Connect with us
Kapilvast Forest

एससिओ सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली शनिबार चीन जाँदै

२०८२, १२ भाद्र बिहीबारमा प्रकाशित

काठमाडौं-

प्रधानमन्त्री केपी ओली सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ)को सम्मेलनमा सहभागी हुन शनिबार चीन जाने भएका छन् । चीनको तियान्जिन सहरमा आइतबार र सोमबार एससिओ र एससिओ प्लसको शिखर सम्मेलन आयोजना हुँदै छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रले बुधबार सार्वजनिक गरेको चीन भ्रमणको कार्यतालिकामा प्रधानमन्त्री ओलीकोे तियान्जिन सहरमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग र बेइजिङमा उपराष्ट्रपति हान झेङसँग भेटवार्ता तय भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार तियान्जिनमा एससिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । परराष्ट्रको विज्ञप्तिमा भनिएको छ, ‘शिखर सम्मेलनको अवसरमा सहभागी अन्य राष्ट्रप्रमुखहरूसँग पनि प्रधानमन्त्री ओलीले भेटवार्ता गर्नुहुनेछ ।’ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत सहभागी हुने कार्यक्रम छ ।शिखर सम्मेलनकै क्रममा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबिच पनि भेटवार्ताको तयारी छ । मंगलबार प्रधानमन्त्री ओलीले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् ।

बुधबार बेइजिङमा आयोजित जापानी आक्रमणविरुद्ध चिनियाँ जनताको युद्ध र फासीवाद युद्धमा विजयको ८०औँ वार्षिकोत्सवको स्मृतिमा आयोजित सैन्य परेडमा पनि प्रधानमन्त्री ओली सहभागी हुने परराष्ट्रले जनाएको छ । त्यही दिन चिनियाँ राष्ट्रपति सीले सैन्य परेडमा सहभागी विदेशी पाहुनाहरूको सम्मानमा आयोजना गर्ने दिवाभोजमा सहभागी भएर प्रधानमन्त्री ओली स्वदेश फर्किनेछन् ।नेपालले चीनका चार सामुद्रिक बन्दरगाहमा पहुँच पाएकोमध्ये एउटा तियान्जिन पनि हो । दुई देशबिच पारवहन तथा यातायात सम्झौताअनुसार तियान्जिन, लियानयुङ, झानजियान र सेन्झेन बन्दरगाह नेपालले उपयोग गर्न पाउनेछ ।

यसैगरी, परराष्ट्रले प्रधानमन्त्रीको चीन भ्रमण टोलीका सदस्यहरूको नाम सार्वजनिक गरेको छ । प्रधानमन्त्रीको टोलीमा उनकी श्रीमती राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, संघीय सांसद पूर्णबहादुर खड्का र छविलाल विश्वकर्मा तथा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, परराष्ट्रका कर्मचारी सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीले गत वर्ष मंसिरमा चीनको औपचारिक भ्रमण गरेका थिए ।

ल्हासाका महावाणिज्यदूत र तिब्बतको वैदेशिक मामिला कार्यालयका महानिर्देशकबिच भेट
लिपुलेकबारे भएको भारत–चीन सहमतिप्रति महावाणिज्यदूतको चासो, तत्कालै विदेश मन्त्रालयमा पठाइदिने महानिर्देशकको जवाफ
ल्हासास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले चीनको सिचाङ (तिब्बत)स्वायत्त क्षेत्रका वैदेशिक मामिला कार्यालयका महानिर्देशक पाओ तिङसँग लिपुलेकबारे भएको पछिल्लो भारत–चीन सहमतिप्रति बुधबार चासो जनाएका छन् । नेपाली महावाणिज्य दूतावासमा भएको भेटमा आफूले नेपालको चासो व्यक्त गरेको र महानिर्देशक पाओले उक्त चासो विदेश मन्त्रालयमा पठाइदिने जवाफ दिएको महावाणिज्यदूत निरौलाले बताए ।

‘हालसालै चीन र भारतबिच लिपुलेक नाका सञ्चालनका सन्दर्भमा भएको सहमतिमा मैले चासो व्यक्त गरेँ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको स्पष्ट पारेँ । नेपाल र चीन दुवै राष्ट्रले हालसम्म एक–आपसको सार्वभौमसत्ताको सम्मान गरिरहेको परिप्रेक्ष्यमा सोहीअनुसार व्यवस्थापनका लागि मैले अनुरोध पनि गरेँ,’ महावाणिज्यदूत निरौलाले ल्हासाबाट टेलिफोनमा भने, ‘महानिर्देशक तिङले नेपालको चासो तत्कालै विदेश मन्त्रालय पठाइदिनेछु भन्ने जवाफ दिनुभयो ।’

महावाणिज्यदूत निरौलाले भेटमा आफूले ल्हेन्दे खोलामा गएको बाढीका कारण बगाएको नेपाल–चीन मैत्री पुल तीव्र रूपमा निर्माण गर्न तथा पुल नबनुन्जेल ह्युमपाइप राखेर अस्थायी रूपमा भए पनि सडक सञ्चालन गर्न र त्यहाँ गोदाम रहेका सामान नेपाल लैजान सहजीकरणका लागि अनुरोध गरेको बताए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu