शिवराजमा दर खाने नाममा सरकारी रकम दुरुपयोग भएको छ: सभापती केसी
कपिलवस्तु- नेपाली कांग्रेस क्षेत्रीय सभापति गोविन्द्र केसीले शिवराज नगरपालिका नगरप्रमुख अजय थापामाथि बजेट दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
भदौ ४ गते नगरपालिकाले दुई लाख रुपैयाँ खर्च गरेर ‘दर खाने कार्यक्रम’ आयोजना गरेपछि स्थानीय स्तरमा विरोध सुरु भएको हो ।
कार्यक्रमप्रति आपत्ति जनाउँदै नेता केसीले नगरपालिकाले आफ्ना नजिकका व्यक्तिलाई मात्रै लक्षित गरेर कार्यक्रम गरेको भन्दै प्रश्न उठाउनुभएको छ ।
सामाजिक सन्जालमा लेख्दै केसीले पालिकालाई ध्यानाकर्षण गराउनु भएको छ ।
“नगरपालिकामा ११ वटा वडा छन् भन्ने कुरा थाहा नभएकै होट कि भन्ने लाग्छ । आफ्ना सीमित व्यक्तिहरू भए पुग्छ भन्ने सोच भएको हो कि ?” नेता केसीले कटाक्ष गर्दै भन्नुभयो, “राजस्व त सबैले बुझाएका छन् महोदय ।”
उहाँले शिवराजका जनताले तिरेको कर दुरुपयोग हुन थालेको आरोपसमेत लगाउनुभयो । दर खाने कार्यक्रम राख्ने इच्छा राम्रो भए पनि सबैलाई समेट्न नसक्ने स्थिति रहँदा आफैंले व्यक्तिगत खर्चमा सीमित व्यक्तिलाई खुवाउने व्यवस्था गर्न सकिने सुझाव उहाँले दिनुभयो ।
यस विषयमा नगरप्रमुख अजय थापाको कुनै धारणा भने सार्वजनिक भइसकेको छैन ।
