राष्ट्रपति रनिङ शिल्ड नेपाल आदर्श मा वि शिवपुरले हात पार्यो
कपिलवस्तु –
शिवराज नगरपालिकामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जित्न सफल भएको छ । ५० इभेन्टमा आधारित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल आदर्श मा.वि.ले २५ स्वर्ण, १७ रजत र ३ कास्य पदक सहित जम्मा ४५ पदक हात पार्दै प्रथम स्थान हासिल गरेको हो ।
यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय, चन्द्रौटाले १३ स्वर्ण, ८ रजत र १० कास्य पदक सहित कुल ३१ पदक प्राप्त गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ । त्यस्तै प्रकाश माध्यमिक विद्यालय, सुन्दरीडाँडाले ५ स्वर्ण, ८ रजत र ६ कास्य पदक सहित १९ पदक जित्दै तेस्रो स्थानमा चित्त बुझाएको छ ।
पौष २१ गतेदेखि सुरु भएको प्रतियोगिताको आज एक औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । खेल संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष चौधरीले ५० वटा विभिन्न इभेन्टमा विद्यार्थी खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता व्यवस्थित, प्रतिस्पर्धात्मक तथा विवादरहित रूपमा सम्पन्न भएको हो ।
समापन कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व वन मन्त्री अर्जुन कुमार के.सी.ले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले अनुशासन, मेहनत र टिमवर्कबाट मात्रै सफलता सम्भव हुने उल्लेख गर्दै सहभागी खेलाडीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले खेलकुद विकासलाई प्राथमिकतामा राख्दै आएको बताउँदै आगामी दिनमा विद्यालयस्तरका खेलकुद कार्यक्रमलाई अझ व्यवस्थित र प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले स्थानीय तहमा लुकेका खेल प्रतिभाहरू उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूको भनाइ रहेको छ ।