स्वास्थ्य बिमामा सधैँ सास्ती,औषधि नपाएपछि बिरामी निजीमा जान बाध्य
सरकारको स्वास्थ्य बिमा कार्यक्रममा समेटिएको औषधि वीर अस्पतालको फार्मेसीमा नपाएपछि एक साताअघि दैलेखका १२ वर्षीय बालक अकबर खानले आमाको उपचारका लागि बाहिरको फार्मेसीबाट औषधि किने । अस्पतालले बिमाको औषधि नराखेको र आफूसँग औषधि किन्न पैसा नभएको पीडा बिसाएपछि उनलाई अभियन्ताहरूले आर्थिक सहयोग गरेका थिए । खानले सहयोगको पैसाबाट आमाका लागि बाहिर फार्मेसीमा औषधि किनेका थिए । बिमाको औषधि महँगो भएको र अस्पतालको फार्मेसीमै नपाएको दुःखसमेत सुनाएका थिए । जुन भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
हाल खानकी आमाको उपचार वीरमै जारी रहेको अस्पतालले जनाएको छ । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि अस्पतालले बिमा तथा विपन्न नागरिक उपचार कोषबाट निःशुल्क उपचार गरिरहेको छ । अस्पतालका निर्देशक डा. दिलीप शर्माले सबै प्रकारका औषधि अस्पतालमा नभएको स्विकार्दै बिमाबापतको सबै औषधि किन्न कठिन हुने बताए । ‘हामीलाई स्वास्थ्य बिमा बोर्डले ३० करोड भुक्तानी गरेको छैन, कसरी औषधि किन्नु ? कतिपय उपचारमा प्रयोग हुने औषधि स्वतः महँगो पर्छ । तर, बिमाको भुक्तानी भएको छैन । बिमा भनेर सबै सजिलो हुँदैन, सक्ने सेवा दिने हो, हामीकहाँ स्वास्थ्य जनशक्तिले कसरी काम गरिरहेका छन्, त्यो पनि त हेर्नुपर्यो,’ उनले भने ।
स्वास्थ्य बिमा कार्यक्रम कति भद्रगोल, अव्यवस्थित र दयनीय छ भन्ने बुझ्न त्रिवि शिक्षण अस्पतालमा दाइको उपचारका लागि आएका प्युठानका महेश्वर थापाको समस्या पनि काफी छ । उनी दाइलाई अस्पतालले डिस्चार्ज गरेपछि औषधि किन्न अस्पतालको फार्मेसीमा लाइन लागिरहेका थिए । चार सयको औषधि किन्न उनलाई दुई घण्टासम्म लाइन बस्नुपर्यो ।
‘बिमाबाट औषधि किन्नुपर्यो भनेर आएको, तर दुई घण्टादेखि लाइनमा छु,’ उनले भने, ‘बिमामा उपचार गर्न आउनेलाई कर्मचारीले समेत राम्रो व्यवहार गर्दैनन्, तुच्छ ठान्छन् । आफ्नै पैसा खर्च भएजस्तो व्यवहार कर्मचारीको हुन्छ ।’ वीरमा भेटिएका अर्का सेवाग्राही सप्तरीका मुकेश खानको गुनासो पनि समान छ । ‘बुवाको ढाडमा समस्या भएर उपचार गराउन आएको हुँ, बिमा सेवाका लागि लामो लाइन बस्नुपरेको छ,’ उनले भने । वीरका निर्देशक डा. शर्मा छुट्टै कर्मचारी राखेर छरितो सेवा दिन सकिने अवस्था नै नरहेको बताउँछन् । बिमामा आबद्ध बिरामीलाई बिमा सेवा लिन कठिन हुनुको एक मुख्य कारण हो, यसको सर्भर डाउन हुनु । बाहिर बिरामी लाइनमा हुन्छन्, भित्र सर्भर डाउन भएर काम ढिला भइरहेको हुन्छ । यसले पनि बिमा कार्यक्रमप्रति निराशा बढ्दो छ । तर, पछिल्लो समय मर्मत गरेर सर्भरको समस्या सल्ट्याइएको बिमा बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्ले बताउँछन् ।
उपचारका लागि पुगेका बिरामी बिमा सेवा लिँदा थप बिरामी पर्छन् । घन्टौँसम्म लाइन लाग्नुपर्ने, सर्भर बिग्रने समस्या, महँगो र बिमामा समेटिएका सबै औषधि नपाइने, बिमा सेवा लिँदा अनेकौँ कागजात चाहिनेलगायत झन्झटका कारण बिरामी आजित हुने गरेका छन् । हालसम्म ७५० स्थानीय तहमा पुगेको यो कार्यक्रम ५१० बिमा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले दिँदै आइरहेका छन् । तर पनि यस सेवामा बिरामीले गुनासै–गुनासा गर्न थालेका छन् ।
बिमा बोर्डका अध्यक्ष डा. रघुराज काफ्ले स्वास्थ्य बिमा कार्यक्रमको दायित्व बोर्डको मात्र नरहेको बताउँदै अन्य निकायले पनि दायित्वबोध गर्नुपर्ने बताउँछन् । ‘बिमा गर्नेको संख्या हरेक वर्ष बढिरहेको छ, तर सरकारबाट भुक्तानी समयमै हुन सकेको छैन, बिमाको सेवालाई प्रभावकारी बनाउने दायित्व बोर्डको मात्रै होइन,’ उनले भने, ‘बिमासँग जोडिएका सबै निकायहरूले आ–आफ्नो दायित्व पूरा गरे भने बिमा व्यवस्थित बन्न सक्छ, अन्यथा समस्या कायमै रहन्छन् ।’ उनका अनुसार बिमा बोर्डको सेवालाई सहज पार्न एक हजार जनशक्ति चाहिन्छ । तर, हाल ३१५ मात्रै छ । त्यसमध्ये अधिकांश कर्मचारी बिमाको दाबी भुक्तानीको रुजुमै खटिन्छन् ।
स्वास्थ्य बिमाअन्तर्गत १२ सय ८४ औषधि राखिएको छ । तर, त्यसमध्ये ७५० प्रकारका औषधि मात्रै स्वास्थ्य संस्थामा पाइन्छ । अन्य औषधि नपाउँदा बिरामीहरू निजीमै धाउनुपर्छ । औषधि खरिद गर्ने जिम्मा अस्पतालकै रहेको बिमा बोर्ड बताउँछ । तर, अस्पतालहरू बोर्डले समयमै भुक्तानी नगरेकाले बजेट अभावमा बिमाले तोकेका सबै औषधि राख्न नसकेको बताउँछन् । त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्य बिमाको भनेर छुट्टै औषधि नराखिएको बताउँछन् । ‘हामीले बिमाको भनेर छुट्टै औषधि राखेका छैनौँ, यहाँ लगभग सबै प्रकारको औषधि पाइन्छ,’ उनले भने, ‘तर त्यसरी बिमाकै लिस्टअनुसारको औषधि भनेर राखेका छैनौँ ।’
बिमा रकम भुक्तानीमा टिचिङ अस्पताल र बिमा बोर्डबिच विवाद
बिमामार्फत बिरामीको उपचार गरेबापत पाउनुपर्ने रकम बिमा बोर्डले नदिएको भन्दै त्रिवि शिक्षण अस्पताल (टिचिङ)ले १ माघदेखि बिमा सेवा नै बन्द गर्ने चेतावनी दिएको छ । तर, बोर्ड भने अस्पतालले पठाएको दाबीमा कैफियत देखिएकाले भुक्तानीमा समस्या भएको दाबी गर्छ । यी दुई पक्षको विवादको मारमा बिरामी नै परेका छन् ।
टिचिङ प्रशासनले मासिक साढे चार करोडदेखि पाँच करोडसम्म बिमामा खर्च हुने दाबी गरेको छ । तर, बोर्डले घटाएर साढे दुई करोड मात्रै भुक्तानी गर्ने गरेको अस्पतालका निर्देशक डा. सुवास आचार्य बताउँछन् । ‘हामी अहिले महिनाको दुई करोड ५० लाख घाटामा छौँ । बोर्डबाट ५० करोड लिन बाँकी छ,’ उनले भने, ‘हामीले पठाएको दाबीमा बोर्डले आधा मात्रै रुजु गर्छ, अन्य भुक्तानी गर्दैनौँ भन्छ । यस्तो अवस्थामा कसरी सेवा दिने । अब १ माघदेखि बन्द गर्छौँ ।’
बोर्ड भने सरकारले पर्याप्त बजेट निकासा नगर्दा पनि भुक्तानीमा समस्या हुने गरेको बताउँछ । ‘हामीले बिमाको भुक्तानी आफैँ गर्न सक्दैनौँ, सरकारले बजेट निकासा गरेपछि मात्रै भुक्तानी हुने हो । तर, सरकारबाट भुक्तानी भएको छैन,’ बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले भने, ‘भुक्तानी नगर्दा हामीले पनि उनीहरूलाई नैतिक रूपमा कडी–कडाउ गर्न सकिरहेका छैनौँ । बिमामा आएका बिरामीका प्रश्नहरू थुप्रै छन्, ती प्रश्न अस्पतालसँग सम्बन्धित नै छन् ।’
साभार : नयाँपत्रिका