Connect with us
Kapilvast Forest

कांग्रेस नयाँ नेतृत्व पनि पुरानै सहकार्यमा

२०८२, ५ माघ आईतवारमा प्रकाशित

काठमाडौं-

निर्वाचन आयोगबाट आधिकारिक पार्टीको मान्यता पाएलगत्तै कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा नेतृत्वले राष्ट्रिय सभा निर्वाचनमा एमालेसँगको गठबन्धनलाई निरन्तरता दिने भएको छ । थापा नेतृत्वको नयाँ केन्द्रीय समितिले एमालेसँगको गठबन्धनसम्बन्धी निर्णयसहित पुराना राजनीतिक निर्णयको स्वामित्व लिने निष्कर्ष निकालेको छ । विशेष महाधिवेशनबाट भने गठबन्धनमा नलाग्ने प्रस्ताव पारित भएको छ ।

निर्वाचन आयोगले शुक्रबार आधिकारिकता विवाद टुंगो लगाउँदै थापाको नवनिर्वाचित समितिलाई मान्यता दिने निर्णय लिएको थियो । यसअघि थापा समूह र शेरबहादुर देउवा समूह दुवै पक्षका नेताहरू पहिले निर्वाचन आयोगबाट आधिकारिकता विवाद टुंगो लागेपछि चुनावको समग्र आगामी रणनीति तय गर्ने योजनामा थिए ।

‘विधानत: निर्वाचित भएर आएको हुनाले पुरानो केन्द्रीय समितिले लिएका सबै निर्णयलाई अविच्छिन्न उत्तराधिकारका रूपमा स्वामित्व लिने निर्णयमा पुगेका छौँ,’ नवनिर्वाचित कांग्रेस केन्द्रीय समितिका प्रवक्ता देवराज चालिसेले नयाँ पत्रिकासँग भने, ‘कहीँ–कतै सच्याउनुपर्ने भए पुनरावलोकन गर्ने समय पनि छ । तर, राष्ट्रिय सभा निर्वाचनमा एमालेसँगको सहकार्य निर्वाचनसँग मात्र जोडिएको र यसले भविष्यमा पनि गठबन्धनले निरन्तरता पाउँछ भन्ने अर्थ नलाग्ने भएकाले निरन्तरता दिने तयारीमा छौँ ।’

नवनिर्वाचित नेतृत्वले प्रतिनिधिसभा निर्वाचनमा भने कुनै पनि दलसँग तालमेल नगर्ने बताउँदै आएको छ । आधिकारिकता पाएको कांग्रेसले पनि सहकार्यलाई निरन्तरता दिने निर्णय लिएपछि एमालेलाई भने सहजता थपिएको छ । देउवा समूह सहकार्यलाई निरन्तरता दिने पक्षमै छ । सहकार्यप्रति दुवै पक्षको सकारात्मक धारणाले कांग्रेसको मत तलमाथि हुने अवस्था बन्नेछैन ।

११ माघमा हुने निर्वाचनका लागि २३ पुसमा सातै प्रदेशमा उम्मेदवारी दर्ता भइसकेको छ । १८ पदका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेस र एमालेबिच नौ–आठ सिटको भागबन्डा भएको छ भने एक सिट जसपा नेपालसँगको तालमेलमा नेता महन्थ ठाकुरलाई जिताउने सहमति भएको छ । ठाकुर जसपासँगको एकीकरणपछि दलका संरक्षक हुन् ।

कांग्रेसले लिएको भागबन्डाको सिटमा देउवा पक्षले ६ र शेखर कोइराला पक्षले तीन सिट लिएका छन् । तर, गगन पक्षबाट भने कोही पनि उम्मेदवार छैनन् । तर, प्रवक्ता चालिसेले नयाँ नेतृत्वले गुट, अनुहार, आग्रह र पूर्वाग्रह केही नराखी सबैलाई कांग्रेसजनकै रूपमा समान व्यवहार गर्ने गरी प्रस्ट नीति लिएको बताए ।

निर्वाचन आयोगसँग समन्वयको काम गरिरहेका एमाले केन्द्रीय सदस्य नीरज आचार्यले कांग्रेसको आधिकारिकता विवाद निरूपण भएपछि अन्योल हटेको बताए । ‘कांग्रेसको आन्तरिक विवादमा निर्वाचन आयोगले निर्णय गरेपछि तत्कालका लागि एउटा तहमा समाप्त भएको छ । अर्काे पक्षले यदि अदालतमा संवैधानिक र कानुनी अधिकार प्रयोग गरेमा त्यो उहाँहरूको आन्तरिक मामिलाकै विषय हो,’ उनले भने, ‘तर, नयाँ समिति पनि पुरानै निर्णयका आधारमा गठबन्धनप्रति प्रतिबद्ध देखिएकाले समस्या पर्ने स्थिति छैन ।’

देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले भने आयोगको पछिल्लो निर्णयपछि अर्को समूहले जेसुकै निर्णय लिए पनि आफूहरू पूर्वनिर्णय र अडानमै कायम रहेको छोटो प्रतिक्रिया दिए । ‘हामीले पहिले गरेका निर्णय अदलबदल हुँदैन, अर्को समूहले के गर्छ, त्यो अर्को कुरा हो,’ उनले भने ।

निर्वाचन कार्यक्रमअनुसार आयोगले सबै प्रक्रिया पूरा गरी २८ पुसमै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिसकेको छ । कांग्रेस–एमाले गठबन्धनले सबै प्रदेशमा उम्मेदवारी दिएको छ भने नेकपाले एकल रूपमा उम्मेदवारी दर्ता गरेको छ ।

जसअनुसार कोशीमा माहिलातर्फ एमालेबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपानेको उम्मेदवारी परेको छ । दलिततर्फ एमालेबाट सोमनाथ पोर्तेल र नेकपाबाट खेमराज नेपाली छन् । अन्यतर्फ कांग्रेसका सुनील थापाको एकल उम्मेदवारी परेको छ । उनी निर्विरोध भएका छन् ।

मधेशमा महिलातर्फ जसपा नेपालकी चन्द्रकलादेवी साह, एमालेकी रेखाकुमारी झा र नेकपाकी समीकुमारी अग्रवालको उम्मेदवारी परेको छ । दलिततर्फ जसपा नेपालकी चमेलीदेवी दास, कांग्रेसका धर्मेन्द्र पासवान र नेकपाका शम्भु पासवान हजारी छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ कांग्रेसका रञ्जित कर्ण, नेकपाका रामनन्दन प्रसाद र जसपा नेपालका शैलेशकुमार चौधरी छन् । अन्यतर्फ लोसपाका महन्थ ठाकुर र नेकपाका लक्ष्मण पौडेल छन् ।

बागमतीमा महिलातर्फ कांग्रेसकी गीता देवकोटा, नेकपाकी सरोजकुमारी झा र नेमकिपाकी कविता महर्जनको उम्मेदवारी परेको छ । अन्यतर्फ नेमकिपाका विक्रम ढुकुछू, एमालेका प्रेमप्रसाद दंगाल र नेकपाका प्रेमप्रसाद सापकोटा उम्मेदवार छन् ।

यस्तै, गण्डकीमा महिलातर्फ नेकपाकी गोमा लुइँटेल घिमिरे, जनमोर्चाकी लक्ष्मी बाँस्कोटा, एमालेकी सम्झना देवकोटाको उम्मेदवारी परेको छ । अन्यतर्फ नेकपाका कपिल लामा, कांग्रेसका जगत तिमिल्सिना र जनमोर्चाका शंकरप्रसाद बराल छन् ।

लुम्बिनीमा महिलातर्फ एमालेकी रामकुमारी झाँक्री, नेकपाकी दुर्गाकुमारी भण्डारी र जनमोर्चाकी पद्मा पण्डित छन् । अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायतर्फ कांग्रेसका वासुदेव घिमिरे र नेकपाका सर्जन विक छन् । अन्यतर्फ कांग्रेसका चन्द्रबहादुर केसी, नेकपाका वृहस्पति अधिकारी र जनमोर्चाका बोमबहादुर खत्री छन् ।

कर्णालीमा महिलातर्फ एमालेकी मीनासिंह रखाल र नेकपाकी अञ्जु महतराको उम्मेदवारी परेको छ । अन्यतर्फ कांग्रेसका ललितजंग शाही र नेकपाका बुद्धिप्रसाद शर्मा छन् । त्यस्तै, सुदूरपश्चिममा महिलातर्फ एमालेकी लीलाकुमारी भण्डारी र नेकपाकी रोजी बस्नेत प्रतिस्पर्धामा छन् । अन्यतर्फ कांग्रेसका खम्मबहादुर खाती र नेकपाका टीकाराम जैसी छन् ।

कांग्रेसको आधिकारिकताले हुन सक्छ मतभार अदलबदल
सबै प्रदेशमा कांग्रेस–एमालेको गठबन्धनको सुविधाजनक बहुमत छ । तर, विवादका बिच कांग्रेसका जनप्रतिनिधि विभाजित भए भने मतभार धेरै तलमाथि हुन सक्छ । हाल कोशीमा एमालेको ४,२१० र कांग्रेसको ३,७२२ मतभार जोड्दा ७,९३२ हुन्छ । जुन कुल मतभार १०,१३५ को दुईतिहाइभन्दा मत हो ।

नेकपाको १,६२३ मतभार छ । त्यस्तै, मधेशमा १०,८३९ मतभारमा कांग्रेस र एमालेको बहुमत पुग्छ । यो प्रदेशमा कांग्रेसको ३,१०४ र एमालेको २,४०८ जोड्दा ५५१२ मतभार पुग्छ ।मधेश प्रदेशमा नेकपा चौथो छ र यसको १,३४६ मतभार छ । बागमती प्रदेशमा कांग्रेसको ४,०१३ र एमालेको २,५७१ मतभारसहित ६,५८४ मतभार पुग्छ । यो कुल मतभार १०,३३५ को बहुमत हो ।

बागमती प्रदेशमा नेकपा दोस्रो ठुलो दल हो । उसको मतभार २,७३८ रहेको छ । त्यस्तै, गण्डकी प्रदेशमा कांग्रेसको मतभार २,७०४ र एमालेको २,४५८ छ । दुवैको जोड्दा ५,१६२ पुग्छ । यहाँ नेकपाको १,०१३ मतभार छ ।

लुम्बिनीमा कांग्रेसको ३,१७९ र एमालेको २,८१० मतभार जोड्दा ५,९८० हुन्छ । यो पनि कुल मतभार ८,७५३ को दुईतिहाइ मत हो । नेकपाको १,३९६ मतभार छ । त्यस्तै, कर्णालीमा ५,१२२ कुल मतभारमध्ये कांग्रेसको १,८६३ र एमालेको १,१९५ सहित ३०५८ मतभार पुग्छ । यो प्रदेशमा दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १,८४४ मतभार छ ।सुदूरपश्चिममा जम्मा ६,१५३ मतभारमा कांग्रेसको २,५५८ मतभार छ । एमालेको १,५३३ थपिँदा ४,०९१ पुग्छ । नेपाली कम्युनिस्ट पार्टीको १,३६५ मतभार छ ।

साभार : नयाँपत्रिका

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu