साढे तीन लाख बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाइँदै
१० वर्ष उमेरका करिब साढे तीन लाख बालिकालाई फागुन पहिलो सातादेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइने भएको छ । गत वर्ष १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ६८८ बालिकालाई खोप लगाइएकोमा यसपटक १० वर्ष उमेर समूहलाई दिन लागिएको हो । यसबाहेक गत वर्ष छुटेका ६ कक्षामा अध्ययन गर्ने १० वर्ष नाघेकालाई पनि खोप अभियानमा समेटिनेछ ।
एचपिभी खोप पूर्ण सुरक्षित भएकाले विश्वस्त भएर सहभागी हुन पनि गौतमले आग्रह गरेका छन् । ‘गत वर्ष कतिपयले शंका गरेर अरूको कुरा सुनेर लगाउनुभएन, मधेश र बागमतीमा त्यस्तो समस्या देखियो,’ उनले भने, ‘खोपमा विश्वास नगर्नु राम्रो होइन, खोप पूर्ण सुरक्षित र गुणस्तरीय छ ।’
गौतमका अनुसार यो खोप नेपालमा निजी स्वास्थ्य संस्थाहरूमा लगाउँदा महँगो पर्छ, तर सरकारले शुल्क लिँदैन । हाल यो खोप अमेरिकासहित १९४ देशमा प्रयोग भइरहेको छ । सबैभन्दा पहिले एचपिभी खोप कार्यक्रम अमेरिकाबाटै सुरु भएको थियो । नेपालले गत वर्षदेखि मात्रै एचपिभी खोपलाई नियमित गर्न थालेको हो । खोप कार्यक्रम विद्यालयमा सञ्चालन हुनेछ । तर, विद्यालय पहुँचबाहिर रहेका बालिकालाई समेट्न करिब दुई हजार तीन सय खोप केन्द्रबाट पनि खोप दिइनेछ ।
एचपिभी खोप सन् २००६ देखि प्रयोगमा ल्याइएको हो । भविष्यमा नेपालमा पनि पाठेघरको मुखको क्यान्सर हुनेको संख्या बढ्ने जोखिम देखिएकाले रोकथामका लागि एउटा उमेरतह तोकेर खोप कार्यक्रम गर्न लागिएको हो । यो खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय नहुँदैको अवस्थामा दिँदा प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरिएको छ । तर, नियमित तालिकाअनुसार लगाउने भएकाले यो वर्ष १० वर्षका बालिकालाई लक्षित गरिएको हो । त्यसभन्दा माथिल्लो उमेर समूहले गत वर्ष नै लगाइसकेका छन् । नौ वर्षका उमेर समूहलाई अर्को वर्ष दिइनेछ ।
एचपिभी खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नै सुरक्षित घोषणा गरिसकेको खोप हो । यो लगाउनुको मुख्य कारण भविष्यमा हुने पाठेघरको क्यान्सरबाट जोगाउनु हो । महिलामा सबैभन्दा बढी स्तनको क्यान्सर र दोस्रो नम्बरमा पाठेघरको क्यान्सर हुने गरेको छ । खोप शाखाले लक्षित समूहका कोही पनि बालिका नछुटून् भनेर प्रचार–प्रसार अभियानसमेत थालेको छ । एचपिभी खोपको एउटा मात्रा मात्रै लगाइन्छ । स्वास्थ्य मन्त्रालयले भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा झन्डै १८ करोड चार लाख मूल्यको तीन लाख ५० हजारभन्दा बढी डोज खोप ल्याएर भण्डारण गरिसकेको छ ।
खोप कार्यक्रम व्यवस्थित गर्न हरेक जिल्लाको जनस्वास्थ्य कार्यालय, पालिका हुँदै विद्यालयसम्म खोप वितरण हुनेछ । साथै, गत वर्षदेखि सरकारले फागुन महिनालाई ‘क्यान्सर स्क्रिनिङ टेस्ट’ महिनाका रूपमा मनाउने घोषणा गरेको थियो । सोही कारण यस वर्ष पनि क्यान्सरको स्क्रिनिङ टेस्ट अभियान सञ्चालन हुनेछ । डा. गौतमका अनुसार हाल दिन लागिएको खोपको नाम ‘सिकोलिन’ हो, जुन चीनले उत्पादन गरेको हो ।
नेपालमा पाठेघरको मुखको क्यान्सरले बर्सेनि एक हजार ३१३ जनाले गुमाउँछन् ज्यान
स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण वार्षिक एक हजार ३१३ जनाले ज्यान गुमाउँछन् । यो आधारमा दैनिक चार महिलाको पाठेघरको मुखको क्यान्सरले मृत्यु हुने गरेको छ । त्यस्तै, विभागका अनुसार वार्षिक दुई हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यही डरलाग्दो तथ्यांकलाई न्यूनीकरण गर्न सरकारले खोप अभियान चलाउन लागेको हो । विश्वमा हरेक वर्ष पाँच लाख ७५ हजारभन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । यो तथ्यांक आगामी सन् २०३० सम्ममा बढेर सात लाख पुग्ने चेतावनी संगठनको छ । संगठनकै तथ्यांकअनुसार हरेक वर्ष पाठेघरको क्यान्सरका कारण विश्वमा तीन लाख ११ हजार महिलाको मृत्यु हुने गरेको छ ।
नेपाल १४ प्रकारका रोगविरुद्ध ११ प्रकारका खोप
नेपालमा पहिलोपटक ०३४ देखि खोप कार्यक्रम सुरु भएको थियो । हाल नेपालमा १४ प्रकारका रोगविरुद्ध ११ प्रकारका खोप दिने गरिन्छ । तीमध्ये अधिकांश खोप बालबालिका लक्षित नै छन् । विश्व स्वास्थ्य संगठनका खोप अधिकृत डा. पवनदेव उपाध्यायले खोपको प्रयोगले ०३४ यता नेपालमा १५ करोड ४० लाख मानिसको जीवन सुरक्षित बनाएको बताए ।
‘खोपले जीवनलाई सुरक्षित बनाउँछ, हाल नेपालमा थुप्रै रोगलाई खोपले निरुत्साहित पारिरहेको छ,’ उनले भने, ‘सरकारले वितरण गर्ने खोपमा कुनै पनि हिच्किचाहट नगरी सहभागी हुनुपर्छ ।’
स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक मदन उपाध्यायका अनुसार हाल नेपालमा दिइने ११ प्रकारका खोपको आर्थिक भार नेपाल सरकारले पनि व्यहोरेको छ । वार्षिक नियमित खोप कार्यक्रममा मात्रै दुई अर्ब १३ करोड २५ लाख खर्च हुन्छ । त्यसमा एक अर्ब दुई करोड तीन लाख रुपैयाँ नेपाल सरकारले व्यहोर्ने गरेको छ । ‘हाल खोपमा विदेशी सहायता भएकाले पनि नेपाललाई खोप कार्यक्रम सञ्चालन गर्न सहज छ,’ उनले भने, ‘अहिले गाभीले खोप र खोप कार्यक्रम सञ्चालनका लागि चाहिने रकमसमेत दिन्छ, खोपबाट रोग कम गराउने हो, खोपले रोग न्यूनीकरण गर्छ ।’
जापनिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु, खोपको पनि प्रभावकारिता कम
पछिल्लो एक वर्षमा जापनिज इन्सेफ्लाइटिसबाट ३५ जनाको मृत्यु भएको छ । परिवार कल्याण महाशाखाका अनुसार यो तथ्यांक सन् २०२५ डिसेम्बरसम्मको हो । बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. गौतमले अन्य लामखुट्टेको टोकाइबाट हुने अन्य रोग नियन्त्रणमा प्रभावकारिता देखिए पनि जापनिज इन्सेफ्लाइटिस रोकथाममा भने चुनौती थपिएको छ । सन् २०२४ मा जापनिज इन्सेफ्लाइटिसबाट २५ जनाको मृत्यु भएको थियो । २०२३ मा सातजनाले ज्यान गुमाएका थिए । सन् २०१४ मा चारजना र २०१७ मा एकजनाकोे ज्यान गएको थियो ।
सन् २०२५ मा भने जापनिज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या डरलाग्दो देखिएको छ । सरकारले हाल यसविरुद्ध खोप पनि दिने गरेको छ । तर, खोप लगाए पनि मृत्यु हुनेको संख्या कम हुन सकेको छैन । ‘जापानिज इन्सेफ्लाइटिसको पनि खोप लगाउने गरिन्छ, तर यो संक्रमण आफैँमा गम्भीर मानिन्छ, यसको बढी जोखिममा किसान हुन्छन्, किनभने यो कृषि, पशुपक्षी भएको ठाउँमा पाइने लामखुट्टेको टोकाइबाट हुने गर्छ,’ गौतमले भने, ‘तीनजनामा जापानिज इन्सेफ्लाइटिस संक्रमण भयो भने एकजनाको मृत्यु हुन्छ, एकजना शारीरिक रूपमा अशक्त हुन्छ, एकजनामा निको हुन्छ, त्यसकारण यो संक्रमण निकै जटिल मानिन्छ ।’
साभार : नयाँपत्रिका