स्रोत नखुलेको १५ लाख सहित ४ जना पक्राउ
सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट नजिक मदनभण्डारी राजमार्गमा प्रहरीले स्रोत नखुलेको १५ लाख रुपैयाँसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
मंगलबार दिउँसो करिब १४ः१० बजे प्रहरी चौकी झनझनेबाट प्रहरी बरिष्ठ नायब निरीक्षकको कमाण्डमा खटिएको चेकिङ टोलीले बा.प्र.०१–०३१ च ५८०४ नम्बरको किया कम्पनीको सानो कार चेकजाँच गर्दा पछाडिको टायरभित्र लुकाएर राखिएको नगद रकम फेला परेको हो ।
गाडी सिन्धुलीबाट काठमाडौंतर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त गाडीका चालक २५ वर्षीय आदिल हमिद (ठेगाना: काठमाडौं महानगरपालिका–३१) रहेका छन्। साथै गाडीमा सवार अन्य तीन जना पनि नियन्त्रणमा लिइएका छन् ।
नियन्त्रणमा पर्नेमा चालक आदिल हमिद, उमेर २५ वर्ष, स्थायी ठेगाना काठमाडौँ महानगरपालिका ३१, सोही स्थान कै २१ वर्षको आमी अमिद, रौतहट, गुजरा नगरपालिका–२ का ७३ वर्षको चन्द्रमान योञ्जन र ३२ वर्षको एक जना चिनियाँ नागरिक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त रकमको स्रोतबारे अनुसन्धान सुरु गरेको र पक्राउ परेकाहरूसहित गाडीलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कपिलाकोट हुँदै जिल्ला प्रहरी कार्यालय सिन्धुली ल्याइएको जनाएको छ।