मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दललाई अनुरोध
। निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको प्रचारप्रसार गरिदिन राजनीतिक दलहरूलाई अनुरोध गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सूचना निकालेर आमसञ्चार माध्यम र अन्य सरोकारवालाहरूलाई समेत यस्तो आग्रह गरेका छन् ।
‘मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट हुनुभएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता र विवरण अद्यावधिक गराउन आवश्यक प्रचारप्रसार गरिदिनुहुन सबै मतदाता, राजनीतिक दल, आमसञ्चार माध्यम लगायत निर्वाचन सरोकारवालाहरूलाई आयोग हार्दिक अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले मात्र मतदान गर्न पाउँछन् । हालसम्म पनि नामावलीमा नाम दर्ता गर्न छुट भएको भए आफ्नो नागरिकता सहित आयोगको वेभ ठेगानामा गएर प्रि–रजिष्ट्रेसन प्रणाली मार्फत आवेदन भर्न सकिन्छ । त्यसपछि तोकिएको दिन, समय र स्थानमा गई फोटो र बायोमेट्रिक दिन सकिन्छ । विवाह, बसाइँसराइ लगायतका कारणले मतदान केन्द्र परिवर्तन गर्नुपर्ने वा अन्य विवरण अद्यावधिक गर्नुपर्ने भएमा बसाइँसराइ वा अन्य सम्बन्धित कागजात सहित आवेदन दिन सकिन्छ ।
यो पनि पढ्नुहोस
मतदाता नामावलीमा नाम दर्ता गराउन प्रधानमन्त्रीको आह्वान
हालसम्म पनि मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिक गर्न छुट भएका नागरिकलाई मतदाता नामावलीमा नाम दर्ता तथा अद्यावधिकका लागि स्थानीय तहबाट प्रचार प्रसार र आवश्यक सहजीकरण गरिदिनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि आयोगले गरेको छ ।
पछिल्लो समयमा देशभर एक लाख ३६ हजार ६० जना नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार विहीबार साँझ ८ बजेसम्मको तथ्यांक अनुसार थपिने मतदाताको संख्या एक लाख ३६ हजार ६० जना रहेको छ । विहीबार एक दिनमै ११ हजार बढी नयाँ मतदाता थपिएका थिए ।
हालसम्म थपिएका नयाँ मतदातामा ८१ हजार ८६४ पुरुष र ५४ हजार १७८, महिला र अन्य १८ जना रहेका छन् ।
निर्वाचन आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता गराउन अध्यादेशमार्फत् कानुनी बाटो खुला गरेको थियो । अध्यादेशअनुसार गत असोज ९ गतेबाट सुरु भएको मतदाता नामावली संकलन यही कात्तिक ३० गतेसम्म जारी रहनेछ ।
आगामी २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकहरूले प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरूमा गएर नाम दर्ता गर्न सक्नेछन् । सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म नामावली दर्ता गर्न सकिन्छ ।