कपिलवस्तुमा ३ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
कपिलवस्तु –
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कपिलवस्तु जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
निर्वाचन आयोगको निर्णयअनुसार निर्वाचन क्षेत्र नं. १ को कार्यालय वाणगङ्गा नगरपालिका कार्यालय परिसरमा, क्षेत्र नं. २ को कार्यालय जिल्ला समन्वय समिति कार्यालय तौलिहवामा र निर्वाचन क्षेत्र नं. ३ को कार्यालय शिवराज नगरपालिका–५, चन्द्रौटास्थित दुर्गा मन्दिर परिसरमा स्थापना गरिएको हो।
मुख्य निर्वाचन अधिकृत रमेश शर्मा पौडेलले तीनवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य औपचारिक रूपमा सुरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार निष्पक्ष, स्वतन्त्र र व्यवस्थित निर्वाचन सम्पन्न गर्न आवश्यक सबै तयारी तीव्र गतिमा अघि बढाइएको छ।
प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले निर्वाचनलाई सफल, शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्न जिल्ला प्रशासन पूर्ण रूपमा सक्रिय रहेको बताउनुभयो। उहाँले सुरक्षा व्यवस्था, व्यवस्थापन तथा सरोकारवाला निकायबीचको समन्वयमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो। जिल्लाभर कुल २३५ मतदान स्थल र ४९० मतदान केन्द्र कायम गरिएको छ।
निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत गणेश कुमार गौतम, क्षेत्र नं. २ का निर्वाचन अधिकृत रमेश शर्मा पौडेल तथा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत कुबेर पाण्डे रहनुभएको छ। क्षेत्र नं. ३ का निर्वाचन अधिकृत कुबेर पाण्डेले कार्यालय स्थापना भएसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय कार्यहरू यही कार्यालयमार्फत सञ्चालन गरिने जानकारी दिनुभयो। साथै उहाँले निर्वाचन प्रक्रिया सफल बनाउन सबै सरोकारवाला पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।