Connect with us
Kapilvast Forest

बृजेश कुमार गुप्ताको भावुक प्रतिक्रिया -“जनताकै चाहनाअनुसार निर्णय लिएको हुँ”

२०८२, २१ पुष सोमबारमा प्रकाशित

न्युजसेन्टर नेपाल 

कपिलवस्तु– पूर्व प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री बृजेश कुमार गुप्ताले पछिल्लो समय सामाजिक सञ्जालमा आफूलाई लिएर उठेका विभिन्न टिप्पणी र बहसप्रति स्पष्ट धारणा सार्वजनिक गरेका छन् ।

सकारात्मक र नकारात्मक दुवै खालका प्रतिक्रियालाई सम्मानका साथ लिएको उल्लेख गर्दै उनले जनता नै आफ्नो सबैभन्दा ठूलो शक्ति र मार्गदर्शक भएको बताएका छन् ।

सम्पूर्ण क्षेत्रवासी दाजुभाइ तथा दिदीबहिनीप्रति नमस्कार व्यक्त गर्दै गुप्ताले निर्वाचनमा आफूलाई विजयी बनाउने र पराजित गर्ने अधिकार पनि जनताकै हातमा रहेको स्पष्ट पारेका छन् । “जनताकै विश्वासले मलाई राजनीतिमा ल्यायो, जनताकै निर्णयलाई म सधैँ शिरोधार्य गर्छु,” उनले बताएका छन् ।

आफू मूलतः एक साधारण इन्जिनियर रहेको स्मरण गराउँदै गुप्ताले क्षेत्रवासीको माया, विश्वास र उत्साहले नै राजनीतिक यात्रामा अघि बढ्न प्रेरित गरेको बताए । “तपाईंहरू बिना म केही पनि होइन,” भन्दै उनले आफ्नो सम्पूर्ण जीवन जनसेवामा समर्पित रहेको उल्लेख गरेका छन् ।

यसपटक प्रतिनिधि सभा सदस्यका रूपमा योग्य नठानिएको स्वीकार गर्दै उनले आफूमा पनि मानवीय कमजोरीहरू रहेको बताए । यदि जनताले राजनीतिबाट सन्यास लिनुपर्ने भावना बनाएका छन् भने त्यसलाई पनि खुसीका साथ स्वीकार गर्ने उनको भनाइ छ ।

तर आफूभित्र देश र समाजलाई राम्रो बनाउने सपना, सोच र योजना प्रशस्त रहेको उल्लेख गर्दै सही अवसर र परिस्थिति नमिलेकै कारण ती सपना पूर्ण रूपमा साकार हुन नसकेको उनले बताए ।
देशमा घटेका विभिन्न घटनाक्रम र Gen Z का युवाहरूको आग्रहले आफूलाई नयाँ जिम्मेवारीको बोध गराएको गुप्ताको भनाइ छ । ती युवाहरूको आवाज र भावनाले आफूलाई नयाँ बाटो रोज्न प्रेरित गरेको बताउँदै उनले सबैको सम्मान र भावना आत्मसात् गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

अन्त्यमा गुप्ताले जनताको माया र साथ नै आफ्नो सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै भविष्यमा फेरि अवसर पाए पूर्ण मनले सेवा गर्ने र नपाए पनि जनताको सुख–शान्तिको कामना गर्दै शान्त जीवन बिताउने बताएका छन् ।
उनले सबैप्रति धन्यवाद व्यक्त गर्दै ‘जय नेपाल’को उद्घोष गरेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu