विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल एमालेमा प्रवेश
काठमाडौं –
विवादित सेयर कारोबारी दीपेन्द्र अग्रवाल नेकपा एमालेमा प्रवेश गरेका छन् ।जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय सदस्यसमेत रहेका उनलाई शनिबार एमाले मुख्यालय च्यासलमा आयोजित एक कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
अग्रवाललाई ओलीले खादा र टिका लगाएर पार्टीमा प्रवेश गराए ।अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ पनि गरेको थियो । सीआईबीले अग्रवाललाई सेयर मूल्य कृत्रिम रूपमा बढाएको र झुटो कारोबार र मूल्य प्रभावित कसुरमा पक्राउ गरेको थियो ।
अग्रवालले सेयर बजारमा गरेका झुटा कारोबार तथा भ्रामक सूचना फैलाएर सेयर मूल्य बढाउने विषय र सेयर मूल्य बढाउन सामाजिक सञ्जाल प्रयोग गरेको विषयमा अनलाइनखबरले निरन्तर समाचार लेख्दै आएको थियो ।अग्रवालले अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए ।त्यस्तै आफैंले एक कारोबार खाताको पैसा अर्को व्यक्तिकोमा ट्रान्स्फर गर्नेसमेत काम गरेपछि धितोपत्र बोर्डमा उजुरी परेको थियो ।