नेपाल टेलिकमको ‘एनपीएल अनलिमिटेड प्याकेज’, दैनिक ८ जीबी डाटा पाइने
काठमाडौं । नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै ५९९ रुपैयाँको ‘एनपीएल अनलिमिटेड प्याकेज’ सञ्चालनमा ल्याएको छ । क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यस प्याकेजमा डाटा र भ्वाइस सेवा समावेश गरिएको कम्पनीले जनाएको छ ।
नेपाल टेलिकमका अनुसार उक्त प्याकेज प्रिपेड तथा पोस्टपेड दुवै मोबाइल प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ । प्याकेज खरिद गर्ने ग्राहकले दैनिक ८ जीबी डाटा प्रयोग गर्न पाउनेछन् । त्यसैगरी, नेपालका सबै नेटवर्कमा कल गर्न मिल्ने गरी कुल ३३३ मिनेट भ्वाइस सेवा पनि प्याकेजमा समावेश गरिएको छ ।
प्याकेजको अवधि ३० दिनको रहनेछ । ग्राहकले कात्तिक १० गतेदेखि मंसिर ५ गतेसम्म उक्त प्याकेज खरिद गर्न सक्ने नेपाल टेलिकमले जनाएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताले खरिद गरेको प्याकेजको शुल्क भने मासिक रेन्टल चार्जमै समावेश गरिनेछ ।
ग्राहकले नेपाल टेलिकमको मोबाइल एपमार्फत सहजै यो प्याकेज खरिद गर्न सक्नेछन् । यसले प्रयोगकर्तालाई मोबाइलबाटै प्याकेज छनोट तथा खरिद गर्ने सुविधा प्रदान गर्नेछ ।
नेपाल टेलिकम एनपीएलको तेस्रो सिजनको आधिकारिक टेलिकम साझेदारसमेत रहेको छ । प्रतियोगिताका क्रममा क्रिकेट हेर्ने, खेलसम्बन्धी जानकारी लिने तथा मोबाइल इन्टरनेट प्रयोग गर्ने ग्राहकलाई लक्षित गर्दै कम्पनीले यो प्याकेज ल्याएको हो ।
डाटा र भ्वाइस सेवा एउटै प्याकेजमा उपलब्ध हुने भएकाले ३० दिनसम्म मोबाइल सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि यो प्याकेज उपयोगी हुन सक्ने अपेक्षा गरिएको छ ।