संयुक्त संघर्ष समितिबाट कृष्ण घिमिरे निस्कासित
कपिलवस्तु-
संयुक्त सुकुम्बासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समिति कपिलवस्तुले आफ्ना संयोजक कृष्ण घिमिरेलाई समितिबाट निस्कासन गरेको छ ।
समितिद्वारा जारी गरिएको प्रेस विज्ञप्तिअनुसार जिल्ला संघर्ष समितिको कुनै निर्णय विना नै जिल्लाका विभिन्न पालिकामा गई सुकुम्बासी बस्तीबाट आर्थिक संकलन गरेको पाइएपछि एमाले निकट घिमिरेलाई आजकै मितिदेखि निस्कासन गरिएको हो ।
विज्ञप्तिमा विभिन्न राजनीतिक दल नजिक रहेका व्यक्तिहरूले सुकुम्बासी बस्तीका नाममा अव्यवस्थित गतिविधि गरेको भन्दै गम्भीर आपत्ति जनाइएको छ । यस्ता गतिविधिले वास्तविक सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूलाई भ्रममा पार्ने समितिको ठहर छ ।
समितिले अर्को सूचना जारी नहुँदासम्म कपिलवस्तु जिल्लामा संयुक्त संघर्ष समिति नरहेको स्पष्ट पार्दै, समितिको नाममा हुने कुनै पनि गतिविधि, आर्थिक संकलन तथा निर्णय अवैधानिक हुने जनाएको छ । साथै आम नागरिक, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई भ्रममा नपर्न आग्रह गरिएको छ ।
उक्त विज्ञप्तिमा नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव) का खेमान सिंह परियार, नेपाली कांग्रेसका प्रतिनिधि खेम थापा सोमइ, नेपाली कम्युनिस्ट पार्टीका प्रेम सुनार र राप्रपाका मन बहादुर सुनार (एम.बी.) को हस्ताक्षर रहेको छ ।