कुलमानसँग एकता भाँडिएपछि रविले गरे पार्टीमा ‘ब्रिफिङ’
काठमाडौं –
रास्वपा सभापति रवि लामिछानेले उज्यालो नेपाल पार्टीसँग भाँडिएको एकता प्रक्रियाबारे पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।केहीबेरदेखि रास्वपाको आकस्मिक सचिवालय बैठक जारी छ । भर्चुअल माध्यमबाट भएको बैठकको सुरुमै सभापति रवि लामिछानेले कुलमान पक्षले ल्याएका पछिल्ला मागहरूबारे ब्रिफिङ गरेका थिए ।बैठक स्रोतका अनुसार, सचिवालयले उज्यालो नेपाल पार्टीसँग गरेको सहमति अनुमोदन नगर्ने निर्णय पनि भएको छ ।
उक्त निर्णयमा वरिष्ठ नेता बालेन शाह पनि सहमत रहेको स्रोतले बतायो ।‘हरेक दिन नयाँ नयाँ प्रस्ताव लिएर आउने हुन थाल्यो । नयाँ नयाँ भाग मागेको माग्यै गरेपछि हामी अब अघि बढ्न नसक्ने भयौं,’ रविले बैठकमा भनेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग उज्यालो नेपाल पार्टीले पनि केन्द्रीय समितिको बैठक बोलाएको छ ।बैठकलगत्तै कुलमान घिसिङसहितले पत्रकार सम्मेलन गर्ने बताइएको छ । कुलमानलाई सो पार्टीले अध्यक्षको भूमिकामा चयन पनि गरेको छ ।
कुलमान घिसिङ उपसभापति पद हुनेगरी रास्वपासँग सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन ।समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागू नभएको उज्यालो नेपालको गुनासो छ ।पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।