यूएईपछि नेपालीलाई भिसामा कडाइ गर्दै मलेसिया, कतार र साउदी
काठमाडौं-
युनाइटेड अरब इमिरेट्स ९यूएई० ले नेपालीलाई भिसामा कडाइ गरेसँगै मलेसिया सहितका देशले पनि कडाइ गर्न थालेका छन् ।२३ र २४ भदौमा नेपालमा भएको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थिति मध्यनजर गर्दै यूएईले १५ सेप्टेम्बरदेखि भिजिट र वर्किङ भिसामा कडाइ गर्दै आएको छ । अहिले यूएईसँगै मलेसिया, साउदी अरब, कतार लगायत देशले समेत भिसा दिन कडाइ गर्न थालेका हुन् ।नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सचिव कुन्छादोर्जे डिम्दोङले मलेसिया सहित अन्य खाडी देशले समेत भिसा दिन कडाइ गर्न थालेको बताए ।
यूएईपछि मलेसिया, कतार, साउदी लगायत देशले समेत सहज भिसा दिन छाडेको उनको भनाइ छ । ‘दुईरतीन दिनयता अनेकन कागजात मागिरहेका छन् । प्रहरी रिपोर्ट पनि तत्कालको मागिरहेका छन् । कतिपयको रिजेक्ट पनि भइरहेको छ,’ डिम्दोङले भने ।यूएईले भिजिट भिसामा पूर्णरूपमा रोक लगाएको छ भने वर्किङ भिसामा समेत कडाइ गर्दै आएको छ । जेनजी आन्दोलनपछि जेलबाट भागेका कैदीहरू आफ्नो देशमा पस्न सक्नेतर्फ सचेत हुँदै यूएईले भिसामा कडाइ गरेको जनाइएको छ । तर, यूएईले यसबारे कुनै आधिकारिक जानकारी भने गराएको छैन ।
यूएईले आन्तरिक व्यवस्थापन कारण देखाउँदै भिसामा रोक तथा कडाइ गरेको समेत भन्ने गरिएको छ । त्यससँगै सुरक्षा चुनौतीका कारण समेत रोक लगाएको यूएईका व्यवसायीहरूले नेपाली व्यवसायीहरूलाई जानकारी गराएका छन् ।यूएईपछि मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेको मेननपावर व्यवसायीहरूको भनाइ छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मलेसिया, साउदी र कतारले समेत भिसामा कडाइ गरेका छन् ।
नेपालीलाई भिसामा कडाइ गरेपछि परराष्ट्र मन्त्रालयले राजदूतावासहरूसँग बैठक आह्वान गरेको छ । भोलि मंगलबार राजदूतावासहरूसँग मन्त्रालयले छलफल गर्न लागेको हो । पछिल्लो समय उत्पन्न परिस्थितिका विषयमा छलफल हुनेछ ।मेननपावर व्यवसायीहरूका अनुसार मलेसिया, कतार र साउदीले समेत वर्किङ भिसामा जाने श्रमिकका हकमा विभिन्न कागजात माग गरिरहेका छन् । विगतको तुलनामा पछिल्ला दिनमा सहज भिसा उपलब्ध नभएको डिम्दोङले बताए ।
यूएईलाई देखेर अन्य देशले समेत भिसामा कडाइ गरेको हुन सक्ने उनको अनुमान छ ।यूएईमा भिजिट भिसा बन्द गरेपछि नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई समेत भिसा दिन अस्वीकार गरेको थियो । वेस्ट इन्डिजसँगको टी–२० आई शृङ्खला खेल्न यूएई जान लागेका खेलाडीलाई भिसा दिन अस्वीकार गरेको थियो । पछि भिसा पाएका थिए ।यूएईले भिसामा कडाइ गर्दा भिजिट भिसामार्फत गएकाहरू समस्यामा परेका छन् । नेपालबाट वैदेशिक रोजगारीका यूएई जाने दैनिक ५ सयभन्दा बढी नेपाली अन्योलमा परेका छन् ।
यूएईले वर्किङ भिसाका हकमा भने तत्कालको प्रहरी रिपोर्टका आधारमा जान दिइरहेको र नयाँका हकमा भने अस्वीकृत भइरहेको मेननपावर व्यवसायीहरूको भनाइ छ ।मलेसिया, कतार र साउदीका हकमा समेत हिजोआज अस्वीकृत हुने दर बढेको डिम्दोङको भनाइ छ । उनका अनुसार भिसाका लागि आवेदन दिँदा समेत थप कागजात माग्ने गरिएको छ ।नेपालीको प्रमुख श्रम गन्तव्य मुलुक रहेका यूएई, मलेसिया, साउदी र कतारले नेपालको सुरक्षा चुनौती मध्यनजर गर्दै भिसामा कडाइ गरेको हुन सक्ने व्यवसायीहरूको भनाइ छ ।
यूएईका व्यवसायीहरूले नेपाली मेननपावर व्यवसायीलाई दिएको जानकारी अनुसार पहिचान, नागरिकता, भन्सार र बन्दरगाह सुरक्षा कारण देखाउँदै संघीय प्राधिकरणले लेनदेन अस्वीकार गरेको जनाएका छन् ।जसका कारण भिसाका लागि दिइएको आवेदन अस्वीकृत गरिएको जानकारी आइरहेको छ । भिसाका हकमा ‘यो व्यक्तिका लागि भिसा जारी गर्न सकिँदैन’ भनेर अस्वीकृत गर्दै आएको छ । पछिल्लो समय भिसा आवेदन दिएका सबैको अस्वीकृत भइरहेको डिम्दोङले बताए ।
यूएईका हकमा नयाँ भिसा जारी नभए पनि यसअघि नै भिसा जारी भइसकेका हकमा भने जान पाइरहेका छन् । यूएईले सुरक्षा कारण देखाउँदै भिसा दिन बन्द गरेसँगै दैनिक ५ सयभन्दा बढी नेपाली यूएई जानबाट रोकिएका छन् ।गत वर्ष सबैभन्दा बढी नेपाली यूएई नै गएका थिए । यो आर्थिक वर्ष दुई महिनामा मात्रै ५० हजार नेपाली रोजगारीका लागि यूएई गएका छन् । यूएईले ३० भदौदेखि भिसा दिन रोकेसँगै नेपाली अन्य मुलुकको विकल्प खोज्न थालेका हुन् ।
गत वर्ष ४९ हजार १ सय ८७ जनाले मलेसियाका लागि श्रम स्वीकृति (पुनस् श्रम स्वीकृति सहित) लिएका थिए । त्यस्तै १ लाख ५२ हजार ५ सय ५७ जनाले साउदी र ४२ हजार ९ सय ८६ जनाले कतारका लागि श्रम स्वीकृति पुनस् श्रम स्वीकृति सहित लिएका थिए ।