Connect with us
Kapilvast Forest

चाडपर्वभन्दा ठूलो जिम्मेवारी : सेवामै समर्पित कपिलवस्तुका सुरक्षा अधिकारीहरू

२०८२, १६ आश्विन बिहीबारमा प्रकाशित

सनिउल्ला धोबी,
न्युज सेन्टर नेपाल, कपिलवस्तु
,—
जब देशभर दसैंको उल्लास छाएको छ, परिवारसँग बसेर टीका थाप्ने र आशीर्वाद लिने समय बनेको छ, त्यही बेला कपिलवस्तुका सुरक्षाकर्मीहरू भने नागरिकको सुरक्षामा अहोरात्र खटिरहेका छन् । ‘चाडपर्वभन्दा ठूलो जिम्मेवारी’ भन्ने भावनाका साथ जिल्ला प्रशासनका प्रमुखदेखि प्रहरी निरीक्षकसम्मले दसैंको समयमा पनि घर नजाने निर्णय गरेका छन् ।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिल कुमार तमाङ्ग ले जिल्लाको सम्पूर्ण सुरक्षा व्यवस्थापन र प्रशासनिक जिम्मेवारीका कारण ८४ वर्षीया आमाको टीकाबाट समेत बञ्चित हुनुपरेको बताए । “जिम्मेवारी ठूलो भएकाले यो वर्ष पनि घर जान सकिएन,” उनले दुःखेसो गरे ।

त्यस्तै, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक सन्तोष आचार्य ले जिल्ला शान्ति सुरक्षाका लागि आफ्नो उपस्थिति आवश्यक भएको बताए । सुनसरीस्थित घरबाट ८३ वर्षीया आमाको फोन आएको उनले सुनाए, “यो वर्ष पनि आउन सकेन आमा भनेर भन्नुपर्‍यो ।”

सशस्त्र प्रहरी उपरीक्षक नेत्र केसी ले चाडपर्वभन्दा सुरक्षालाई प्राथमिकता दिँदै भने, “खुला सिमाना भएको क्षेत्र भएकाले आपराधिक गतिविधि हुन नदिन हामी अत्यन्त सतर्क छौं ।”
कपिलवस्तुका उप अनुसन्धान निर्देशक (एसपी) हिरेन्द्र बहादुर कुवाँर ले पनि चाडपर्वभन्दा आफ्नो कर्तव्यलाई अघि राख्दै यो वर्ष टीकामा घर नजानु परेको बताए ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह ले भने, “शान्ति सुरक्षा कायम गर्नका लागि हामी यो पर्वमा पनि अवरात्र ड्युटीमा खटिएका छौं ।”

त्यस्तै, वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक सुदन विक्रम शाह ले अहिलेको संवेदनशील परिस्थितिमा जिम्मेवारी नै ठूलो चाड भएको बताए ।

इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक ईश्वर लौडारी ले नागरिकको सुरक्षालाई पहिलो प्राथमिकता दिँदै भने, “चाडपर्वमा नागरिकको सुरक्षा नै हाम्रो सबैभन्दा ठूलो धर्म हो ।”

यी सुरक्षाकर्मीहरूको समर्पण र सेवा भावना वास्तवमै प्रशंसनीय छ । जब बहुसंख्यक नागरिक चाडपर्वको रमाइलोमा छन्, त्यही बेला यी अधिकारीहरू भने नागरिकका लागि चौबिसै घण्टा खटिएका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu