दोहोरियो चुनावमा दल बदल्ने प्रवृत्ति, दल फेरेर दर्जनौँ नेता बने उम्मेदवार
मनोनयनभन्दा अगाडि दल अदलबदलको प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभा निर्वाचनमा यसपटक पनि टिकटका लागि दल बदल्ने प्रवृत्ति फेरि सतहमा आएको छ । २१ फागुनमा हुने चुनावका लागि एक दर्जनभन्दा बढी प्रभावशाली नेता दल अदलबदल गर्दै उम्मेदवार बनेका छन् । एमालेबाट फुटेर बनेको तत्कालीन एकीकृत समाजवादीका उपाध्यक्ष तथा मधेश इन्चार्ज तथा अहिले नेकपामा केन्द्रीय सदस्य रहेका धर्मनाथप्रसाद साहले अन्तिम घडीमा एमाले प्रवेश गरेर टिकट लिएका छन् । पार्टीबाट टिकट नपाएपछि असन्तुष्ट उनले मंगलबार एमालेबाट सिराहा ४ मा उम्मेदवारी दर्ता गराए । ‘उहाँ एमालेमै योगदान भएको इमानदार पुरानो नेता हुनुहुन्थ्यो, त्यसैले उहाँको योगदान र सम्भावनालाई मूल्यांकन गरेर उम्मेदवार बनाइएको छ,’ एमाले नेता तथा पूर्वमन्त्री लीलानाथ श्रेष्ठले भने ।
ओखलढुंगामा एमालेबाट टिकटका लागि सिफारिसमा परेर टिकट नपाएका अमिरबाबु गुरुङ नेकपा प्रवेश गरेर उम्मेदवार बनेका छन् । एमालेले जेन–जी उमेर समूहकी महिलाबाट अस्मिता थापालाई उम्मेदवार बनाएपछि गुरुङ असन्तुष्ट थिए । जुनियरलाई उम्मेदवार बनाएर आफूलाई अपमान गरिएको भन्दै उनले पार्टीमा असन्तुष्टि राखेका थिए । उनी एमालेकै पूर्वप्रदेश सभा सांसद पनि हुन् । नेकपाका नेता तथा मधेश प्रदेश सांसद रहबर अन्सारीले पार्टी परित्याग गरी रास्वपा प्रवेश गरेका छन् । पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएर रास्वपा प्रवेश गरेका उनलाई सो पार्टीले बारा ४ बाट उम्मेदवार बनाएको छ ।
उता, मधेश प्रदेशमा पूर्वमुख्यमन्त्री रहेका जनमत पार्टीका नेता सतिशकुमार सिंह, पूर्वमन्त्री एवं कांग्रेस नेता वीरेन्द्रकुमार कनौडिया, जसपा नेपालका नेता वीरेन्द्र महतो, जसपाकै महासचिव मोहम्मद इस्तियाक राई, नेता प्रदीप यादव, आम जनता पार्टीका उपाध्यक्ष किरण यादवले पनि दल परिवर्तन गरेर अर्को पार्टीबाट उम्मेदवार बनेका छन् । एमाले प्रवेश गरेर सिंह सप्तरी २ बाट उम्मेदवार बनेका छन् । त्यस्तै, एमाले प्रवेश गरेर कनौडिया कपिलवस्तु ३ बाट उम्मेदवार बनेका छन् । कनौडिया कांग्रेसबाट संसदीय दलका पूर्वनेतासमेत थिए । कनौडियाले नेपाली कांग्रेसको स्थानीय नेतृत्वसँगको असमझदारीका कारण पार्टी परित्याग गरेर एमाले प्रवेश गरेको बताएका छन् ।
यस्तै, जनता समाजवादी पार्टी नेपाल छाडेका वीरेन्द्र महतोले जनमत पार्टी सिराहा–४ बाट टिकट लिएका छन् । अमरेशकुमार सिंह रास्वपा प्रवेश गरेर पुरानै क्षेत्र सर्लाही ४ बाट उम्मेदवार बनेका छन् । ४ माघमा जनकपुरमा आयोजित रास्वपाको कार्यक्रममा पार्टी परिवर्तन गरी सिंह प्रवेश गरेका थिए । सिंहकै क्षेत्रमा कांग्रेस सभापति गगन थापा पनि उम्मेदवार छन् ।
यसबाहेक सद्भावना पार्टी अध्यक्ष अनिल झाले पार्टीलाई कांग्रेसमा विलय बनाउँदै रौतहट १ बाट उम्मेदवार बनेका छन् । ०४८ पछि चारपटक संसदीय चुनाव जितेका ब्रजेशकुमार गुप्ता २२ पुसमा एमाले छाडेर नेकपा प्रवेश गरेका छन् । एमाले सांसदसमेत रहेका गुप्तालाई नेकपाले कपिलवस्तु २ बाट उम्मेदवार बनाएको छ । तमलोपा छाडेर ०७० र ०७४ मा एमालेबाट चुनाव जितेका उनी ०७९ मा भने पराजित भएका थिए । उता, बैतडीका कांग्रेस नेता तेज चन्दले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारका रूपमा उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, कांग्रेस नेता तथा गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का रास्वपा प्रवेश गरेका छन् । दमकका कांग्रेस सभापति प्रकाश प्रसाईं रास्वपा प्रवेश गरेका छन् । त्यस्तै, जाजरकोटमा शक्ति बस्नेतलाई पटक–पटक टिकट दिइएकोमा असन्तुष्टि जनाउँदै नेकपाका केन्द्रीय सदस्य गणेशप्रसाद सिंहले पार्टी परित्याग गरेका छन् ।
रास्वपाका तत्कालीन प्रमुख सचेतक सन्तोष परियार करिब डेढ महिनाअघि पार्टी परित्याग गरेर प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) निर्माणमा सक्रिय भए । सो पार्टीको अध्यक्षमण्डलमा रहेका परियार समानुपातिकबाट अग्रपंक्तिमा उम्मेदवार छन् । त्यही पार्टीबाट डा. बाबुराम भट्टराई र जनाद्र्धन शर्मालगायत भने प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
साभार : नयाँपत्रिका