निवर्तमान सभामुख र उपसभामुखको प्रतिस्पर्धाले रोचक बन्दै झापा २ को निर्वाचन
प्रतिनिधिसभामा तीन वर्ष सहकार्य गरेका दुई सहकर्मी निवर्तमान सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना झापा २ बाट उम्मेदवार छन् । एउटै कार्यकालका निवर्तमान सभामुख घिमिरे र उपसभामुख रानाबिच प्रतिस्पर्धा हुन लागेका कारण यो निर्वाचन क्षेत्रलाई पनि चासोका साथ हेरिएको छ । घिमिरे एमाले र राना रास्वपाबाट चुनावी मैदानमा छन् । घिमिरे अघिल्लोपटक यही क्षेत्रबाट विजयी भएका थिए । राना समानुपातिकबाट सांसद बनेकी थिइन् । यो क्षेत्रमा कांग्रेसकी सरिता प्रसाईं, नेकपाकी धर्मशिला चापागाईं, राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत) सहित १८ जना चुनावी मैदानमा छन् । सामाजिक कार्यबाट उदाएकी राना ०७९ अघिको निर्वाचनबाट रास्वपामार्फत राजनीतिमा प्रवेश गरेकी हुन् । अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएका नेपाल यसपटक राप्रपाबाट मैदानमा छन् ।
रानाले निवर्तमान सभामुखसँगको प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिएको बताइन् । उनले यो निर्वाचनमा जो अब्बल छ, उसलाई मतदाताले जिताउने दाबी गरिन् । रानाले अन्य क्षेत्रबाट निर्वाचन लड्न आफूलाई प्रस्ताव आए पनि यही क्षेत्रमा संघर्ष गरेका कारण झापा २ लाई रोजेको बताइन् । ‘म पार्टीको लिडर होइन । म सामाजिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेको हुँ । तर, यो क्षेत्रमा संघर्ष गरेर यहाँसम्म आएको हुँ । आठ वर्षको उमेरदेखि अर्काको घरमा बसेर काम गरेर यहाँसम्म आएँ । सामाजिक क्षेत्रको अनुभवलाई राजनीतिक क्षेत्रमा रूपान्तरण गर्न आएको हुँ,’ रानाले भनिन्, ‘अन्य क्षेत्रबाट उठ्न पनि प्रस्ताव आएको हो । तर, यो क्षेत्रबाट जित्नुको मजा अर्कै छ । यसअघिको संसद्बाट पूरा हुन नसकेका काम पूरा गर्न, कतिपय कानुनलाई पुनर्निर्माण गर्न र संविधानले दिएका अधिकारका कतिपय कानुन निर्माण सकिएको छैन, त्यो कानुन निर्माण गर्न मेरो उम्मेदवारी हो ।’ रानाले भने पार्टी नेतासँगको बैठक, भेटघाटसँगै घरदैलो अभियान पनि सुरु गरिसकेको बताइन् ।
०७९ को प्रतिनिधिसभा निर्वाचनको मतपरिणामलाई विश्लेषण गर्दा यो क्षेत्रमा एमालेका घिमिरे दर्बिलो उम्मेदवार हुन् । बलियो संगठन भएको एमालेलाई यसपटक रास्वपाकी रानाले चुनौती दिएकी छिन् । ०७९ मा प्रत्यक्षतर्फ एमालेका घिमिरे विजयी भएका थिए । तत्कालीन स्वतन्त्र उम्मेदवार स्वागत नेपाल दोस्रो हुँदा रास्वपाका उम्मेदवार रुद्रप्रसाद गिरी चौथो भएका थिए । तर, समानुपातिकतर्फ पहिलो दल एमाले थियो भने रास्वपा दोस्रो दल बनेको थियो ।
प्रत्यक्षतर्फ एमालेका घिमिरे २८ हजार ७१६ मतसहित विजयी हुँदा नेपालले २६ हजार ४५५ मतका साथ घिमिरेलाई चुनौती दिएका थिए । तत्कालीन माओवादीका हरिकुमार रानामगरले १३ हजार ९३० मत ल्याउँदा रास्वपाका गिरीले आठ हजार ७८१ मत प्राप्त गरेका थिए । तर, समानुपातिकतर्फ भने झापा २ मा एमालेले २६ हजार ४९० मत ल्याउँदा रास्वपाले दोस्रो दल बन्दै २२ हजार ५१७ मत प्राप्त गरेको थियो । रास्वपा उम्मेदवार निवर्तमान उपसभामुख झापा २ मा परिचित नाम भएका कारण यसपटक प्रत्यक्षतर्फ पनि घिमिरेलाई चुनौती दिने उम्मेदवारका रूपमा हेरिएको छ । झापा २ मा एक लाख ४७ हजार ५२२ जना मतदाता छन् । जसमा १३ हजार ४३१ नयाँ मतदाता हुन् ।
झापा २ मा पाँच महिला उम्मेदवार
झापाका पाँचवटै निर्वाचन क्षेत्रमा ९० उम्मेदवारमध्ये १२ जना मात्रै महिला उम्मेदवार छन् । जसमा केही ठुला दलले पनि महिला उम्मेदवार बनाएका छन् । झापा २ मा सबैभन्दा धेरै महिला उम्मेदवार छन् । यो क्षेत्रमा पाँचजना महिला उम्मेदवार बनेका छन् । जसमा कांग्रेसबाट सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टीबाट धर्मशिला चापागाईं, रास्वपाबाट निवर्तमान उपसभमामुख इन्दिरा राना, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमृता लावती र नेमकिपाबाट चन्द्रकुमारी गारू उम्मेदवार बनेका छन् । झापा १ मा दुई, झापा ३ मा तीन, झापा ४ मा दुई र झापा ५ मा तीनजना महिला उम्मेदवार छन् ।