बुटवल –
रुपन्देहीको भैरहवामा अत्यन्तै विषालु सर्प रसेल्स भाइपर फेला परेको छ । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै उक्त सर्प देखिएपछि स्थानीयले सर्प उद्धारकर्ता तिलोत्तमाका विशाल पाण्डे र बुटवलका नवीन पौडेललाई खबर गरेका थिए ।त्यसपछि भैरहवा पुगेर उक्त सर्पलाई मानव वस्तीबाट टाढा सुरक्षित स्थानमा लगेर छाडेको उद्धारकर्ता विशाल पाण्डेले बताए ।

नेपालबाहिर यो सर्प भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र दक्षिण–पूर्वी एसियाका केही भागमा पनि पाइन्छ ।यसको नाम Russell ब्रिटिश प्राणी विज्ञ Patrick Russell को नामबाट राखिएको हो ।यो सर्प प्राय: धानका खेत, घाँसे मैदान, झाडी वरिपरि र घर वरिपरिको खुला ठाउँमा विशेष गरी बेलुकीपख वा राति देखिने भएकाले यसको डसाइको जोखिम हुने भएकाले उक्त समयमा सावधानी अपनाउनुपर्ने पाण्डेले सुझाए ।सर्प उद्धारकर्ता पाण्डे र पौडेलले यो वर्ष रुपन्देहीमा एउटै घरबाट २३ वटासम्म विषालु गोमन सर्पसहित तीन सय बढी सर्प घरबाट उद्धार गरेर सुरक्षित स्थानमा छाडेका छन् ।