एमालेमा असन्तुष्टिपछि धमाधम फेरिँदै उम्मेदवार
एमालेले अधिकांश उम्मेदवार टुंगो लगाएसँगै कतिपय क्षेत्रमा असन्तुष्टि देखिएको छ । एघारौँ महाधिवेशनमा अध्यक्षमा पराजित ईश्वर पोखरेललाई समर्थन गरेकालाई टिकटमा प्राथमिकता नदिइएको गुनासो बढेपछि अध्यक्ष केपी ओलीले कतिपय क्षेत्रको निर्णय अदलबदल गरेका छन् ।उपमहासचिव योगेश भट्टराईले केन्द्रीय कार्यालयमा उम्मेदवार छनोटप्रति चारबुँदे नोट अफ डिसेन्ट लेखेलगत्तै दबाबमा परेका ओलीले सचिवालयको निर्णयबाट टुंगिसकेका कतिपय उम्मेदवार अदलबदल गरेका हुन् । भट्टराईलाई ओलीले टिकटबाट वञ्चित गरेका छन् । उनले अघिल्लोपटक जितेको ताप्लेजुङमा क्षितिज थेबेलाई टिकट दिइएको छ ।
पोखरेलकै समूहबाट महासचिव उठेका सुरेन्द्र पाण्डेलाई पनि टिकट दिइएन । उनले उठ्ने रुचि नै नदेखाएका कारण तलैबाट कमिटीहरूले नाम सिफारिस गरेका थिएनन् । यद्यपि, ओलीले उनलाई बोलाएर परामर्श नगरेकोमा पोखरेलनिकट नेता–कार्यकर्ता असन्तुष्ट छन् । तर, ओलीनिकट एक पदाधिकारीले भने पाण्डेबाट सहमति लिएरै निर्णय गरेको दाबी गरे ।
उपमहासचिव भट्टराईलाई अध्यक्ष ओलीले नै ताप्लेजुङमा यसपटक जित्ने सम्भावना नभएको भन्दै टिकट होल्डमा राखेका थिए । सो क्षेत्रमा राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेलाई टिकट दिने निर्णय सुनाएर भट्टराईलाई भने झापा १ मा उठ्न ओलीले आग्रह गरेको एक पदाधिकारीले बताए । तर, भट्टराईले क्षेत्र नफेर्ने अडान राखेर अस्वीकार गरेका छन् । पोखरेल समूहबाट पदाधिकारीमा उठ्नेमध्ये अहिलेसम्म उनीसहित उपाध्यक्ष गोकर्ण विष्टको मात्र टिकट निश्चित भएको छ । पोखरेल समूहबाटै उपाध्यक्षमा उम्मेदवार बनेकी विन्दा पाण्डे, उपमहासचिवका उम्मेदवार बैजनाथ चौधरी, सचिवका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, अग्नि खरेल, गोकुल बाँस्कोटालगायतले टिकट पाएनन् ।
सचिवमै उठेका विनोद ढकालको क्षेत्र होल्ड गरिए पनि ओलीले उनलाई आफ्नै निवास रहेको क्षेत्रमा उठ्न आग्रह गरेका छन् । त्यससँगै उनलाई ओलीले मोरङ ६ को टिकट दिएका छन् । ‘मलाई नेताहरू र साथीभाइ शुभचिन्तकहरूले आफ्नै निवास भएको क्षेत्रमा उठ्न आग्रह गर्नुभो, त्यसअनुसार मलाई अध्यक्षले त्यही क्षेत्रको टिकटको निर्णय सुनाउनुभएको छ,’ ढकालले भने ।
ओलीले महासचिव शंकर पोखरेलकै टिकट एक दिन होल्ड गरेका थिए । तर, अध्यक्षसँगको परामर्शमा पोखरेलले पुरानै क्षेत्र दाङ २ को टिकट लिएका छन् । दाङ १ को उम्मेदवार टुंग्याउने जिम्मा पनि उनलाई नै दिइएको छ । ओली प्यानलबाटै निर्वाचित उपाध्यक्ष रघुजी पन्तले टिकट पाएनन् । सचिव भानुभक्त ढकाललाई मोरङबाट तेह्रथुममा उठ्ने गरी टिकट दिइएको छ । अर्का सचिव डा. राजन भट्टराई काठमाडौं ४ बाट उठ्ने–नउठ्ने टुंगो लागेको छैन । कांग्रेसका सभापति गगन थापासँग पराजित हुँदै आएका उनले खासै रुचि नराखेपछि प्रदेश कमिटी सदस्य तथा बुढानीलकण्ठका पूर्वमेयर उद्धव खरेल अग्रसर भएका छन् ।
ओखलढुंगा, सोलु र कास्कीमा बढी असन्तुष्टि
नजित्ने उम्मेदवारले टिकट पाएको गुनासो र फेरबदल गर्न दबाबपछि अध्यक्ष ओलीले आइतबारै चारवटा निर्वाचन क्षेत्रको उम्मेदवारै फेरबदल गरेका छन् ।झापा ४ मा मनोज ताम्लीको नाममा निर्णय भएकोमा फेरेर एलपी साँवालाई टिकट दिइएको छ । बझाङमा अफिलाल ओखेडा र कञ्चनपुर १ मा कमला बोहराको नाममा निर्णय सार्वजनिक भएकोमा दुवै उम्मेदवारलाई ब्याक गरिएको छ । उनीहरूको स्थानमा बझाङमा ऐन महर र कञ्चनपुर १ मा तारा लामा तामाङले टिकट पाएका छन् । ओखलढुंगामा अस्मिता थापालाई प्रतिनिधिसभा उम्मेदवार बनाउने केन्द्रको निर्णयविरुद्ध जिल्ला अध्यक्ष दानबहादुर खड्काले जिल्ला कमिटीकै तर्फबाट विज्ञप्ति निकाली फेरबदल नगरिए सहयोग नगर्ने चेतावनी दिएका छन् ।
उम्मेदवार बन्ने चाहनासमेत नभएकी थापाको नाममा निर्णय भएको भन्दै आपत्ति जनाइएको छ । ओखलढुंगाबाट केन्द्रीय सदस्य यज्ञराज सुनुवार मुख्य आकांक्षी थिए । सोलुखम्बुमा जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोलालाई उम्मेदवार नबनाई सचिव कल्पना राईलाई बनाउँदा चुनाव नजित्ने भन्दै जिल्लाका अगुवा नेता–कार्यकर्ताले निर्णय सच्याउन दबाब अभियान अगाडि बढाएका छन् । कास्की २ मा अघिल्लोपटक उम्मेदवार नबन्ने घोषणा गरेका र मेयर तथा सांसद दुवैमा चुनाव हारेका कृष्ण थापालाई नै जबर्जस्ती टिकट थमाइएको भन्दै असन्तुष्टि चुलिएको छ । उनको स्थानमा अखिलका पूर्वउपाध्यक्ष युवा नेता रश्मि आचार्यलाई टिकट दिइनुपर्ने जिल्ला नेतृत्व र स्थानीय कमिटीका अगुवा नेता–कार्यकर्ताले केन्द्रमा दबाब बढाएका छन् ।
योगेशको चारबुँदे फरक मतमा के छ ?
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ टिकट वितरणको निर्णयमा असहमति जनाएका उपमहासचिव योगेश भट्टराईले आइतबार पार्टी कार्यालयमा चारबुँदे ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् । टिकट वितरणमा मापदण्ड नमिलेको, प्रतिनिधिसभा उम्मेदवारमा प्रतिस्पर्धाको वेलामा पक्षधरता देखिएको, कार्यकर्तामाथि अन्याय भएको लगायतका विषय राखेर नोट अफ डिसेन्ट लेखेका छन् ।
‘मापदण्ड नबनाई उम्मेदवार छनोट गर्दा योग्यता, क्षमता, बौद्धिकता, पार्टीप्रतिको निष्ठा तथा निरन्तरताभन्दा पनि नेतृत्वको इच्छा र पक्षधरतालाई आधार मानिएको देखिन्छ । कुनै ठाउँमा त्यही विशेषताको व्यक्तिलाई उम्मेदवार बनाइएको छ भने अर्को ठाउँमा त्यस्तै विशेषताका व्यक्तिलाई छनोटबाट वञ्चित गरिएको छ । जसले गर्दा पार्टी निर्णयलाई देशव्यापी रूपमा एकै स्वरले समर्थन प्राप्त हुन सकेन,’ उनले भनेका छन् । छनोटमा पक्षधरता देखिएकाले चुनावमा आन्तरिक एकता कमजोर हुन सक्नेप्रति भट्टराईले चिन्ता जनाउँदै प्रभावशाली नेताहरूले चुनौतीपूर्ण क्षेत्रबाट उम्मेदवारी दिनेभन्दा पनि पुरानो क्षेत्र छाडेर सुरक्षित क्षेत्र जाने कुराले पनि गलत सन्देश गएको नोट अफ डिसेन्टमा लेखेका छन् ।
५१ जना नयाँ अनुहार
लुम्बिनीअन्तर्गत रुपन्देही १, २ र ४, कपिलवस्तु २, दाङ १ र २, बाँके २ र रुकुमपूर्वको मात्र टिकटको टुंगो लाग्न बाँकी छ । बागमतीअन्तर्गत काठमाडौं ४, ५, ७ र ९, काभ्रे २, ललितपुर ३, मधेशअन्तर्गत महोत्तरी ३ र सर्लाहीको १ र २, पर्साको १ र २ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ । चितवन १ मा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले रुचि नराख्दा कमलराज पाठकलाई उम्मेदवार बनाइएको छ । २४ उम्मेदवार टुंगिन बाँकी रहँदा एमालेले नयाँ र युवा अनुहारलाई प्राथमिकता दिएको छ । कैलाली १ मा द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा, ५ मा यज्ञराज ढुंगाना, डोटीमा दीपक धामी, इलाममा सुहाङ नेम्वाङसहित एक दर्जनभन्दा बढी प्रत्यक्षमा युवा अनुहार उम्मेदवार बनेका छन् । पुरानाबाहेक यसपटक ५१ जना नयाँ उम्मेदवारले अवसर पाएका छन् ।
साभार : नयाँपत्रिका