४ श्रावण मंगलवारमा प्रकाशित

काठमाडौं-

काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा धूम्रपान गर्नेलाई जरिवाना तिराउने भएको छ । महानगरले नयाँ आर्थिक ऐनमा सो व्यवस्था गर्दै जरिवाना तिराउने नियम कार्यान्वयनमा ल्याएको हो । यसअघि महानगरले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री–वितरणमा रोक लगाउने योजना अघि सारे पनि त्यसको कार्यान्वयन भने हुन सकेको छैन । यद्यपि, सार्वजनिक स्थलमा धूम्रपान गर्दा प्रत्येकपटक पाँच सयका दरले जरिवाना तिराउने नियम भने महानगरले चालु आर्थिक वर्ष ०८२/८३ देखि कार्यान्वयनमा ल्याएको हो । यो नियम १ साउनदेखि लागू भइसकेको छ । सार्वजनिक स्थानमा खुलेआम हुने धूम्रपान रोक्न महानगरपालिकाले नगर प्रहरीसमेत परिचालन गरेको छ । धूम्रपान गरेको उजुरी तथा प्रमाण भेटिएमा नगर प्रहरीले चिट काट्नेछ ।

तर, सुरुमा नगर प्रहरी सम्झाइ–बुझाइसमेत गर्नेछ । नगर प्रहरी परिचालन गरेर धूम्रपान गर्नेलाई कारबाही गर्ने नियम कार्यान्वयनमा ल्याइएको नगर प्रहरी उपरीक्षक मनोजप्रसाद लामिछानेले बताए । उनका अनुसार यो नियम कार्यान्वयनमा आइसकेपछि पनि १ भदौसम्म सचेत गराउने र अनुगमन मात्रै गरिनेछ । १ भदौदेखि भने धमाधम चिट काटिनेछ । आइतबारदेखि १५ जनाको नगर प्रहरी टिमले धूम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन रोक्न गस्तीसमेत थालेको छ ।

महानगरपालिकाका राजस्व विभाग प्रमुख दीपक अधिकारीले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ का आधारमा यस्तो नियम लागू गरिएको बताए । ‘स्वास्थ्यसँँग जोडिएकाले यो नियम कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालय र जनस्वास्थ्यविद्बाट अनुरोध पनि आएको थियो, कतिपय कुरा कानुनभन्दा पनि समाज निर्माणका लागि गर्नुपर्छ,’ उनले भने, ‘१ साउनदेखि यो नियम कार्यान्वयनमा आइसकेको छ, नगर प्रहरीले कारबाही पनि गरिरहेको छ ।’

महानगरका यी ठाउँमा पाइनेछैन धूम्रपान गर्न 

सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ ले नै सार्वजनिक स्थल भनेर किटान गरेको छ । ऐनले सार्वजनिक स्थलमा धूम्रपान निधेष गर्ने व्यवस्था गरे पनि स्वास्थ्य मन्त्रालयले कार्यान्वयन गर्न सकेको छैन ।

त्यसैलाई आधार मानेर महानगरपालिकाले धूम्रपानलाई कडाइ गर्न लागेको हो । ऐनअनुसार सार्वजनिक स्थल भन्नाले राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कल–कारखानाका कार्यस्थल, चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटेल, मोटेल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीसाधन, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, छात्र वा छात्रावास तथा अतिथिगृह, रंगशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल, सार्वजनिक सवारीका प्रतीक्षालय तथा टिकट काउन्टर, पार्क, सडक चोक, पोखरी, सम्पदालगायत क्षेत्र पर्छन् ।

साभार नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu