भारतीय पर्यटकका लागि नेपालमा सचेतना अभियान
न्युजसेन्टर नेपाल,कपिलवस्तु-
नेपाल–भारत सीमावर्ती नाका कृष्णनगरमा आउने भारतीय पर्यटकहरूलाई लक्षित गर्दै कृष्णनगर उद्योग वाणिज्य सङ्घले विशेष यातायात सचेतना अभियान सुरु गरेको छ ।
संघका अध्यक्ष रितेश शर्माले लुम्बिनी आउने भारतीय पर्यटकहरूलाई नेपाल प्रवेशअघि आवश्यक कागजात र यातायात नियमबारे जानकारी दिन हिन्दी भाषामा सचेतना पत्र प्रकाशित गरेको बताउनु भयो ।
अध्यक्ष शर्माका अनुसार, “भारतबाट लुम्बिनी आउने पर्यटकहरूले नेपाल प्रवेश गर्दा सवारी साधनका सबै कागजात अनिवार्य रूपमा साथमा हुनुपर्छ । हामीले भन्सार नाकामा नै यस्तो जानकारीसहितको वितरण गर्ने व्यवस्था मिलाएका छौं, जसले गर्दा उनीहरूको नेपाल यात्रा सहज, सुरक्षित र सुखद बन्न सकोस् भन्ने हाम्रो उद्देश्य हो,” अध्यक्ष शर्माले बताए ।
उक्त सचेतमा पत्रमा सवारी चालकलाई आवश्यक कागजात, भन्सार तथा रोड ट्याक्स शुल्क, ट्राफिक नियम र नेपाल प्रवेशपछिका कानूनी प्रावधानहरूको विस्तृत जानकारी समावेश गरिएको छ ।
संघको यस पहललाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले समेत स्वागत गरेको छ । प्रहरीका अनुसार यस्तो सचेतनामूलक प्रयासले सीमापार आवागमनलाई अझ व्यवस्थित र नियमसम्मत बनाउन सहयोग पुर्याउनेछ ।
शर्माका शब्दमा — “नेपाल आउने भारतीय अतिथिहरू हाम्रो लागि सम्मानित पाहुना हुन्, उनीहरूको यात्रा सुरक्षित र अविस्मरणीय बनाउने हाम्रो लक्ष्य हो।”
हेर्नुस सचेतना पत्र
