उम्मेदवारले गर्ने मनलाग्दी खर्च कस्दै निर्वाचन आयोग
मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्न उम्मेदवारले मनलाग्दी गर्ने खर्चसम्बन्धी विषयलाई निर्वाचन आयोगले कस्न लागेको छ । निर्वाचनमा दल तथा उम्मेदवारले संकलन गर्ने चन्दा र खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गर्ने र त्यसमाथि सूक्ष्म अनुमगनको प्रणाली पनि बनाइन लागेको छ ।गत १२ पुसमा राजपत्रमा प्रकाशित निर्वाचन आचारसंहिता, २०८२ ले निर्वाचनमा हुने चन्दा रकम संकलन र मतदाता प्रभावित पार्न गरिने खर्चमाथि अंकुश लगाउन खोजिएको छ । निर्वाचन खर्चलाई बैंकिङ प्रणालीमा आबद्ध गरेर व्यवस्थित गर्दा पारदर्शिता बढ्ने विश्वास आयोगको छ । नेपालमा निर्वाचनमा दल तथा उम्मेदवारको खर्चको पारदर्शितामा सार्वजनिक रूपमा प्रश्न उठ्दै आएको छ । मतदाता प्रभावित पार्न ठुलो रकम प्रयोग गर्ने र निर्वाचन जितेर आउने परिपाटीले भ्रष्टाचार बढाएकोमा पनि आलोचना हुँदै आएको छ । नेपाल सम्पत्ति शुद्धीकरणको खैरो सूचीमा परिरहँदा त्यसको एउटा विषय निर्वाचन खर्च र यसको पारदर्शितामाथि पनि छ ।
निर्वाचन आचारसंहिताको दफा १६ मा निर्वाचन खर्चसम्बन्धी आचरणको व्यवस्था छ । त्यसमा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन खर्चसम्बन्धी पालना गर्नुपर्ने आचरणका व्यवस्था छ । उपदफा (क) मा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोतसमेत खुलाउनुपर्ने भनिएको छ ।
उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक तथा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने व्यवस्था आयोगले आचारसंहितामा गरेको छ । उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा निजका तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्नेसम्मको व्यवस्था गरिएको छ । यसरी तोकिएका पदाधिकारीको नाम नामेसीसहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने व्यवस्था आचारसंहितामा छ । यसको अर्थ उम्मेदवारले निर्वाचनमा खर्च गर्ने प्रयोजनका लागि अलग्गै खाता खोलेर त्यसमार्फत खर्च गर्नुपर्छ ।
उम्मेदवार मात्र होइन, राजनीतिक दलले त्यसै गर्नुपर्ने गरी व्यवस्था गरिएको छ । दलले निर्वाचनसम्बन्धी खर्च तथा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सो खाताबाट खर्च गर्नुपर्ने व्यवस्था आचारसंहिताले गरेको छ । निर्वाचन खर्चको प्रयोजनका लागि खोल्ने भनेको अलगै खाताबारे भने स्पष्टता छैन । विशेष खालको खाता खोल्न बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय राष्ट्र बैंकले अनुमति दिनुपर्छ । तर, यसबारे भने आचारसंहितामा स्पष्ट छैन ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार आचारसंहितामा भएको व्यवस्थाबमोजिम उम्मेदवारले आफ्नो नियमित खाताको अतिरिक्त अलग्गै खाता खोलेर त्यसमा निर्वाचनका लागि रकमको प्राप्ति र खर्च गर्नुपर्छ । दलका हकमा पनि यसैगरी हुने उनको भनाइ छ ।
सुमन घिमिरे, सूचना अधिकारी, आयोग
निर्वाचनका लागि आउने चन्दालगायत रकमको प्राप्ति र खर्च दुवै बैंकिङ कारोबारमार्फत अलग्गै खाताबाट गर्नुपर्ने व्यवस्था गरिएको हो । यसको उद्देश्य निर्वाचनमा उम्मेदवार र दलले गर्ने खर्चमा पारदर्शिता कायम गर्ने हो ।