Connect with us
Kapilvast Forest

रास्वपाले ७६ जिल्लामा खटायो केन्द्रीय प्रतिनिधि

२०८२, ११ मंसिर बुधबारमा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टीले २१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी गर्न ७६ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार निर्वाचनकेन्द्रित संगठनात्मक गतिविधिका लागि पार्टी सचिवालयले केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको हो । ‘पार्टीको जिल्ला संरचनामा भएका आन्तरिक समस्या बुझ्ने, त्यसलाई समाधान गर्न सहजीकरण गर्ने र संगठनलाई चुनावकेन्द्रित गराउन केन्द्रीय प्रतिनिधि परिचालन गरिएको हो,’ सचिवालय सदस्य सोबिता गौतमले भनिन्, ‘वडा, पालिका, जिल्ला र प्रदेशसँग समन्वयमा आन्तरिक मतभेद, अन्तर्विरोध वा समस्या सुल्झाएर चुनावका लागि एकताबद्ध वातावरण बनाउँछौँ ।’

झापाको जिम्मेवारी पाएकी गौतमले पहिलो चरणमा वडादेखि पार्टीका नेता–कार्यकर्तासँग छलफल थालेकी छिन् । वडा, पालिका र जिल्लाबाट आन्तरिक समस्या र अप्ठेरोहरू बुझेर समाधान निकाल्ने र जिल्लालाई एकताबद्ध बनाएर चुनावकेन्द्रित बनाउने उनको योजना छ । रास्वपाले पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र विभिन्न केन्द्रीय विभागका पदाधिकारी तथा सदस्यलाई चुनावकेन्द्रित अभियानका लागि जिल्लामा खटाएको हो । यसअघि रास्वपाले २१ फागुनको निर्वाचनका लागि २२ कात्तिकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारी आह्वान गरेको थियो । उम्मेदवारीको आवेदन दिन २५ मंसिरसम्मको समय तोकेको छ । महामन्त्री कवीन्द्र बुर्लाकोटीले पार्टी पूर्ण रूपमा चुनावमा होमिएको बताए ।