Connect with us
Kapilvast Forest

बुटवलमा सार्वजनिक जग्गा बिक्री

२०८२, २१ श्रावण मंगलवारमा प्रकाशित

बुटवल उपमहानगरपालिका–१७ रानीगञ्जमा बुद्धमूर्ति राखिएको सार्वजनिक जग्गा बिक्री विरुद्धको मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय रमेश ढकाल र सागर विष्टको संयुक्त इजलासले व्यक्तिका नाममा बिक्री भएको उक्त एक कठ्ठा जग्गा सार्वजनिक भएको ठहर गर्दै विपक्षीलाई यस सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न अन्तरिम आदेश दिएका हुन् ।

बुटवल–१७ रानीगञ्जको जनशक्ति टोल विकास संस्थाका दिवाकर पौडेलले समुदायले बुद्ध मन्दिर समेत बनाएर संरक्षण गरी राखेको जग्गा बिक्री गरेको र भवन निर्माण गरेको भन्दै भवन निर्माण रोक्न निषेधाज्ञा माग गर्दै अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त मुद्दामा न्यायाधीश रमेश ढकालले सार्वजनिक जग्गा बिक्री गर्न नपाइने, कसैले कब्जा गर्न नपाइने, संचरना निर्माण गर्न रोक लगाउनुपर्ने र निर्माण भएको भए भत्काउनुपर्ने कानूनी व्यवस्था रहेको रायसहित विपक्षीसँग लिखित जवाफ मागेका हुन् ।

‘रिट निवेदनमा उल्लेखित जग्गा नेपाल सरकारको नाउँमा रहेको र २०७३ बैशाख २९ गतेको निर्णयबाट औद्योगिक क्षेत्र व्यवस्थापन लि. लाई प्रदान गरिएको देखिन्छ । जग्गा नापजाँच ऐन २०१९ को दफा २ को खन्ड (ङ० र (च) , मालपोत ऐन २०३४ को दफा २ को खण्ड (ख २) र (ख ३), मुलुकी देवानी संहिता २०७४ का २९९ र ३०० एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा १० को उपदफा (२) समेतका प्रचलित कानूनी व्यवस्थाहरुको आलोकमा उक्त जग्गा सरकारी/सार्वजनिक जग्गाको परिभाषा भित्र पर्ने विषयमा कुनै विवाद हुन सक्दैन’, आदेशमा उल्लेख छ ।

आदेशमा सार्वजनिक जग्गाको संरक्षणको विषय अत्यन्तै संवेदनशील रहेको र उक्त कित्ता नम्बर ४७ को सरकारी जग्गाको संरक्षण गर्ने दायित्व बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको समेत रहेको उल्लेख छ ।

उक्त मुद्दामा रिट निवेदकको पक्षबाट अधिवक्ता विमल गिरी र अनुप पोखरेल, बुटवल उपमहानगरका तर्फबाट अधिवक्ता घनश्याम पन्त र विपक्षीका तर्फबाट अधिवक्ता घनश्याम पन्तले बहस गरेका थिए ।

२०६८ साल असार ७ गते तत्कालीन मोतिपुर गाउँ विकास समितिले उक्त स्थानको एक कठ्ठा जग्गामा बुद्ध मूर्ति स्थापना गर्न सिफारिश गरेको थियो ।

सोही सिफारिशका आधारमा त्यहाँको बुद्धपथमा रहेको जग्गा संरक्षण गरी पर्खाल लगाएर बुद्धको मूर्ति स्थापना गरि लामो समयदेखि संंरक्षण हुंदै आएको थियो ।

तर जग्गा कारोबार गर्ने केही व्यक्तिहरूले अनधिकृत रूपमा उक्त जग्गा दुई महिलालाई बेचेको पत्ता लागेपछि जग्गा संरक्षणका लागि स्थानीय दिवाकर पौडेल अदालत पुगेका थिए ।

पौडेलका अनुसार उक्त सार्वजनिक जग्गा एक लाखमा खरिद गरेर २५ लाखमा बिक्री भएको थियो ।

तत्कालीन अवस्थामा श्री ५ को सरकारको नाममा रहेको साविक मोतिपुर गाविस हाल बुटवल उपमहानगरपालिका–१७ मा पर्ने कित्ता नम्बर ४७ को जग्गा मध्ये १० बिघा ९ कट्ठा जग्गा केही व्यक्तिले आफ्नो नाउँमा दर्ता गराउने प्रक्रिया अन्तिम चरणमा पुगेका बेला स्थानीयले अख्तियारमा मुद्दा दिएर सार्वजनिक कायम भएको उक्त जग्गामध्ये ३ बिघा ४ कट्ठा जग्गामा हाल ३०० घरधुरीको बसोबास रहेको र एक शिवालय र एक बुद्ध मूर्ति रहेको जनशक्ति टोल अन्तर्गत जनसंघर्ष टोल समितिका उपाध्यक्ष केशरबहादुर खड्काले जानकारी दिए ।

गत वर्ष रानीगञ्जमै सार्वजनिक जग्गामा अनधिकृत रुपले भवन बनाउन भन्दै बोर्ड राखेका एक दर्जन संस्थाका बोर्ड तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीयको उजुरीका आधारमा तत्कालै हटाइदिएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu