Connect with us
Kapilvast Forest

भृकुटीमण्डको बक्यौता उठाउन सरकार तात्यो, ऋषि धमलाले तिरेनन् ६२ लाख

२०८२, १७ पुष बिहीबारमा प्रकाशित

काठमाडौं –

समाज कल्याण परिषद् अन्तर्गतको भृकुटीमण्डप व्यवस्थापन विभागले भाडामा दिएका विभिन्न संरचना र स्टलको बक्यौता रकम करिब ९ करोड पुगेको छ।
विभागको पछिल्लो आर्थिक विवरण अनुसार २०८२ असार मसान्तसम्ममा विभिन्न संघ–संस्था र व्यक्तिबाट असुल गर्नुपर्ने कुल बक्यौता रकम ८ करोड ८५ लाख ७७ हजार ९ सय ५४ रुपैयाँ ९९ पैसा पुगेको छ।

लामो समयदेखि भाडा नतिर्ने र जरिवाना थपिँदै जाँदा बक्यौता रकम बढेको हो। विभागले हल, चौर र अन्य व्यापारिक स्टलबाट यो रकम उठाउन बाँकी रहेको देखिन्छ।विभागको विवरण अनुसार २०८१ असार मसान्तसम्मको मात्रै पुरानो बक्यौता ८ करोड २ लाख ४९ हजार ६ सय १९ रुपैयाँ ३३ पैसा थियो।

आर्थिक वर्ष २०८१–८२ मा थप ९३ लाख ९६ हजार २ सय ३८ रुपैयाँ बक्यौता थपिएको छ। यस अवधिमा विभागले जम्मा १० लाख ६७ हजार ९ सय ३ रुपैयाँ मात्र असुल गर्न सकेको छ, जुन कुल बक्यौताको तुलनामा अत्यन्तै न्यून हो ।तथ्याङ्कअनुसार केही सार्वजनिक र सामाजिक संस्थाको नाममा करोडौं रुपैयाँ बक्यौता देखिएको छ। सबैभन्दा बढी बक्यौता काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालयको छ। यस संस्थाको दुई छुट्टाछुट्टै शीर्षकमा गरी सबैभन्दा बढी बक्यौता देखिएको छ।

स्टल नं. ३४ को बक्यौता १ करोड २ लाख २ हजार ४ सय ५७ रुपैयाँ र स्टल नं. ६८ को १ करोड ५८ लाख २८ हजार ४ सय ७२ रुपैयाँ गरी कुल २ करोड ६० लाख भन्दा बढी रकम पुस्तकालयले तिर्न बाँकी छ।दोस्रोमा राष्ट्रिय अपाङ्ग महासंघको वक्यौता धेरै छ। स्टल नं. ७३ मा रहेको महासंघको नाममा १ करोड ४ लाख ४२ हजार ८ सय ३५ रुपैयाँ बक्यौता छ । यस्तै बालबालिकाका लागि गैरसरकारी संस्थाको नाममा ८० लाख ९९ हजार २ सय ३९ रुपैयाँ बक्यौता देखिएको छ।

भृकुटीमण्डपमा स्टल संचालन गर्दै आएको  ऋषि धमला अध्यक्ष रहेको रिपोर्टस क्लबले  ६१ लाख ९१ हजार ३ सय ६४ रुपैयाँ तिर्न बाँकी छ। उनले दिनमा २ देखि तीनवटा प्रेससम्बन्धी कार्यक्रम ल्याउने गरेका छन्। त्यही कार्यक्रमबाट उनले १० देखि १२ हजार लिने गरेको जनाइएको छ। तर उनी त्यो बक्यौता तिर्न आनाकानी गरिरहेका छन्। यस्तै नेपाल अपाङ्ग समाजको ३१ लाख ६१ हजार, गणेशमान सिंह अध्ययन प्रतिष्ठानले २९ लाख २९ हजार र नेपाल पत्रकार महासंघले करिब ३० लाख रुपैयाँ बक्यौता बुझाएका छैनन्।

भृकुटीमण्डपभित्रका संरचनालाई विभागले दुई भागमा वर्गीकरण गरेको छ। जसमा हल र चौर प्रयोग गर्ने ४ वटा संस्था नेपाल मोबाइल व्यवसायी संघ, ह्याप्पी डिल, राइज ग्लोबल र नेवि संघबाट कुल १६ लाख ७७ हजार ५ सय ६४ रुपैयाँ उठ्न बाँकी छ । अन्य स्टल र कोठामा बाँकी ५१ वटा स्टल र कोठाबाट ८ करोड ६९ लाख ३९ हजार भन्दा बढी रकम उठ्न बाँकी छ।

यसैबीच महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले समाज कल्याण परिषद् अन्तर्गत रहेका विभिन्न संरचना तथा सरकारी जग्गाको स्थलगत अनुगमन गरेकी छन्। परिषद्को अध्यक्षको हैसियतमा उनले बुधबार आफू मातहत रहेका निकाय, संरचना तथा सरकारी जग्गाको मन्त्री भएपछि पहिलो पटक अनुगमन गरेकी हुन्। अनुगमनका क्रममा काठमाडौंस्थित भृकुटी मण्डप, काठमाडौं फन पार्क, बाल सुधार केन्द्र तथा अपाङ्ग अस्पताल क्षेत्रको अवलोकन गरेकी छन्। अनुगमनका क्रममा समाज कल्याण परिषद् अन्तर्गतको सरकारी जग्गा लिज प्रक्रियासँग सम्बन्धित विभिन्न समस्या प्रत्यक्ष रूपमा देखिएको मन्त्रीले अनुगमनपछि बताइन्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu