कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले बोलाए विशेष महाधिवेशन
वैशाखमा नियमित महाधिवेशन गर्ने पार्टीको निर्णयलाई चुनौती दिँदै कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् । थापा र शर्माले बुधबार साँझ विज्ञप्ति जारी गर्दै २७–२८ पुसमा विशेष महाधिवेशन आह्वान गरिएको जनाउँदै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन अपिल गरेका हुन् । तर, केन्द्रीय कार्यालयले बुधबारै जारी गरेको विज्ञप्तिमा केन्द्रीय कार्यसमितिबाहेक कसैले पनि विशेष महाधिवेशन आह्वान गर्न नसक्ने स्पष्ट पारेको छ ।
२४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर केन्द्रमा बुझाइएपछि तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नु बाध्यकारी हुने महामन्त्रीद्वयको तर्क छ । ‘निवेदन दर्ता भएको तीन महिनाभित्र विशेष महाविधेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय थियो र हो । तसर्थ केन्द्रीय कार्यसमितिले नै विशेष महाविधेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यौँ । तर, केन्द्रीय कार्यसमितिबाट यो सम्भव हुन सकेन,’ उनीहरूले भनेका छन् ।
महामन्त्रीद्वयले अपिलमा विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना कांग्रेसको विधानले नगरेको उल्लेख छ । ‘यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसीमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटक–पटक राखेका हौँ । बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ,’ महामन्त्रीद्वयको अपिलमा छ ।
महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ का लागि तय भएको विशेष महाविधेशन कानुनी र राजनीतिक रूपमा समेत अपरिहार्य र बाध्यकारी बनेको उल्लेख गरेका छन् । यो विधानविपरीत भएको केन्द्रीय कार्यालयको वक्तव्यलाई खण्डन गर्दै महामन्त्रीद्वयले भनेका छन्, ‘विधानबमोजिम बाध्यकारी रहेको विशेष महाविधेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारीबमोजिम काम नगर्नु, विधान र राजनीतिक दलसम्बन्धी कानुनको समेत विपरीत हो । विधान र कानुनबमोजिम पूरा गर्नुपर्ने कर्तव्य र जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो ।’
उनीहरूले लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीका रूपमा विशेष महाधिवेशनको माग कार्यान्वयन गर्नु वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी भएको उल्लेख गरेका छन् । ‘हामीले त्यो जिम्मेवारी पूरा गर्नैपर्छ, गर्नेछौँ,’ उनीहरूले भनेका छन्, ‘विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो । हामी पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित छौँ । जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एक ढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध छौँ ।’
कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्रीहरूको कदम एकदमै गलत भएको प्रतिक्रिया दिएका छन् । आमनिर्वाचनको मुखमा विशेष महाधिवेशनको नाममा गलत निर्णय गरिएको उनको भनाइ छ । ‘आफैँ सहभागी रहेको केन्द्रीय कार्यसम्पादन समितिको निर्णय मान्दिन भन्नु गैरजिम्मेवार व्यवहार हो । ‘विधानविपरीत बोलाइएको विशेष महाधिवेशनमा पार्टी सभापति सहभागी हुने प्रश्नै आउँदैन,’ उनले भने, ‘महामन्त्रीहरूबारे के गर्ने भन्ने विषयमा हालसम्म कुनै निर्णय भएको छैन । भविष्यमा छलफल होला । अहिले भन्नुपर्ने कुरा यत्ति हो– उहाँहरूले एकदमै बेठिक गर्नुभएको छ ।’
गगन थापाले भने : सभापति चाहिँदैन पार्टीलाई उभिने ठाउँ बनाउनुछ
पार्टी महामन्त्री गगनकुमार थापाले सभापति बन्न नभई पार्टीलाई नयाँ परिस्थितिमा उभिने ठाउँ बनाउन विशेष महाधिवेशनमा जानुपर्ने अवस्था भएको बताएका छन् । बुधबार बुद्धिजीवीहरूसँगको अन्तरक्रियामा थापाले भने, ‘हामीलाई सभापति बन्नु छैन । तपाईंहरू जसलाई बन्नुछ बन्नुस् । डा. शेखर कोइरालालाई बन्नुछ, विशेष महाधिवेशनबाट सभापति बन्नुस् ।’
थापाले कारोबारी राजनीतिलाई समाजले इन्कार गरिसकेको भन्दै २३ र २४ भदौको घटनाको पृष्ठभूमि, नागरिकको रिस र आवाजलाई सम्बोधन गर्नुपर्ने बताए । ‘त्यस घटनाअघि हामी ठिक ठाउँमा थिएनौँ, हाम्रो गति र मति ठिक ठाउँमा थिएन, कसैलाई हामी त्यसअघि पनि ठिक थियौँ, अब पनि ठिक छौँ भन्ने लागेको छ । हामी अब सच्चिनुपर्छ,’ थापाले भने ।
केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूसँग पार्टी कार्यालयमा कुरा गर्दै थापाले आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई घेराबन्दी गरिएको आरोप लगाए । ‘पार्टीमा विधान र प्रक्रिया मिच्दै जाने क्रममा म र अर्का महामन्त्री विश्वप्रकाश शर्मालाई किनारा लगाउने, घेराबन्दी गर्ने काम भएको छ,’ उनले भने, ‘हामीलाई जति घेराबन्दी गरे पनि यहाँको घेरा सानो छ । पार्टी, समर्थक र शुभेच्छुकहरूको घेरा ठुलो छ । हामीलाई सानो घेराबाट ठुलो घेरामा जान बाध्य पारिराख्नुभएको छ ।’
यस्तो छ विशेष महाधिवेशनको तयारी
महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशन २७ पुसमा भृकुटीमण्डपमा सुुरु हुनेछ । केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले सभापति देउवा र कार्यवाहक सभापति सहभागी नभए विशेष महाधिवेशनको अध्यक्षता पार्टीका महामन्त्री थापा र शर्मामध्ये एकजनाले गर्ने बताए । विशेष महाधिवेशन पक्षधरले बुधबार विभिन्न १८ समिति घोषणा गरेका छन् । पूर्वसभापति तथा पूर्वकेन्द्रीय सदस्यहरूको समन्वय, जनपरिचालन तथा जुलुस व्यवस्थापन, व्यवस्थापन समिति, प्रदेश सांसद समन्वय, पूर्वसांसद समन्वय, मञ्च व्यवस्थापन, स्वयंसेवक परिचालन, यातायात व्यवस्थापन, आवास तथा खाना, सूचना तथा प्रचारप्रसार, जिल्ला सम्पर्क, भ्रातृ तथा शुभेच्छुक संस्था समन्वय, जनसम्पर्क समिति समन्वय, स्थानीय तह समन्वय, स्वास्थ्य शिविर समन्वय, सांस्कृतिक कार्यक्रम तयारी, जेन–जी युवा परिचालन, जिल्ला क्षेत्र फोकल पर्सन समन्वय समितिहरू गठन भएका छन् । विशेष महाधिवेशन आयोजकहरूका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले एक हजार एकसदस्यीय मूल जनपरिचालन समिति गठन भएको बताए ।
संस्थापनले भन्यो– विशेष महाधिवेशन विधानविपरीत छ, कोही सहभागी नहुनू
कांग्रेस संस्थापन पक्षले पार्टी नियमित महाधिवेशनको कार्यतालिकामा अघि बढेको अवस्थामा विशेष महाधिवेशनको औचित्य नरहेको र आह्वान गर्नु विधानविपरीत भएको टिप्पणी गरेको छ । बुधबार केन्द्रीय कार्यालयबाट जारी दुई पृष्ठ लामो प्रेस विज्ञप्तिमा विशेष महाधिवेशन आह्वान गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णयबाट कार्यतालिका तयार गरी अधिवेशन/महाधिवेशनको प्रक्रिया र कार्यक्रमहरू सञ्चालन भइरहेको अवस्थामा, सोही अवधिभित्र माग गरिएको विशेष महाधिवेशनको औचित्य समाप्त भएको यथार्थलाई बेवास्ता गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्ने विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा छ ।
विशेष महाधिवेशनको मागसहित ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले बुझाएको हस्ताक्षरअनुसार पार्टी विधानको धारा १७ (२) अनुसार बोलाउनुपर्ने अनिवार्य व्यवस्थाबारे भने संस्थापन पक्ष बोलेको छैन । संस्थापनले पार्टी विधानमा व्यवस्था भएबमोजिम कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल केन्द्रीय कार्यसमितिलाई मात्र रहेको उल्लेख गरेको छ ।
‘तसर्थ, पदाधिकारी वा सदस्यहरूले व्यक्तिगत रूपमा बोलाइएको अधिवेशन वा विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरू, महासमिति सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, भ्रातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ,’ संस्थापनले भनेको छ ।
कांग्रेसले १५ मंसिरमा केन्द्रीय कार्यसमितिको बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधानबमोजिम महाधिवेशनको प्रक्रिया अघि बढिसकेको पनि उल्लेख गरेको छ ।