चुनावी नारा बन्यो भ्युटावर, सुकुमवासीको भविष्य अझै अनिश्चित
१८ तले भ्युटावरको आँगनमै छ झापाको दमक नगरपालिका– ३, टुकुरेकी ७० वर्षीया भीमकुमारी बराइलीका आठ छोराको घर । ०२५ मा झाडी फाँडेका उनीहरू करिब १६ कट्ठा जग्गामा बसेका छन् । जसमध्ये केही जग्गा भ्युटावरमा पर्यो । आठ छोराले छुट्टाछुट्टै घर बनाएका छन् । तर, वर्षौँ धनीपुर्जा नआई नजिकै भ्युटावर बन्दा उठीवास लाग्ने चिन्ता छ भीमकुमारीलाई ।
डेढ अर्ब लगानीमा बनेको १८ तले भ्युटावर उद्घाटनको एक वर्ष बितिसक्दासमेत सञ्चालन हुने छाँटकाँट छैन । केही महिना दृश्य हेर्न खुला भए पनि जेन–जी आन्दोलनमा तोडफोड भएसँगै बन्द भएको छ । यसले सुकुमवासीलाई रोजगारी दिने कुरा सपना मात्र भएको भीमकुमारीले बताइन् । ‘रोजगारी दिने त सपना मात्र हो । बुढेसकालमा छोरासँग सँगै बस्नसमेत पाएको छैन,’ उनले भनिन्, ‘देशमा रोजगारी नभएर चार छोरा विदेश गएका छन् ।’
भ्युटावरको योजना सुरु हुँदा यस्तै आश्वासन पाएकी थिइन् टुकुरेकी उमा राजवंशीले । तर, अहिलेसम्म गाउँमा विकाससमेत नआएको उनको दुखेसो छ । ०७९ को निर्वाचनका वेला उम्मेदवारले ६ महिनाभित्र जग्गाधनी पुर्जा दिने बताएको उनले बताइन् ।
तर, हातमा जग्गाको धनीपुर्जा छैन । ‘गाउँमा त के नै विकास भएको छ र ? घरअगाडिको बाटोसमेत बनेको छैन । आँगनमै यति ठुलो भ्युटावर बन्यो, तर अरू केही छैन । आश्वासन त कति पाएका थियौँ नि ! केही पूरा भएन । रोजगार दिने भन्थे, अहिलेसम्म पाएनौँ । भ्युटावर चल्छ भन्नेमै शंका छ,’ उनले भनिन्, ‘अघिल्लोपटकको चुनावमा ६ महिनाभित्र धनीपूर्जा दिन्छौँ भन्थे । अहिलेसम्म आएको छैन । बरू यहाँबाट हटाउँछन् र यहाँ रिसोर्ट खोल्छन् भन्ने हल्ला सुनिँदै छ । फेरि चुनाव आएको छ । फेरि धनीपुर्जा दिन्छु भन्छन् होला । धेरै पहिलादेखि सुनेको हो, तर अहिलेसम्म दिएनन् । सधैँ चुनावी नारा मात्र बनाए ।’
भ्युटावरको आँगन टुकुरेमा ३० घरभन्दा धेरै सुकुमवासी छन् । उनीहरू सबै धनीपुर्जाको आशामा छन् । त्यति मात्र होइन, भ्युटावर सञ्चालन भएपछि उठीवास हुन्छ कि भन्ने त्रासमा पनि छन् ।
टुकुरेकी खिमा विश्वकर्मालाई पनि भ्युटावरका कारण उठीवास लाग्छ कि भन्ने चिन्ता छ । त्यही कारण उनी घर नबनाई कच्ची घरमै बसेकी छिन् । ‘भ्युटावरका कारण कतै हाम्रो उठीवास त हुने होइन भन्ने चिन्ता छ । अहिलेसम्म धनीपुर्जा पनि पाएका छैनौँ,’ उनले भनिन्, ‘त्यही कारण अहिलेसम्म घर पनि बनाएको छैन । बनाएपछि त उठाए भने खर्च मात्र हुन्छ ।’ उनलाई पनि भ्युटावर निर्माणताका दिइएको आश्वासन ताजै छ । गाउँमै रोजगारी पाउने, गाउँलाई सहर बनाउने भनिएका कारण उनी खुसी थिइन् । तर, अहिलेसम्म केही भएन ।
‘भदौको जेन–जी आन्दोलनपछि भ्युटावरमा क्षति पुगेपछि सुनसान छ । राति स्याल पस्दो रहेछ । रातभर कराएर सुत्न सकिँदैन,’ उनले भनिन्, ‘बरू यो भ्युटावरलाई अस्पताल बनाएको भए यहाँ हामीले खाजा पसल खोलेर पनि जीवन चलाउन सक्ने थियौँ । अब भ्युटावर चल्छ भन्ने त आशा हराउन छाड्यो ।’
टुकुरेकी सुकुमवासी अल्का राजवंशी विकासको नाममा भ्युटावरबाहेक केही बन्न नसकेको बताइन् । ‘भ्युटावर ठडिनुबाहेक केही विकास भएन । यो पनि हाम्रा लागि त के भयो र ? हामीले के पाउँछौँ ?’ उनी भन्छिन्, ‘सबथोक हुन्छ । कायापलट नै हुन्छ भन्थे । केही पनि भएन ।’
साभार : नयाँपत्रिका