Connect with us
Kapilvast Forest

दशैंमा आँसु पुछ्दै परदेशिँदै नेपाली

२०८२, १६ आश्विन बिहीबारमा प्रकाशित

दशैंको बेला पनि वैदेशिक रोजगारीका लागि हजारौं नेपाली घर छोडेर विदेशिन बाध्य भएका छन्।
जेनजी युवा आन्दोलनपछि युवाहरूले स्वदेशमै अवसरको आशा राखे पनि निराश हुँदै पुनः विदेशिन थालेका छन्।
परिवारसँग दशैं मनाउन नपाएर रोएका नेपालीहरूले भविष्यका लागि विदेश जान बाध्यता स्वीकार गरेका छन्।
१६ असोज, काठमाडौं । देशभर दशैंको रौनक छ । घर–घरमा टीका र जमराको तयारी चलिरहेको छ । सात समुद्र पारी पुगेका नेपालीहरू पनि दशैं मनाउन सकेसम्म घर फर्किरहेका छन् । तर, दशैंकै बेला घर छोडेर उल्टै परदेशिनेहरूको संख्या पनि उत्तिकै छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिन्छन्– उन्नत भविष्यको खोजीमा आँखाभरि आँसु पारेर वैदेशिक रोजगारी वा अध्ययनतर्फ लागेका नेपालीहरू ।

‘दशैं भनेको त परिवारसँगै मनाउने चाड हो,’ उनीहरू भन्छन्, ‘तर बाध्यताले गर्दा घरमा एकछिन पनि बस्न पाएका छैनौं ।’

गत भदौं २३ र २४ गते नेपालमा चलेको जेनजी युवा आन्दोलनपछि स्वदेशमै केही गर्ने अवसर पाइने आश आम युवामा थियो । तर, त्यो आशा एक महिना नबित्दै निराशामा परिणत भइरहेको छ । र युवाहरु फेरि खाडीमा पसिना बगाउन हिँड्न थालेका छन् ।

२६ वर्षका कृष्ण रानाको अपूरो सपना

बाँकेका कृष्ण राना भर्खर २६ वर्षका भए । इकोनोमिक्स र पोलिटिकल साइन्समा ब्याचलर सकेर राम्रो काम खोजिरहेका थिए । तर, नेपालमा अवसर नपाएको भन्दै उनी रोमानिया उडे ।

‘देश विकास हुन अझै ५० वर्ष लाग्छ भन्ने लाग्छ,’ एयरपोर्टमा भेटिएका उनले भने, ‘बाबु–आमालाई भविष्यमा सहारा दिनु छ । यहाँ केही सम्भावना देखिएन, त्यसैले बाध्य भएर जान लागेँ ।’

कृष्णलाई सबैभन्दा पीडा दशैंको बेला घर छोड्नुपरेकोमा छ । ‘टीका पनि लगाउन पाइएन । मन रोएर पनि भविष्यका लागि खुशी भएर जानुपरेको हो,’ उनले भने ।

उनी जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौंका सडकमा नेपालको राष्ट्रिय झण्डासहित उत्रिएका थिए । व्याप्त भ्रष्टाचार अन्त्य गर्न आफू जस्तै युवाहरुले थालेका आन्दोलनमा उनी ज्यानको बाजी थापेर होमिएका थिए । तर, आन्दोलनको राप सेलाउन नपाउँदै उनैले वैदेशिक रोजगारीका लागि रोमानियाको बाटो समाएका हुन् ।

देशमै बसेर केही गर्न सकिने अवस्था बनेको खण्डमा चाँडै स्वदेश फर्किने संकल्पसहित उनी विदेशीका हुन् ।

नेपालमा काम नपाएपछि विदेशिन बाध्य भएँ : महतो

चितवनका २८ वर्षीय विकास महतो पनि रानासँगै रोमानिया लागेका छन । वेयरहाउसमा काम गर्न रोमानियातिर लागेका उनलाई समेत नेपालमा काम नपाउँदाको तितो अनुभव छ ।

विकास महतो
‘नेपालमा काम छैन । बेरोजगारीले विदेशिन बाध्य भएको हुँ,’ उनले भने । दशैंमा घरमै बस्न पाए हुन्थ्यो भन्ने लाग्छ तर, बाध्यता अगाडि मन मानेन ।

नेपालमा काम पाउनु भनेको फलामको चिउरा चपाउनु सरह भएको उनको बुझाइ छ । १०/१५ हजारको जागिर खाएर कसरी भविश्य बनाउन सकिने भन्दै उनले प्रश्न गरे ।

‘नेपालमा लेबर काम गर्दागर्दै थाकिसकेँ । थोरै पैसामा काम गरेर जिन्दगी चलाउन गाह्रो हुने भएपछि चाडपर्व नभनी हिडेँ,’ उनले भने ।

विदेशिन बाध्य भएँ : राजु घर्ती

गोरखाका राजु घर्तीले झन्डै १५ वर्ष साउदी अरबमै पसिना बगाएका छन् । पत्नी बिरामी भएपछि दुई महिनाको बिदामा घर आएका थिए । तर, अब बाध्यताले दशैंको टीकाको अघिल्लो दिन नै उड्नुपर्यो ।

राजु घर्ती
‘घरमा श्रीमती बिरामी भएपछि इमरजेन्सीमा घर आएको थिएँ । श्रीमतीको उपचार गरेर फर्किने बेला म आफैं बिरामी भएँ । अहिले पनि बिरामी अवस्थामै जान लागेको छु । कम्पनीले आऊ भनेपछि जानुपरिहाल्यो,’ उनले आफ्नो बाध्यता सुनाए, ‘भनेको समयमा गएन भने कम्पनीले निकालिदिन्छ । त्यही भएर बिरामी भईभई पनि जान लागेको ।’

घरमा श्रीमती र छोराछोरीले नजानु भनेका थिए । तर, बाध्यताको अगाडि उनी श्रीमती तथा छोराछोरीसँग निरीह बन्न पुगे । ‘नजानु भनेका छन् तर, भाग्य नै यस्तो रहेछ । आफ्नो जीवन परदेशमै बिताए पनि सन्तानको भविष्य नेपालमै उज्ज्वल होस् भन्ने चाहना छ,’ उनले भने ।

नेपालमै बस्छु भन्ने सोच बदलियो : अताउल्ला खान

६० वर्षीय अताउल्ला खान २७ वर्षदेखि विदेशमा काम गर्दै आएका छन् । दुई वर्षअघि दुबईमा कम्पनी खोलेका उनी यसपालि नेपालमै स्थायी बस्ने सोचले घर फर्किएका थिए । तर, नेपालको अवस्थाले उनलाई निराश बनायो ।

‘जेनजी आन्दोलनले नेपाललाई ५० वर्ष पछाडि धकेल्यो,’ उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्ने निहुँमा सिंहदरबार जलाउने, संसद भवन जलाउने काम देख्दा देश सुध्रिन्छ भन्ने आशै हरायो ।’
अताउल्ला खान
‘कति विदेशमा बस्नु, अब नेपालमै बस्छु भन्ने सोचसहित आएको थिएँ । तर, नेपालको हालत देखेर फर्किन बाध्य बनायो,’ उनले भने, ‘भ्रष्टाचार अन्त्य गर्ने भनेर युवाहरुले जुन खालको आन्दोलन गरेका थिए । त्यो एकदम राम्रो थियो । तर, आन्दोलनका नाममा जुन खालको सिंहदरबार जलाउने, संसद्भवन जलाउने काम भयो त्यो एकदमै गम्भीर षड्यन्त्र भयो ।’
दशैंमा रोएका हजारौं आँखाहरू
विमानस्थलका यी कथाहरू दशैंको उल्लासका बेला परदेशिन बाध्य भएका हजारौं नेपालीका प्रतिनिधि कथाहरु हुन् । कोही भविष्यको खोजीमा, कोही रोगी परिवारको उपचार खर्च जुटाउन, कोही आफ्नै रोजगार जोगाउन विदेश लागिरहेका छन् ।

घरमा भने उनीहरूलाई सम्झँदै आमाबाबु, श्रीमती र छोराछोरीको आँसु बगिरहेको छ । दशैंले कतिपयका घरमा खुशी ल्याए पनि हजारौं नेपाली परिवारका लागि यो चाड पीडाको पर्याय बनेको छ । सभार: अनलाइनखबर

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu