नास्टको अध्यक्षमा कपिलवस्तुका मोतीलाल नियुक्त
कपिलवस्तु-
कपिलवस्तुको बाणगंगा नगरपालिका–८ निवासी प्रा. डा. मोतीलाल शर्मा भुषाल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) सेवा आयोगको अध्यक्ष पदमा नियुक्त भएका छन्।
देशको विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको नीति निर्माण र प्रवर्द्धन गर्ने महत्वपूर्ण निकाय नास्टको नेतृत्वका लागि नियुक्त भएका भुषाललाई हालै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सो जिम्मेवारी दिइएको हो।
शिक्षण, अनुसन्धान र नेतृत्व क्षमतामा लामो अनुभव रहेका भुषाल यसअघि त्रिभुवन विश्वविद्यालयको उपकुलपति पदका लागि समेत एक बलियो दावेदार मानिन्थे।
नास्टको अध्यक्षमा नियुक्त भएसँगै उहाँबाट वैज्ञानिक अनुसन्धान, नवीन प्रविधिको विकास तथा देशको विज्ञान नीति सुदृढीकरणमा योगदान हुने अपेक्षा गरिएको छ।
स्थानीय तहदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक र वैज्ञानिक क्षेत्रसम्म क्रियाशील भुषालको नियुक्तिलाई कपिलवस्तु क्षेत्रले गर्वका रूपमा लिएको छ। उहाँको सफल कार्यकालको लागि स्थानीयवासी, शैक्षिक क्षेत्रका प्रतिनिधिहरू तथा शुभेच्छुकहरूले शुभकामना व्यक्त गरेका छन्।