Connect with us
Kapilvast Forest

महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपालका चारवटै खेल त्रिवि क्रिकेट मैदानमा

२०८२, २५ पुष शुक्रबारमा प्रकाशित

राष्ट्रिय महिला क्रिकेट टोलीले आसन्न आइसिसी टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणका सबै खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार सहभागी टोलीले प्रतिस्पर्धा गर्ने मैदान सार्वजनिक गरेको हो । पहिलोपटक आइसिसी टी–२० विश्वकप ग्लोबल छनोट आयोजना गर्ने अवसर पाएको क्यानले त्रिवि क्रिकेट मैदान र मूलपानीको माथिल्लो मैदान छुट्याएको छ । ग्लोबल छनोटमा पहिलोपटक सहभागी नेपालले ४ माघमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपालको समूहमा थाइल्यान्ड मात्र विश्वकप खेलेको राष्ट्र हो । ८ माघमा नेपाल र नेदरल्यान्ड्सबिच दोस्रो खेल हुनेछ । टेस्ट राष्ट्र जिम्बावेविरुद्ध नेपालले १० माघमा खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबिच १२ माघमा खेल हुने क्यानले जनाएको छ ।

गत वर्षको ९–२० मेसम्म थाइल्यान्डमा भएको एसियन छनोटमा उपविजेता हुँदै नेपालले पहिलोपटक विश्वकपको ग्लोबल छनोट स्थान पक्का गरेको हो । छनोटमा थाइल्यान्ड विजेता हुँदै लगातार दोस्रोपटक ग्लोबल छनोटमा स्थान सुरक्षित ग¥यो । ग्लोबल छनोट दुई समूह विभाजित छ । समूह ‘ए’मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्युगिनी र अमेरिका छन् । समूह ‘बी’मा आयोजक नेपालसहित नेदरल्यान्ड्स, स्कटल्यान्ड, थाइल्यान्ड र जिम्बावे छन् ।  समूह चरणबाट शीर्ष तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् । सुपर सिक्सका शीर्ष चार राष्ट्रले विश्वकपको टिकट पक्का गर्नेछन् ।

कुन–कुन क्षेत्रबाट छनोट
सन् २०२६ को जुनमा इंग्ल्यान्डले आयोजना गर्ने विश्वकपका लागि डेढ वर्षदेखि छनोट प्रतियोगिता भएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सन् २०२४ देखि २०२५ को सेप्टेम्बरसम्म क्षेत्रीय छनोट आयोजना गरेको थियो । अर्जेन्टिनामा भएको अमेरिकन छनोटमा अमेरिकाले शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा स्थान पक्का गरेको थियो । त्यसपछि एसियन छनोट थाइल्यान्डमा भयो । जहाँ थाइल्यान्ड र नेपाल अगाडि बढे । अगस्टमा युरोपियन छनोट प्रतियोगिता भयो । आयरल्यान्ड र नेदरल्यान्ड्सले पहिलो तथा दोस्रो स्थान रक्षा गर्दै ग्लोबल छनोट स्थान सुरक्षित गरेका थिए ।

गत वर्षको अगस्टदेखि सेप्टेम्बरमा अफ्रिकी छनोटमा दुई स्थानका लागि प्रतिस्पर्धा भएको थियो । यसमा नामिबिया शीर्ष र जिम्बावे दोस्रो स्थानम रहँदै ग्लोबल छनोटमा पुगेका हुन् । इस्ट प्यासिफिक छनोटबाट पपुवा न्युगिनी मात्र छनोट भएको थियो । बंगलादेश र स्कटल्यान्ड भने वरीयता आधारमा सिधै छनोट भएका हुन् । आइसिसीले ग्लोबल छनोटमा १० राष्ट्रबिच प्रतिस्पर्धा गराउन लागेको हो । जसबाट चार राष्ट्रले विश्वकप खेल्नेछन् ।

 इन्दुको कप्तानीमा नेपाली टोली
क्यानले गत आइतबार नेपाली टोली घोषणा गरेको थियो । इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा हुँदा तीनजना पूर्वखेलाडीले पुनरागमन गरेका थिए । नेपाली महिला टोलीकै पहिलो पुस्ताका खेलाडी सीता रानामगरसँगै काजल श्रेष्ठ र सोनु विष्टले स्थान सुरक्षित गरे । घोषित टोलीमा पूर्वकप्तान रुविना क्षेत्री र सीता सबैभन्दा सिनियर खेलाडी हुन् । सीताले नेपालबाट ६३ टी–२० आईमा ९६५ रन बनाएकी छिन् । विकेटकिपर ब्याट्सम्यानका रूपमा पुनरागमन गरेकी काजलले सन् २०२४ को २३ जुलाईपछि स्थान बनाएकी हुन् । उनले अन्तिमपटक गत वर्ष भारतविरुद्ध प्रतिस्पर्धा गरेकी थिइन् । सोनु भने टोलीमा अलराउन्डर भूमिका छिन् । उनले अहिलेसम्म नेपालबाट सात टी–२० आईमा सहभागिता जनाएकी छिन् ।

टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोले पाएकी छिन् । नियमित खेलाडीहरू पूर्वकप्तान रुविना क्षेत्री, विन्दु रावल, सम्झना खड्का तथा कविता जोशीले पनि ग्लोबल छनोटमा स्थान पक्का गरेका छन् । कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, राजमती ऐरी र मनीषा उपाध्यायसहितको टोली घोषणा क्यानले गरेको हो ।

आइसिसीले ग्लोबल छनोट प्रतियोगिताअघि सहभागी १० वटै राष्ट्रलाई अभ्यास खेल मिलाएको छ । आयोजक नेपालले अमेरिका, स्कटल्यान्ड र जिम्बावेसँग अभ्यास खेल खेल्नेछ । २३ पुसमा नेपालले अमेरिकासँग अभ्यास खेल खेलेको थियो । जसमा अमेरिकाले नेपालमाथि आठ विकेटको जित निकालेको थियो । नेपालले दोस्रो अभ्यास खेल शुक्रबार खेल्नेछ । नेपालले स्कटल्यान्डसँग मूलपानीको माथिल्लो मैदानमा प्रतिस्पर्धा गर्नेछ । त्यसपछि आगामी आइतबार टेस्ट राष्ट्र जिम्बावेविरुद्ध खेल्ने कार्यक्रम रहेको छ । आइसिसीले विश्वकप प्रतियोगितामा सहभागी हुने टोलीबिच अभ्यास खेल राख्ने गर्छ । जसमा टोलीहरूले आ–आफ्ना कमजोरी सच्याउने अवसर पाउनेछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu