लेखकको बयान सकियो : ओलीलाई पत्र लेख्ने तयारी
जेन–जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकाएको छ । आयोगले सोमबार र बुधबार गरी दुई दिन उनको बयान लिएको हो । बयान सकिएसँगै बिहीबारदेखि उनको स्थानहद हटाइएको छ ।लेखकको बयान सम्पन्न भएसँगै आयोगले अब तत्कालीन प्रधानमन्त्री केपी ओलीको बयान लिने तयारी गरेको छ । सम्भवतः शुक्रबार बयानका लागि ओलीलाई पत्र लेखिने आयोगका एक अधिकारीले बताए । ओलीको बयानअघि आयोगका पदाधिकारीहरूले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका थिए । यसअघि ओलीले बयान नदिने धम्की दिँदै आएका थिए । बयानले चुनावी वातावरण बिगार्ने ओलीको चेतावनी छ ।
प्रधानमन्त्री कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले ओलीलाई पनि केही दिनमै बयानका लागि बोलाइने स्पष्ट पारे । बयानमा नआए के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘उहाँ ९तत्कालीन प्रधानमन्त्री ओलीलाई हामी अब चिठी काट्दै छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ ।’आयोगले सो घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको बयान यसअघि नै लिइसकेको छ । अब ओलीको बयान मात्र बाँकी रहेको र त्यसपछि प्रतिवेदन लेख्ने काम सुरु गरिने आयोगका एक पदाधिकारीले बताए । अध्यक्ष कार्कीका अनुसार ९ माघभित्रै प्रतिवेदन बुझाउने लक्ष्यसहित काम भइरहेको छ ।