भीमफेदी जिप दुर्घटना : १२ घण्टापछि ४ मृतकको पहिचान
हेटौंडा-
काठमाडौं हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी गाउँपालिकामा भएको जिप दुर्घटनाका मृतक र घाइतेको पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार आइतबार साँझ भीमफेदी गाउँपालिका(६ जुरीखेतमा ना१ज १७७८ नम्बरको ९ जना सवार टाटासुमो जिप सडकबाट १०० मिटर तल खोल्सामा खसेको थियो । जिपमा ६ जना पुरुष, एक जना महिला, एक बालिका र एक जना बालक थिए ।घटनामा ६ जनाको घटनासथलमै मृत्यु भएको थियो भने ३ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनाको १२ घण्टापछि मात्रै मृतक र घाइतेको पहिचान गरेको छ ।
मृतक दुई जनाको भने अझै पहिचान हुन नसकेको मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।डिएसपी बोगटीकाअनुसार मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका(४ कमलडाँडा बस्ने ४० वर्षीय सविता लम्साल, हेटौंडा उपमहानगरपालिका(२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारतको बिहार पटनाका ४२ वर्षीय रजनिस कुमार र भारत बिहारको बेगुसराई बस्ने करिब ५० वर्षीय अरबिन्द कुमार रहेका छन् ।अन्य मृतक करिब ३५ वर्ष र ४० वर्षका पुरूषको पहिचान हुन नसकेको डिएसपी बोगटीले जानकारी दिए । उनीहरूको हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
यसैगरी, हेटौंडा अस्पतालमा उपचार भइरहेको घाइतेमध्ये २ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको छ । जिपका चालक हेटौंडा उपमहानगरपालिका(४ कर्राचोक बस्ने करिब ४०(४५ वर्षका गणेश थापा र मृतक सविता लम्सालको छोरा १२ वर्षका अभ्यास लम्साललाई भरतपुर रिफर गरिएको हो ।उनीहरूको अवस्था गम्भीर रहेको डिएसपी बोगटीले जानकारी दिए । हेटौंडा अस्पतालमा उपचाररत् अर्का घाइते रौतहटको चन्द्रपुर नपा(२ बस्ने रिचा चौधरीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।