दमक पुगे ओली-बालेन : आज पुग्दै झापा-५ चुनावी केन्द्रमा
प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५ बाट मनोनयन दर्ता गर्न एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार दमक पुगेका छन् । ओली काठमाडौंबाट सोमबार दिउँसो चन्द्रगढी विमानस्थल हुँदै दमक आएका हुन् । यही निर्वाचन क्षेत्रमा उम्मेदवारी घोषणा गरेका रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ भने मंगलबार बिहान पुग्दै छन् । जनकपुरमा चुनावी सभा सकेर उनी सोमबार मध्यराति मात्र हिँडेका थिए ।
एमालेले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका अध्यक्ष ओली र रास्वपाले प्रधानमन्त्रीको उम्मेदवार बनाएका बालेनबिच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएपछि झापा–५ राष्ट्रिय राजनीतिक चर्चाको केन्द्र बनेको छ । यही कारण यो निर्वाचन क्षेत्रलाई ‘इलेक्सन इपिसेन्टर’का रूपमा हेरिन थालिएको छ ।
ओली र बालेनसँगै झापा– ५ मा नेपाली कम्युनिस्ट पार्टीबाट युवा नेता रन्जित तामाङ, श्रम संस्कृति पार्टीबाट समीर तामाङलगायतले पनि उम्मेदवारी दिने भएका छन् । नेपाली कांग्रेसले भने समाचार तयार पार्दासम्म उम्मेदवार तय गरिसकेको छैन ।
विगतका निर्वाचन परिणाम हेर्दा झापा–५ एमालेको बलियो पकड रहेको क्षेत्र मानिन्छ । ०४८ सालदेखि हालसम्म भएका सात निर्वाचनमध्ये ओली ०६४ सालमा मात्र पराजित भएका थिए ।
०७९ को निर्वाचनमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्दै विजय हासिल गरेका थिए । त्यति वेला उनलाई राप्रपाको समर्थन थियो । उनका मुख्य प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्रपाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए भने रास्वपाका उम्मेदवार सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत ल्याएका थिए । समानुपातिकतर्फ ०७९ मा झापा–५ बाट रास्वपाले १८ हजार २०५ मत प्राप्त गर्दा एमालेले ३५ हजार ८७२ मत पाएको थियो । यसपटक झापा–५ मा १ लाख ६३ हजार ३७९ मतदाता रहेका छन्, जसमा नौ हजार ९० नयाँ मतदाता थपिएका छन् ।
बालेनलक्षित ओलीको टिप्पणी : चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ, लड्ने हो, होइन मलाई थाहा छैन
अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ । लड्ने हो कि होइन, मलाई थाहा छैन । लड्ने भए पनि अरूले पनि पहिला लडेकै हुन् । न यहाँ घर छ, न डेरा छ, न परिवार न आफन्त, न चिनजान—यस्तासँग महाभिडन्त हुन्छ ? के भनेको ? यहाँका नागरिकले दारी पालेको देख्नासाथ बालेन हो कि भनेर सोध्छन् । यहाँका नागरिकले चिनेका छैनन् ।’
एमाले अध्यक्ष केपी ओलीले बालेनलाई लक्षित गर्दै आफ्नाविरुद्ध उम्मेदवारी दिँदा चर्चा हुन्छ भन्ने सोचेर उम्मेदवारी दिने प्रयास भएको आरोप लगाएका छन् । मनोनयन दर्ताका लागि दमक आएका ओलीले सोमबार प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार सम्मेलनमा बालेनलाई लक्षित गर्दै टिप्पणी गरेका हुन् ।
‘अलिकति चर्चा होस् भनेर पनि मेराविरुद्ध उम्मेदवारी दिने भनेको हुन सक्छ । लड्ने हो, हैन मलाई थाहा छैन,’ ओलीले भने, ‘लड्ने हो भने पनि त अरूले पनि लडिखेली आएकै हुन् त ! पहिला अरूले पनि लडेकै हुन् । त्यसकारण यसबारे सोच्नुपर्दैन ।’
ओलीले बालेनलाई झापा–५ मा कसैले नचिनेको दाबी गरे । बालेनलाई नचिनेर यहाँका मतदाताले दारी पालेको देख्नेबित्तिकै बालेन हो भनेर प्रश्न गर्ने गरेको टिप्पणी गरे । ‘न यहाँ घर छ न डेरा छ, न परिवार न आफन्त, न नातागोता न चिनजानको यस्तासँग महाभिडन्त हुन्छ ? के भनेको ?’ उनले भने, ‘मैले सुनेको दारी पालेको देख्दा बालेन भनेर सोध्छन् । यहाँका नागरिकले चिनेका छैनन् ।’
ओलीले आफूलाई भने डेरा खोज्न सहयोग गर्ने बताए । उनले यहाँ बालेनलाई सुरक्षा दिने भन्दै नडराउन आग्रह गरे । उनले झापा–५ का जनताले फैसला गर्ने पनि बताए । उनले दमक आफू आउँदा बस्न दिएकै कारण पनि अरू घर जलाएर अपराध कर्म गरेको आरोप लगाए । ‘मलाई कसैले कहिलेकाहीँ बस्न दियो भनेर घर जलाउने अपराधी हैनन् ? २३ वर्षअघि मैले बेचेको घर जलाउने ? अर्काको घरमा म बसेको थिएँ भनेर आगो लगाउने ? यो पनि कुनै राजनीति हो ?’ उनले भने । उनले बनाउने र जलाउनेबिच प्रतिस्पर्धा हुन लागेको बताए । ‘टावर बनाउने र जलाउने को हो, तपाईंहरूलाई थाहा नै छ,’ उनले भने, ‘यो बनाउन खोजेको भाष्य हैन यथार्थ हो ।’
ओलीले झापाको विकासमा आफ्नो ठुलो योगदान रहेको दाबी गर्दै उत्तर झापामा आधारभूत विकास भइसकेको र अब दक्षिणी क्षेत्रमा विकास गर्न बाँकी रहेको बताए । निर्वाचन नजिकिँदै जाँदा पनि पर्याप्त सुरक्षा सुनिश्चित नभएको उनको गुनासो थियो ।
नेकपाबाट रन्जितको उम्मेदवारी
नेकपाबाट झापा क्षेत्र नम्बर ५ मा रन्जित तामाङले उम्मेदवारी घोषणा गरेका छन् । जेन–जी आन्दोलनले माग गरेको प्रत्यक्ष कार्यकारी प्रमुखको मुद्दा स्थापित गर्न आफूले उम्मेदवारी दिएको उनले बताए । तामाङले आफू झापा–५ मै जन्मिएर हुर्किएका कारण यहाँका जनताले स्थानीयलाई नै छान्ने विश्वास व्यक्त गरे । ‘अन्य उम्मेदवारलाई यहाँको ठाउँ थाहा पाउन पनि गुगल सर्च गर्नुपर्छ,’ उनले भने । तामाङले भिडले नेतृत्व गर्न नसक्ने बताए । ‘एजेन्डा र मुद्दाले प्रतिस्पर्धा गर्ने हो,’ उनले भने, ‘समूह वा व्यक्तिको भिडले नेतृत्व गर्ने हैन । हामी अफवाहलाई चिरेर विजयीको झन्डा गाड्छौँ ।’