राजनीतिमा आउनुको उद्देश्य नेपाललाई व्यवस्थित बनाउनु हो:बालेन
काठमाडौँ –
महानगरका प्रमुख तथा रास्वपाले भावी प्रधानमन्त्रीका उम्मेदवार घोषणा गरेका बालेन साहले आफू राजनीतिमा आउनुको उद्देश्य नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने र नेपाललाई व्यवस्थित बनाउने रहेको बताएका छन्।भूकम्प सुरक्षा दिवसका अवसरमा सामाजिक सञ्जालमा स्टाटस लेखेर उनले देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको तर्क गरेका छन्। उनले जनताको विश्वास जित्ने शासन व्यवस्था बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
‘स्ट्रक्चरल इन्जिनियरको रूपमा मैले बुझेको कुरा स्पष्ट छ- देशलाई अब अल्पकालीन निर्णय होइन, दीर्घकालीन दृष्टिकोण चाहिएको छ। अब लोकप्रिय नारा होइन, इमानदार नेतृत्व चाहिएको छ। हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै, नेपाललाई सुरक्षित बनाउने, नेपाललाई दिगो बनाउने, नेपाललाई व्यवस्थित बनाउने’, उनले भनेका छन्, ‘नीति यस्तो बन्नेछ, जसले संकट आउनुअघि तयारी हुनेछ। संरचना यस्तो बन्नेछ, जसले विपद् सहन सकोस्। शासन यस्तो बनोस्, जसले जनताको विश्वास जितोस्।
उनले २०७२ सालको भूकम्पपछि आफू सिभिल इन्जिनियरको रूपमा देशका विभिन्न भागमा काम गर्दैरहेको र काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको दाबी गरेका छन्।‘नेपालका विभिन्न भूगोलमा एउटा पेसाकर्मी इन्जिनियरको रूपमा काम गर्दा त्यो अनुभवले मलाई एउटा स्पष्ट कुरा सिकायो, नेपालजस्तो भूकम्पीय जोखिम भएको देश सिभिल इन्जिनियरिङको कोणबाट काम गरेर मात्र बन्दैन। भौगोलिक भूबनोट सङ्गै , हाम्रो विविधता सहितको समाजलाई माथि उकास्न यसका अनेक पाटालाई सङ्गै माथि उठाएर काम गर्नुपर्छ’, उनले लेखेका छन्।