राष्ट्रिय सभामा नेकपाले अस्वीकार गर्यो सिन्डिकेट
आसन्न राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनको सिन्डिकेट अस्वीकार गर्दै नेपाली कम्युनिस्ट पार्टी एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । ११ माघमा हुने निर्वाचनमा १८ सदस्यका लागि बुधबार उम्मेदवारी दर्ता भएको छ । कांग्रेस र एमालेले तीन सिट लिएर भागबन्डामा सहभागी हुन गरेको प्रस्ताव राष्ट्रिय सभाको ठुलो दल नेकपाले अस्वीकार गर्दै एकल उम्मेदवारी दिएको हो ।
कांग्रेस, एमाले र जसपा नेपालले भने संयुक्त उम्मेदवारी दर्ता गराएका छन् । चारै दल मिलेर जाने विषयमा यसअघि पटक–पटक छलफल भएका थिए । नेकपाले आप्mनो मतभार र हैसियतअनुसार चार सिट पाउनुपर्ने अडान राखेको थियो । त्यसमा एमाले सहमत भएन । स्रोतका अनुसार संख्यात्मक भागबन्डा मात्र होइन, कांग्रेस–एमाले र नेकपाबिच क्लस्टरको विषयमा समेत सहमति जुट्न सकेको थिएन ।
कांग्रेस–एमालेले भागबन्डा गरेर नेकपालाई तीन र महन्थ ठाकुरलाई राष्ट्रिय सभामा लाने गरी जसपा नेपाललाई एक सिट छुट्याएका थिए । नेकपाले भने मतभारअनुसार सिट बाँडफाँटको प्रस्ताव गरेको थियो । कांग्रेस त्यसमा सहमत भए पनि एमालेले मतभारभन्दा बढी सिट लिने अडान छाडेन ।
मतभारअनुसार कांग्रेसले ७, एमालेले ६, नेकपाले ४ र जसपा नेपालले १ सिट पाउने थिए । कांग्रेस ७ सिटमा तयार भए पनि एमालेले पनि ७ सिट नै पाउनुपर्ने अडान छाडेन । एमालेको यही अडानले चार दलले संयुक्त उम्मेदवारी दिने प्रयासले मूर्तरूप लिन सकेन । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्ष मात्रै मतदाता हुने राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनसँग जित्न पुग्ने मतभार छ । उक्त गठबन्धनमा मिसिँदा नेकपालाई ३ सिट सुरक्षित गर्ने अवसर हुन्थ्यो ।
नेकपाका नेताहरूले दलीय सिन्डिकेट लाद्ने गरी कांग्रेस–एमालेले राष्ट्रिय सभा निर्वाचनमा भागबन्डा गरेर उम्मेदवारी दर्ता गर्न चाहेपछि आफूहरू बाहिरिएको दाबी गरेका छन् । तर, तत्कालीन माओवादी, एकीकृत समाजवादीलगायतका १९ घटक मिलेर बनेको नेकपाले राष्ट्रिय सभा निर्वाचनलाई एजेन्डा स्थापित र शक्ति परीक्षणको रूपमा लिएको छ ।
नेकपा नेता प्रकाश ज्वालाका अनुसार नेकपाले पदभन्दा राजनीतिक एजेन्डालाई महत्व दिएर छुट्टै उम्मेदवार उठाएको दाबी गर्छन् । ‘विशेष गरी कांग्रेसबाट मिलेर जाऔँ भन्ने प्रस्ताव आएको थियो । मतभारअनुसार जान सकिन्छ भन्ने कुरा थियो,’ उनले भने, ‘तर, एमालेले मतभारभन्दा बढी सिट राख्न खोज्यो । उनीहरूले छुट्याएको सिट लिएर राजनीतिक सिन्डिकेटमा जानुहुँदैन भनेर छुट्टै अघि बढ्यौँ ।’
ज्वालाले आफ्नो पहिचान र एजेन्डासहित नेकपा छुट्टै चुनावी मैदानमा खडा भएको र जेन–जी पुस्ताको भावना पनि सम्बोधन गरेको बताए । ‘हामी आफ्नो पहिचान र एजेन्डासहित अलग्गै प्रतिस्पर्धामा होमिएका छौँ । यसले प्रतिनिधिसभा निर्वाचनको वातावरण पनि बनाउँछ । नेकपा गठबन्धनविना नै चुनाव लड्न र जित्न सक्छ भन्ने सन्देश पनि हो,’ उनले भने, ‘जेन–जी आन्दोलन दलीय सिन्डिकेटको विरुद्धमा थियो । हामीले यसमा जान उचित ठान्यौँ ।’
कांग्रेस नेता रमेश लेखकले चार पार्टी एक भएर राष्ट्रिय सभा निर्वाचनमा जाने प्रयत्न गरिए पनि सफल नभएको बताए । ‘राष्ट्रिय सभा निर्वाचनमा मिलेर जाने कोसिस गरेका थियौँ । तर, अहिले सकिएन, निर्वाचनसम्म नयाँ विकल्प आउन सक्ला,’ लेखकले भने ।
निर्वाचन कार्यक्रमअनुसार मनोनयन दर्ता गराएका उम्मेदवारको विरोधमा २४ पुसमा उजुरी दिने, २५–२६ पुसमा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित हुनेछ । त्यसपछि २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने प्रवक्ता नारायण भट्टराईले बताए ।
प्रचण्डले भनेका थिए– कसैसँग पनि गठबन्धन हुँदैन
कांग्रेस–एमालेले नेकपालाई मनाउने प्रयास गरिरहँदा नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि पार्टीसँग गठबन्धन नहुने बताएका थिए । मंगलबार साँझ पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने बताएका थिए । ‘गठबन्धनको केही पनि कुरा भएको छैन । छलफल त विभिन्न विषयमा हुन्छ । तर, कुनै गठबन्धन भएको छैन र हँुदैन पनि,’ उनले भनेका छन् । आफ्नै एजेन्डा र शक्तिको आधारमा निर्वाचनमा जाने उनको भनाइ छ ।
देउवाले गरेका थिए गठबन्धनमा जोड
देउवाले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा उभिएर जानुपर्ने प्रस्ताव गरेका थिए । मतभारअनुसार नेकपाले चार सिट मागेको थियो । त्यसमा कांग्रेस तयार भए पनि एमाले तयार नभएपछि सहमति हुन नसकेको कांग्रेसका एक नेताले बताए । देउवाले अन्तिमसम्म पनि मिलाउन खोजेका थिए । स्रोतका अनुसार देउवाले बुधबार बिहान पनि ओलीलाई फोन गरेर मतभारअनुसार जान आग्रह गरेका थिए । तर, ओलीले अस्वीकार गरेका थिए । ‘नेकपाले आफ्नो मतभारअनुसार चार सिट हुनुपर्छ भन्यो । तर, एमाले ७ सिटबाट झर्न मानेन । कांग्रेसले महन्थ ठाकुरलाई सिट छाडिसकेको अवस्थामा थप सिट छाड्ने कुरा भएन । एमालेले ६ सिट लिएर गएको भए राम्रै हुन्थ्यो, तर मानेन । हामी लचिलो भए पनि सहमति जुटाउन सकिएन,’ कांग्रेसका एक शीर्ष नेताले भने ।